चर्को कम्युनिस्ट विरोधी नेता गिरिजाप्रसाद कोइरालालाई सम्झँदै दुइजना कम्युनिस्ट नेताले भनेका छन्,‘कोइराला बिना देशमा गणतन्त्र आउन सम्भव नै थिएन।’
एमालेका तत्कालिन अध्यक्ष माधवकुमार नेपालले कोइरालासँगको राजनीतिक सहकार्य स्मरण गर्दै नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइराला थिएनन् भने दुइ सय चालीस वर्ष पुरानो राजसंस्था हटाएर गणतन्त्रको घोषणा गराउन सम्भव नहुने बताएका हुन्। नेता नेपाल उनै कोइरालाको निर्णायक भूमिका गणतन्त्र स्थापनाको मुख्य कारण ठान्छन्।
त्यसैगरी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गिरिजा प्रसाद कोइरालालाई नै गणतन्त्र घोषणाको जस दिन्छन्।
७ चैत २०६६ मा निधन भएको थियो, गिरिजा प्रसाद कोइरालाको ८५ वर्षको उमेरमा। आज उनको १२औं स्मृति दिवस हो।
चर्को कम्युनिस्ट विरोधी नेताका रुपमा प्रचारित कोइराला ‘माले, मसाले, मण्डले उस्तै हुन्’ भनेपछि चौतर्फि आक्रमणको तारो बनेका थिए। २०४६ सालको परिवर्तनपछि भएको आमनिर्वाचनमा बहुमत ल्याएको नेपाली कांग्रेसले कोइरालालाई नै प्रधानमन्त्री बनायो। सरकारको नेतृत्वमा पुगेपछि त कोइराला नेपालका कम्युनिस्ट दलहरुको निशानामा परि नै रहे। प्रतिनिधिसभाको मुख्य विपक्षीको स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाले त कोइरालालाई फुटेको आँखाले पनि देख्न चाहँदैनथियो। सडक होस् कि संसद कोइरालाकै विरोधमा तातिरहन्थ्यो ०५१ को मध्यावधि निर्वाचनसम्म। पछि राजनीतिले कोल्टे फेरेर जब माओवादीले हिंसात्मक संघर्ष सुरु गर्यो अनि भने एमाले र कांग्रेसको सम्बन्धमा रहेको तिक्तता कम हुँदै गयो। गिरिजा प्रसाद कोइराला त्यसपछिका दिनहरुमा राजनीतिको शीर्ष स्थानमा रहे, पदमा बसे पनि नबसे पनि।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गरिएका प्रयासहरुमा एमाले नेतृत्वसँग भएका सहकार्यपछि कोइरालाले विस्तारै अभिभावकको स्थान लिन थाले। यतिसम्म कि कोइरालाकै प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्न सफल भए। कुनै पनि दलले यो प्रस्तावमा आपत्ती गरेनन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत कोइरालालाई छक्याउन झुक्याउन सफल भएपनि उनको निर्णायक भूमिका विरुद्ध उभिने साहस गर्दैनथे।
यिनै दुइ कम्युनिस्ट नेताले पूर्व प्रधानमन्त्री कोइरालालाई सम्झँदै नेपालमा गणतन्त्र स्थापना गर्नमा उनकै निर्णायक भूमिका भएको स्वीकारेका छन्।
नेपाली कांग्रेसका नेताहरु तत्कालिन सभापति कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उठिउठि गणतन्त्रमा जाने निर्णय गर्न आदेश दिएको सम्झेर अहिले पनि तीनछक्क पर्छन्। लामो संघर्षकालमा पाएको ठक्कर, हण्डर, धोका र अपमानबाट आजित भएपछि नै कोइरालाले राजसंस्था विदा गर्ने कठोर निर्णय लिएको निकटवर्तीहरु सुनाउँछन्। पछिल्लो समयमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको ‘अपमानजनक व्यवहार’ नै कोइरालालाई कठोर निर्णय लिन वाध्य पार्ने घटना रहेको मान्नेहरु पनि छन्।
