काठमाडौं । महात्मा गान्धीमा हास्यचेत (सेन्स अफ ह्यूमर) प्रचुर मात्रामा थियो । हाँस्यरसकै कारण गम्भीर र आलोचनात्मक प्रश्नलाई पनि उनी चुलबुले पारामा जवाफ दिन खप्पीस थिए ।
जब उनी हाँस्थे, उमेरसँगै झरेका दाँतको सौन्दर्यले एकखालको हाँस्यरस छरिहाल्थ्यो । भारतका पत्रकार एवं लेखक दयाशंकर शुक्ल सागरले आफ्नो एक पुस्तकमा लेखेका छन्, ‘महात्मा गान्धीको छवी आम रुपमा धीर, गम्भीर, आध्यात्मिक महापुरुष र कडा अनुशासनप्रिय राजनेताका रुपमा प्रख्यात छ । तर, उनको विनोदप्रियताले सबैलाई मन्त्रमुग्ध पाथ्र्यो ।’ लेखक दया शंकरका अनुसार एकपटक महात्मा गान्धी स्वयंले भनेका थिए, ‘यदि ममा सेन्स अफ ह्यूमर हुँदैनथ्यो भने मैले अहिलेसम्म आत्महत्या गरिसकेको हुन्थें ।’
गान्धीसँगै स्वतन्त्रता संग्रामको नेतृत्व गरेका जवाहरलाल नेहरुले आफ्नो आत्मकथामा लेखेका छन्, ‘जसले महात्मा गान्धीको हाँस्य मुद्रा देखेन, उसले निकै बहुमुल्य चीज देख्नबाट वञ्चित रह्यो ।’ गान्धी हास्यव्यंग्यलाई आफ्नो शक्ति बनाउँथे । भद्र अवज्ञा आन्दोलन या सत्याग्रहलाई प्रभावकारी बनाउन उनले हास्य विनोदी शैली अपनाउँथे । अंग्रेजहरुका कटु वचनलाई उनी हाँसेरै हल्का बनाइदिन्थे ।
‘बेलायत सरकारविरुद्धको असहमति म धेरैजसो नम्र मिजासमै प्रकट गर्छु । जुन विषम र विकट परिस्थितिमा म काम गर्छु, मसँग यति धेरै सेन्स अफ ह्यूमर हुँदैनथ्यो भने म अहिलेसम्म पागल भैसक्थें’, एक बेलायती पत्रकारको प्रश्नमा गान्धीले भनेका थिए । एकपटक इंग्ल्याण्डका प्रधानमन्त्री विन्स्टन चर्चिलले गान्धीको उपहास गरे । चर्चिलले गान्धीलाई ‘अर्धनग्न फकिर’ भनिदिए । चर्चिलले भनेका थिए, ‘लण्डनमा पढेको एउटा मामूली वकिल कसरी यति विशाल ब्रिटिश राज्यलाई चुनौती दिनसक्छ ?’
