छिप्रा गाउँमा मकै उत्पादनमा कमी

 

जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ । समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् । गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो । गत जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा ह्रास आएको स्थानीयवासी हिरउली रावतले गुनासो गर्नुभयो । 

मकैलाई पुग्ने गरी पानी नआउनाका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको उहाँले बताउनुभयो । आफ्नो मात्रै नभएर गाउँभरिका किसानले खेतमा लगाएको मकै यस वर्ष उत्पादनमा कमी आएको हो । गत वर्षका तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीयवासी जसपुरी रावलले गुनासो गर्नुभयो । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ ।

उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्तित बनेका छन् । यस पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बीउ जोगाउनसमेत मुस्किल भएको जसपुरी रावतले बताउनुभयो । उत्पादनमा कमी हुँदा आम्दानीको स्रोत घटेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा हामीले एक केजी मकैको रु एक सयमा बिक्री गथ्र्यांै तर यो वर्ष उत्पादन नभएर आम्दानीसमेत शून्य भएको छ । विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई बिक्री गरिएको थियो । यस वर्ष बीउ जोगाउनसमेत मुस्किल भएको छ ” उहाँले भन्नुभयो । मकै उत्पादन राम्रो हुँदा उनीहरुले बिक्री गरेर खर्च चलाउने गरेका थिए । महिलाका लागि मकै उत्पादन आम्दानीको एक मुख्य स्रोत रहेको भए पनि यो वर्ष आम्दानी शून्य भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया