राजीखुशीको बिहे

म त एउटा ड्राइवर थिएँ, अर्काको गाडी चलाउँथे । दिनभरिको अधिकांश समय गाडीमै बित्थ्यो । धेरैजसो त गाडीमै सुतिन्थ्यो । अहिलेको धरान नगरपालिका वडा नं. ६ को देसी लाइनमा एउटा कोठा लिएको थिएँ । 

एक दिन धरानबाट विराटनगर जाने तयारीमा थिएँ । विराटनगर जाने यात्रुका रूपमा मेरो ट्रकमा तीनजना चढे । तीमध्ये दुई महिला र एक पुरुष थिए । पुरुषचाहिँ धरानकै तुलसीदास भन्ने मानिस रहेछन् । एक महिला उनकी श्रीमती रहिछन् । अर्की महिलालाई तुलसीदासले बहिनी भने । 

बाटोमा गफ गर्दै गयौं । तुलसीदासले ती महिलालाई बहिनी बनाएका रहेछन् । दशैँ–तिहारमा आउजाउ गर्ने, टीका लगाउने गरेका रहेछन् । बाटो काट्ने मेलो न हो, यस्तै घरायसी कुरा भयो । बहिनी भनेकी महिलाको चाहिँ धरानमा चियानास्ताको होटल रहेछ । होटल भएको घर उनकै रहेछ । 

खनार भन्ने ठाउँमा पुगेपछि मेरो गाडी अचानक बिग्रियो, अगाडि जान सकेन । गाडी त्यहीँ एउटा ग्यारेजमा पु¥याएर मर्मत गर्न दिएँ । मर्मतका लागि एउटा सामान किन्नुपर्ने भयो । म सामान लिन विराटनगर जाने भएँ । ती यात्रु मसँगै थिए । हामी चारैजना एउटै गाडीमा गयौँ । चिनजान भयो, आफन्तजस्ता भयौँ । 

धरान फर्किएपछि म ती महिलाको होटलमा पुगेँ । अहिलेको भोटेपुलभन्दा अलिकति मास्तिर उनको होटल रहेछ, चियानास्ता राम्रो पाइने । उनका श्रीमान् बितिसकेका रहेछन् । चारवटी छोरी रहेछन् । जेठी छोरीको बिहे भइसकेको रहेछ । अरू तीनवटी साथमा थिए, उनीहरू ससानै थिए । बोलीचालीमा साइनो लाउनु पर्यो, मैले ती महिलालाई दिदी भन्न थालेँ । म उनको होटलमा जाने क्रम बाक्लो भयो । त्यहीँ चियानास्ता खान थालेँ । कोठामा खाना पकाउने गरेको थिइनँ, त्यही होटलमा खान थालेँ ।
म देसीलाइनबाट डेरा सर्न खोजिरहेको थिएँ । आफूले खाना–खाजा खाने गरेको होटलकै छेउमा एउटा कोठा फेला पारेँ । त्यतिबेला मासिक १० रूपियाँ भाडा तिर्नेगरी डेरा सरेँ । अब त होटलमा जाने क्रम झन बाक्लो भयो । कहिलेकाहीँ खाना–खाजा कोठैमा मगाउन थालेँ । उनकी माइली छोरी नरमायाले पु¥याइदिन्थिन् । नाम नरमाया भए पनि आमा उनलाई मायाले मिठू भनेर बोलाउँथिन् । 

मिठू चिटिक्क परेकी थिइन्, नामजस्तै । शरीरमा जवानीको बिहानी झुल्किन थालेको थियो । यस्तै १५–१६ वर्षकी हुँदी हुन् । म २१–२२ वर्षको लक्का जवान थिएँ । कताकता म उनीतिर नजानिँदो तरिकाले आकर्षित भइसकेछु । मलाई उनी खुब मन पर्न थालिन् । म धेरै समय गाडीमै बिताउने भएकाले कुरा यतिमै सीमित थियो । म उनलाई मन पराउँथे, बस् यति नै । 
एक दिनको कुरा हो । होटलमा खाना खाँदै गर्दा होटल साहुनीले भनिन्– यहीँ मेरो घरमा एउटा कोठा खाली छ, यतै सरेर बस्नु नि हुन्न ? मैले कोठा हेरेँ, मन पर्यो, तुरुन्तै सर्ने भएँ । यसरी मेरो कोठा पनि मिठूकै घरमा भयो । त्यही घरमा कोठा भएपछि मिठूसँग हिमचिम बढ्यो । नजानी नजानीकन मिठूसँग मायापिरति भयो ।

मिठूकी आमाले हाम्रो मायापिरति र हिमचिम थाहा पाइन्, हाम्रो मनशाय बुझिन् । र, २०१७ साल फागुनको एक दिन आफ्ना परिवारका चार पाँचजना बोलाएर खुशीसाथ टीकाटालो गरिदिइन् अर्थात सङ्क्षिप्त बिहे गरिदिइन् । मैले मेरा तर्फबाट एकजना पुरेत बोलाएँ । उनले टीकाटालोको विधि पुर्याइदिए । यसरी धरानमा आफ्नै राजीखुशीले क्षत्रीको छोरो र नेवारकी छोरीको बिहे भयो । बुबा स्वर्गीय दिलबहादुर श्रेष्ठ र आमा धनकुमारीकी माइली छोरी नरमाया (मिठू) सँग मेरो बिहे भयो ।