लण्डन भ्रमणका क्रममा चर्चिललाई जवाफ दिदै गान्धीले पत्रकारमार्फत भनेका थिए, ‘लण्डनमा म आफ्नो लंगोटीमै रहनेछु । धेरै जाडो भएमा म सल या कम्बल ओढुँला । म त्यस्तो कुरुप र निरस बुढो मान्छे पनि हैन, जस्तो मलाई चित्रित गरिन्छ । सत्य त के हो भने म निकै रमाइलो मान्छे हुँ ।’
तिनताका चर्चित व्यंग्यकार जर्ज बनार्ड शा पनि लण्डनमै थिए । उनी ख्यालठट्टामै गम्भीर कुरा भन्थे । बनार्ड शाको धोको थियो, गान्धीसँग भेटघाट गर्ने । निकै प्रयासपछि गान्धीसँग उनले भेट्न पाए । करीब एक घण्टाको कुराकानीका क्रममा बनार्ड शाले भने, ‘म तपाइँका बारेमा थोरबहुत जान्दथें, तपाइँ र मविचका भावना समान छन् भन्ने लाग्छ । हामी विश्वको त्यो समुदायका प्राणी हौं, जसको सदस्य संख्या निकै कम छ ।’
सो भेटघाटपछि पत्रकारहरुसँग गान्धीले बनार्ड शाका बारेमा भने, ‘उनी युरोपका सबैभन्दा ठूला जोकर हुन् । उनमा चुलबुले बालकमा झैं उत्साह, उदारता र चीर तरुण हृदय छ ।’
लण्डनमा गान्धीको भेट एक सेवानिवृत्त बेलायती फौजीसँग भएछ । उनी गान्धीको अटोग्राफ चाहन्थे । अटोग्राफ दिदै सँगै पैदल हिंड्ने क्रममा गान्धीले उनीसँग सोधे, ‘तपाइँका कतिजना बालबच्चा छन् ?’ फौजीले चार छोरा र चार छोरी भएको बताए । गान्धी हाँसे अनि भने, ‘मेरा त चार छोरा मात्र छन्, त्यसैले तपाइँसँग म आधी बाटोसम्म त दौडन सकिहाल्छु ।’
महादेव देसाइको पुस्तक ‘लण्डन डायरी’का अनुसार लण्डनमै रहँदा कसैले गान्धीलाई उनीसँग चार्ली च्याप्लीनले भेटन चाहेको जानकारी दिए । ‘यी कुन महापुरुष हुन् ?’, गान्धीले सोधे । त्यो बेलासम्म गान्धीले चार्ली च्याप्लीनको नाम सुनेका थिएनन् । गान्धीलाई भनियो कि चार्ली लण्डनका महान हास्यकलाकार हुन्, जसको चलचित्र पुरै युरोपमा हिट छ र लाखौं मानिसलाई उनले हँसाएका छन् ।
चार्ली च्याप्लीनसँग भेटन गान्धी तयार भए । भेटका क्रममा गान्धीसँग च्याप्लीनले सोधे, ‘तपाइँ मेसिनको किन विरोध गर्नुहुन्छ ?’ गान्धीको जवाफ थियो, ‘इंग्ल्याण्ड आवश्यकताभन्दा बढी कपडा उत्पादन गर्छ, त्यसलाई उपयोग गराउन विश्वभरी बजार खोज्दै हिंड्छ । यसलाई म लुट भन्छु । लुटेरा इंग्ल्याण्ड विश्वकै लागि खतरा हो । यदि भारतले पनि मसिनको प्रयोग गर्न थाल्यो र आवश्यकताभन्दा बढी माल तयार गर्यो भने लुटेरा भारत विश्वका लागि कति खतरा होला ?’
लण्डनमा गान्धी निकै घुमफिर गरे । लण्डनका धेरै पत्रिकाले अर्धनग्न गान्धीको फोटो छापेर उनको उपहास गरे । त्यसप्रति गान्धीको जवाफ थियो, ‘केही मानिसलाई मेरो यो पोशाक मन पर्दैन । यसको आलोचना गर्छन् र मेरो मजाक उडाउँछन् । मलाई सोधिन्छ कि किन यस्तो पोशाक लगाउँछु ? अंग्रेजहरु भारत जाँदा के उनीहरु युरोपियन पोशाक छाडेर भारतीय पोशाक लगाउँछन् ? जुन त्यहाँको मौसममा उपयुक्त पनि छ । तर, उनीहरु त्यसो गर्दैनन् । म चाहिँ किन युरोपेली पोशाक लगाउने ?’
