१४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले पार्टीका तत्कालीन १४ सांसदमाथि गरेको कारवाही र नेकपा (एकीकृत समाजवादी)को वैधानिकतासम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले रिटलाई अन्तिम सुनुवाइका लागि पठाउने आदेश दिएको हो । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो ।

ओलीको मागअनुसार अन्तरिम आदेश आएको भए माधव नेपालसहित १४ सांसदको पद र नेकपा (एकीकृत समाजवादी)को पार्टी गतिविधिमा रोक लाग्ने थियो । एमालेले पार्टीका तत्कालीन १४ सांसदलाई कारवाही गर्ने गरी गरेको सिफारिस बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले सूचना प्रकाशित नगरेपछि ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए । यही विषयलाई लिएर एमालेले झन्डै ७ महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।


 

प्रतिक्रिया