मिठूसँग बिहे त भयो तर उता पहाडमा जेठी श्रीमती पनि छ भन्ने कुरा मैले थाहा दिएको थिइनँ । जेठीबाट जायजन्म पनि भएको थिएन । जति लुकाए पनि एक दिन त थाहा हुने नै थियो, त्यही बेला जे गरौँला भन्ने सोचेको थिएँ । 

लगत्तै २०१८ साल भदौ १ गते छोरो जन्म्यो । बसाइ ससुराली घरमै थियो । सुत्केरीको स्याहारसुसार र छोराको न्वारान त्यहीँ भयो । कुनै कठिनाइ भएन । त्यही साल फागुनमा हामीले अर्को डेरा खोज्यौँ । ससुराली घरबाट करिब दश मिनेटको पैदलदुरीमा भोटेपुलमा डेरा सर्यौं ।

धरानमा राजीखुशीले बिहे भएको तीन वर्ष पुग्न तीन महिना बाँकी छँदा २०२० साल मङ्सिरको एकदिन अचानक पहाडबाट मेरी जेठी श्रीमती नैनकलालाई लिएर आमा धरान आइपुग्नुभयो । कान्छी श्रीमती मिठूबाट जन्मेको पहिलो सन्तान, छोरो प्रेम, दुई वर्षको भइसकेको थियो । दोस्रो छोरो हरि पनि जन्मिसकेको थियो । पहाडमा अर्की श्रीमती छ भन्ने कुरा धरानमा सासूआमा र मिठूलाई थाहा नै थिएन । मैले त सकेसम्म कुरा लुकाएको थिएँ तर सासूआमा र मिठूले भित्रभित्रै शङ्का गरिसकेका रहेछन् । 
बुहारी लिएर अचानक आमा आइपुगेपछि त खैलाबैला नै मच्चियो । मिठू निकै नराम्रोसँग रिसाई । सासूआमा पनि रिसाउनुभयो । नरिसाउनु पनि किन ! झन्डै तीन वर्ष त मैले कुरा लुकाएको थिएँ । 

सासूआमा धेरै समझदार हुनुहुन्थ्यो । मेरो व्यवहार चित्त नबुझे पनि उहाँले वातावरण सहज बनाउनुभयो । उहाँको सहनशीलता र समझदारीले सबैभन्दा सजिलो त मलाई नै भएको थियो । केही दिनमा मिठू पनि सहज भइहाली । 
मेरो गोपनियता भङ्ग भइसकेपछि मैले पनि थप छलछाम गरिरहनु पर्ने आवश्यक नदेखेर वातावरण सहज बनाउने प्रयास गरेँ । 
जे जे हुनु भइसकेको थियो । तातो रिसले मात्रै केही हुनेवाला थिएन । बिस्तारै वातावरण सहज बन्दै गयो, सहज बनाउन सासूआमाले नै मद्दत गर्नुभयो । 

एक दिन भन्नुभयो– बुबाआमाले रहरले बाजा बजाएर बिहे गरिदिएकी श्रीमती हुन्, हेला गरे पाप लाग्छ । मिठू पनि तपाईंले मन पराएर बिहे गरेकी श्रीमती हो । जे हुनु भइगयो । मिठूलाई जति माया गर्नुहुन्छ त्यति नै जेठीलाई पनि गर्नू, दुवैजनालाई राम्रो मिलाएर राख्नू । मेरा चार छोरी थिए, अब पाँचवटी भए । कति ठूलो उदारता !

सासूआमाले नै भनेपछि कुरा सिद्धियो । आखिर म जेठी श्रीमतीलाई पनि आफूसँगै राख्न चाहन्थेँ । सासूआमाको समझदारीले मेरो समस्या सुल्झियो । धरानमा मेरो आफ्नै घर भइसकेको थियो, बस्नलाई समस्या थिएन । जमानाअनुसार जहानपरिवार पाल्न दुःख नहुने गरी आम्दानी थियो । फगत, दुइटी श्रीमती आपसमा मिलेर बसे भइहाल्थ्यो । 

मैले सासूआमाको सहयोगले नै धरानमा घर–घडेरी जोड्न सकेको थिएँ । सासूआमाले जवानीमै पतिवियोग सहनु परेको थियो । पति गुमाएर एक्ली भए पनि उहाँले गरिखाने क्षमता गुमाउनु भएन । पतिवियोगकै परिणाम हो कि, उहाँ अलिक कडा मिजासकी हुनुहुन्थ्यो । सङ्घर्षशील र मिहिनेती हुनुहुन्थ्यो । एक विधवा महिलाले चारवटी छोरी हुर्काउनु, तिनीहरूलाई असल संस्कार दिनु, पढाउनु, र बिहेदान गरिदिनु सजिलो काम थिएन । निडर, हक्की, इमानदार र सङ्घर्षशील मेरी सासूआमाले यी काम सहजै पार लगाउनुभएको थियो । 

आफ्नो कडा मिहिनेतले उहाँले धरानमा पर्याप्त सम्पत्ति जोड्नुभएको थियो । उहाँ एक अनुपम र उदाहरणीय नारी हुनुहुन्थ्यो । धरानमा म स्थापित हुनमा मेरी सासूआमा धनकुमारीको अतुलनीय योगदान रहेको छ । 

(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना  भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए ।

 
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको आठौं अङ्क प्रस्तुत गरेका छौँ ।)

 

यी पनि पढ्न छुटेकी-

मो. वि. गो. ५५५

अमिनीमा जागीर

अहो ! त्यो धरान !

पन्ध्र वर्षमा स्कूल

प्रतिक्रिया