उत्तरी इराकस्थित अमेरिकी सैन्य क्याम्पमा ‘रकेट बम’ हमला

बगदाद, एजेन्सी । उत्तरी इराकस्थित अमेरिकाको सैन्य क्याम्पमा आइतबार रकेट बमद्वारा हमला भएको छ। गभर्नर ओमद खोसनावीले यसको पुष्टि गर्दै पाँच वटा इरानी बेलेस्टिक मिसाइलबाट हमला भएको बताएका छन् । रकेट अमेरिकी बेस क्याम्प र इरबिलमा रहेको एउटा कुर्दिस न्युज च्यानलको कार्यालय लक्षित थियो ।

‘यो अझै पुष्टि हुन सकेको छैन, मिसाइलको निशानामा अमेरिकी वाणिज्य दूतावास थियो कि शहरमा रहेको हवाई अड्डा,’ गभर्नर ओमदले बताए । बेलायती अखबार डेली मेलका अनुसार कुर्दिस स्वास्थ्य मन्त्री समन बरजान्जीले इरबिलमा भएको बिस्फोटपछि मानिसहरू आतंकित भएको बताएका छन्। घटनाको केही समयपछि अमेरिकी अधिकारीले हमलामा आफ्नो सेनालाई केही नभएको पुष्टि गरेका छन् । 

घटनाको सम्पूर्ण जानकारी अझै आइसकेको छैन। तर, सोसल मिडियामा सेयर भएको भिडियोमा इरबिलस्थित अमेरिकी सैन्य क्याम्पमा खसाइएको मिसाइल इरानबाट प्रक्षेपण भएको दावी गरिएको छ । 

इराकी सिया मुस्लिम मौलवी मक्तदा अल–सदरले पनि ट्वीट गर्दै इरबिलमा आगो लागेको जानकारी दिएका थिए। उनले कुर्द इराकी नभएर अन्य जातिको भए जस्तै हमला भएको भन्दै व्यंग्य गर्न खोजेका थिए । यसअघि गत सेप्टेम्बरमा पनि अमेरिकामा भएको ९–११ के हमलाको २० औं बार्षिकी मनाउन इरबिल अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अमेरिकी बेस क्याम्पमा रकेटद्धारा हमला भएको थियो।

केही वर्षयता इरबिल विमानस्थल हमलाको केन्द्र बनेको छ। धेरै हमला लेन्स ड्रोनबाट भएको विदेशी पत्रपत्रिकाले जानकारी दिएका छन् । इरबिलमा हुने गरेको हमलालाई अमेरिकी अधिकारीले इरान–गठबन्धन सिया मुस्लिम मिलिसियाको काम भएको ठहर गर्ने गरेका छन् ।  हाल इराकमा २५ सय अमेरिकी सेनाको उपस्थिति छ। अमेरिकी सेनाले अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेको छ। सुन्नी आतंकवादी संगठन इस्लामिक स्टेटविरूद्ध लड्न अमेरिकी सेना इराकमा डटेर लागेको छ।
 

प्रतिक्रिया