इंग्ल्याण्डका तात्कालीन सम्राट राजा जर्ज पंचमले एक सम्मेलनमा विभिन्न देशका प्रतिनिधिलाई आफ्नो दरबारमा बोलाए । तर, त्यो सूचीमा गान्धीको नाम थिएन । कसैले गान्धीलाई पनि सम्मेलनमा बोलाउन राजालाई सल्लाह दिए । प्रस्ताव सुन्नेबित्तिकै राजा जर्ज पंचम क्रोधित भए । उनले भने, ‘के म त्यो विद्रोही फकिरलाई बोलाउँ, जो मेरा वफादार अधिकारीमाथिको आक्रमणको जिम्मेवार छ ?’ केहीसमयपछि जब राजाको क्रोध शान्त भयो, उनले गान्धीको पोशाकप्रति आफ्नो आपत्ति रहेको बताए ।
लण्डनस्थिति इन्डिया हाउसबाट राजालाई सल्लाह दिइयो, ‘गान्धीलाई सम्मेलनमा नबोलाउँदा भारत र विश्वभरी नयाँ बखेडा खडा हुनेछ ।’ अन्ततः गान्धीको पोशाकबारे कुनै पूर्व शर्त नराखीकनै उनलाई सम्मेलनमा आमन्त्रण गर्ने निर्णय गरियो । राजाले गान्धीलाई निमन्त्रणा गरे । भाइसरायले गान्धीलाई डिनर पार्टीमा उपयुक्त समयमा प्रकट गराउने जिम्मा लिए । सो पार्टीमा गान्धी घुँडामाथिसम्म भेटने सानो सेतो धोती लगाएर गए । माथि ज्यान ढाक्न सेतो सल ओढेका थिए । अनि गोडामा खराउजस्तो चप्पल ।
वकिंघम प्यालेसमा पुगे । शानदार महलमा त्यसअघि यसखालको पोशाक लगाएर कुनै अतिथि गएका थिएनन् । गान्धी सबैभन्दा भिन्न देखिन्थे । भाइसरायका लागि त्यो सकसपूर्ण समय थियो । गान्धीको विद्रोहलाई नजरअन्दाज गर्न राजा जर्ज पंचमलाई मुश्किल थियो । किनकी, बितेको पुरै एक वर्षसम्म गान्धीले भारतमा एक शक्तिशाली सत्याग्रह आन्दोलन चलाएका थिए । तैपनि त्यो पार्टीमा जब राजाले गान्धीसँग कुराकानी थाले, परिस्थिति सहज भयो । गान्धीको सेन्स अफ ह्यूमरले सबैको मन जित्यो ।
पार्टीबाट गान्धी फर्केपछि एक बेलायती पत्रकारले सोधे, ‘मिस्टर गान्धी तपाइँले राजासँग भेट्दा उपयुक्त पोशाक लगाउनु भएन, किन ?’ गान्धीको जवाफ थियो, ‘तपाइँ मेरो पोशाकका बारेमा चिन्ता नगर्नुस् । तपाइँका राजाले हामी दुबैका लागि पर्याप्त पोशाक लगाएका थिए ।’ गान्धीको यो जवाफ विश्वभरी प्रख्यात भयो । प्रख्यात जीवनी लेखक रबर्ट पाएनले लेखे, ‘गान्धीको नग्नता ब्याज अफ अनर (सम्मानको प्रतिक) बनेको छ ।’
गान्धीलाई अमेरिका आउन धेरैले निमन्त्रणा दिएका थिए । तर, उनले त्यो स्वीकार गरेनन् । एक पटक एक अमेरिकी महिलाले अमेरिका कहिले आउनुहुन्छ ? भनेर सोध्दा गान्धीले भनेका थिए, ‘मैले सुनेको छु कि अमेरिकामा मेरो लागि चिडियाखानामा एउटा पिंजरा सुरक्षित राखिएको छ, ताकि सबैले मजस्तो अदभूत मानिसको दर्शन गर्न सकून् ।’
(एजेन्सीको सहयोगमा- तस्वीर: महान हास्यकलाकार चार्ली च्याप्लीनका साथ महात्मा गान्धी र परिवार, सन् १९३१, २२ सेप्टेम्बर)
प्रतिक्रिया