मानव तस्करको निशानामा पर्दै युक्रेनी महिला र बालबालिका 

वारसा, एजेन्सी  । 
पहिलो घटनाः पोल्याण्ड प्रहरीले हालै ४९ वर्षीय एक अधवैंशे पुरुषलाई पक्राउ गरेको छ । जसमाथि युक्रेन युद्धमा ज्यान बचाउन भागेकी १९ वर्षीया शरणार्थी युवतीलाई उद्धारको नाममा यौन शोषण गरेको आरोप थियो ।

दोस्रो घटना: अर्को घटनामा युक्रेनबाट शरणार्थीको रूपमा आफ्नो देश प्रवेश गरेकी १६ वर्षीया किशोरीलाई बलात्कार गर्न लागेको बेला पोल्याण्ड प्रहरीले एक युवालाई पक्राउ गर्यो । ती युवाले युक्रेनी किशोरीलाई जागिर र कोठा दिने बहानामा फुस्ल्याएका थिए। 

तेस्रो घटना: पोल्याण्डको मेडिका बोर्डरमा रहेको शरणार्थी क्याम्पबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको थियो, जो महिला र किशोरीलाई लोभ्याउन विभिन्न प्रस्ताव राखिरहेको थियो। पक्राउ परेको पुरुष मानव–बेचबिखन गिरोहसँग जोडिएको प्रहरी अनुसन्धानमा पछि खुलेको थियो । 

यी त केही प्रतिनिधि घटना मात्र हुन् । वास्तवमा युक्रेनमाथि रुसको हमलापछि युक्रेनी महिला तथा बालबालिका अहिले उच्च जोखिममा परेका छन् । अन्तर्राष्ट्रिय न्यूज संस्था एसोसिएट प्रेस (एपी) को रिपोर्टलाई आधार मान्ने हो भने युक्रेनको सीमासँग जोडिएको पोल्याण्ड, रोमानिया, माल्दोभा, हंगेरी र स्लोभाकियामा बनेको शरणार्थी क्याम्प मानव तस्करका लागि पहिलो रोजाइ बनेको छ । तस्करहरू महिला तथा बालबालिकालाई आफ्नो नियन्त्रणमा राख्न विभिन्न योजना बुनिरहेका छन् । शरणार्थी क्याम्पमा रहेका महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर शारीरिक शोषण हुने गरेको तथ्य पनि संयुक्त राष्ट्र संघ (युएन) को शरणार्थी हेर्ने निकाय युएनएचसिआरले पुष्टि गरिसकेको छ। 

युएनसिएचआरले हालै मानव–बेचबिखनको फैलिँदो र्याकेटप्रति चिन्ता व्यक्त गर्दै यो पनि स्वीकार गरिसकेको छ– युक्रेन युद्धको संवेदनशीलतालाई हेर्दा शरणार्थीहरूलाई शोषणबाट जोगाउन गाह्रो परिरहेको छ । 

रोमानिया, पोल्याण्ड र माल्दोभासँग जोडिएको युक्रेन सीमाको लगातार निरीक्षण गरिरहेका युएनएचसिआरका ग्लोबल कम्युनिकेशन प्रमुख जोङ–आह गेदिनी–विलियम्स भन्छन्, ‘शरणार्थी शिविरमा सबैभन्दाबढी महिला तथा बालबालिका छन् । यसैले यहाँ अन्य किसिमको तस्करी मात्र होइन, शोषणलाई पनि ध्यान दिनुपर्ने आवश्यकता महसुस भएको छ।’

युएनएचसिआरका अनुसार युक्रेनबाट २५ लाखभन्दा बढी मानिस भागेर दोस्रो देशमा प्रवेश गरेका छन् । जसमा बालबालिकाको संख्या मात्र १० लाखको हाराहारीमा रहेको बताइएको छ। यसले युरोपमा मानवीय संकट देखापरेको र दोस्रो विश्व युद्धयताकै सबैभन्दा तीब्र गतिमा विस्थापन बढेको रिपोर्टमा उल्लेख छ । 

युएनएचसिआरले रोमानिया, पोल्याण्ड, हंगेरी, माल्दोभा र स्लोभाकियामा ठूलो संख्यामा स्थानीय जनता तथा स्वयंसेवक सीमा क्षेत्रमा उद्धार कार्यमा जोडिएको बताएको छ। सेवा कार्यमा जोडिएका व्यक्तिहरूले युक्रेनबाट आउने महिला तथा बालबालिकालाई निःशुल्क बसोबास, निःशुल्क यातायात तथा काम उपलब्ध गराउन सहयोग गरिरहेका छन् । तर, यही मानवीय कार्य अहिले खतराको घण्टी बनेको छ । 

पोल्याण्डमा पक्राउ परेका ४९ वर्षीय पुरुषले इन्टरनेट पोर्टलमार्फत १९ वर्षीया युक्रेनी युवतीलाई सहयोगको आश्वासन दिएका थिए । युवती पोलिस भाषासँग अनभिज्ञ थिइन् । त्यसैले उनले उमेरको हिसाबले ती व्यक्तिप्रति विश्वास गरिन् । तर, यसको नतिजा युवतीले नसोचेको घटनाबाट गुज्रिनु पर्यो । यो जघन्य अपराधका लागि ती व्यक्तिलाई १२ वर्षको जेल सजाय हुने सम्भावना छ । 

मानवीय संवेदनासँग जोडिएका यी घटना बाहिरिन थालेपछि जर्मनी सरकारले राजधानी बर्लिन पुगेका युक्रेनी महिला तथा बालबालिकाका लागि सोसल मिडियामार्फत एउटा चेतावनी सन्देश जारी गरेको छ। युक्रेनी तथा रुसी भाषामा दिइएको यो सन्देशमा शरणार्थीलाई राति अपरिचित व्यक्तिले कुनै ठाउँमा बस्न तथा सित्तैमा खानेकुराको प्रस्ताव गरे, त्यसबाट बच्न भनिएको छ । 

एपी न्यूज एजेन्सीका अनुसार रोमानिया र पोल्याण्डमा सादा पोशाकमा प्रहरीका जासुसहरू सीमा क्षेत्रमा छोडिएका छन्, जसको काम मानव तस्करमाथि निगरानी राख्नु हो। रोमानियाको सीमा नजिकै जोडिएको सिरत शहरबाट प्रहरी अधिकारीले यस्ता कैयौं व्यक्तिलाई समातिसकेका छन्, जसले महिलालाई आफ्नो गाडीमा निःशुल्क यात्रा गर्ने प्रस्ताव दिएका थिए।   
 

प्रतिक्रिया