गिरिजा प्रसाद कोइराला अठोट गरेको लक्ष्य हासिल गर्न सकेजति मेहनत गर्थे, जोखिम पनि उठाउँथे। विमान अपहरण एउटा गतिलो उदाहरण हो। कतिपय त्रुटीपूर्ण निर्णय गरेकामा पश्चाप पनि गरेका थिए उनले। आफ्नै नेतृत्वको पहिलो मन्त्री परिषद्बाट आधा दर्जन मन्त्री बिनाकारण हटाएको कुरा उनलाई बाँचुञ्जेल बिझाइरहने त्रुटी थियो। त्यसपछि सावधानीपूर्वक अघि बढेका कोइरालाले पार्टीलाई पुरानै अवस्थामा ल्याउने सफलता पनि पाए। हिंसात्मक संघर्षबाट माओवादीलाई शान्ति प्रक्रियामा ल्याए र पहिलो पटक संविधान सभाको निर्वाचन समेत गर्न भ्याए।
लामो राजनीतिक जीवनमा कोइरालाको एउटै लक्ष्य देखियो जनताको अधिकारको रक्षाका लागि लोकतन्त्रको संस्थागत बिकास। यही लक्ष्यले उनी राजसंस्था र लोकतन्त्र मध्ये एक रोज्नुपर्दा लोकतन्त्र नै रोज्न तयार भए। त्यसका लागि निर्णायक भूमिका निर्वाह गर्न कुनै कसर छोडेनन्।
कार्यकारी राष्ट्र प्रमुख समेत भएर देशको नेतृत्व गरेका कोइराला आजभोलि भने नजानिँदो किसिमले ओझेलमा पारिँदै गएका छन्। उनकै पार्टी नेपाली कांग्रेसले समेत खुलेर कोइरालालाई सम्झिरहेको पाईँदैन। न उनको योगदानलाई लिपिवध्द गर्न कुनै संस्थागत अभिलेखको प्रयास नै गरेको देखिन्छ। परिवारका सदस्य र नेता कार्यकर्ताले भावनावश आयोजना गर्ने औपचारिक स्मृति दिवस बाहेक गिरिजाप्रसाद कोइरालाको योगदानलाई संस्थागत रुपमा अभिलेख गर्ने काम भएको देखिँदैन। भविष्यको पुस्ताका लागि पनि यो हुन आवश्यक छ।
कतिपय दिवंगत नेताका नाममा खुलेका दर्जनौं प्रतिष्ठानकै लहरमा गिरिजा प्रसादको स्मृतिमा पनि संस्थाहरु नखुलेका होइनन्। तर बृहत्तर क्षेत्रमा आमजनतावीच पुग्न ती संस्थाहरु असमर्थ देखिन्छन्।
राणा शासन, सक्रिय राजतन्त्रसहितको निर्दलीय पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र समेत गरी लामो संघर्षपूर्ण राजनीति गरेका गिरिजाप्रसाद कोइराला सर्वप्रिय नहुन सक्छन्। तर उनको भूमिका र योगदान उल्लेख नगरी नेपालको इतिहासको अध्याय सधैं अपुरो अधुरो नै रहने छ। यसलाई भने बिर्सन मिल्दैन।
गिरिजा प्रसाद कोइराला एक अटल राजनीतिक यात्री थिए, जसको यात्रालाई तमाम वाधा अवरोधले रोक्न छेक्न सकेन। पार्टीभित्रका राजनीतिक प्रतिद्वन्दी, दरबार, विपक्षी दल, शासक वर्गमा पकड जमाएर बसेको काठमाडौंको कुलीन वर्ग र नवकुबेरहरुको निरन्तरको प्रहारले थकाउन नसकेका एकमात्र नेता थिए गिरिजा प्रसाद कोइराला। कमजोरीमुक्त त थिएनन् उनी तर लोकतन्त्रप्रतिको अठोट र उपलव्धिले कोइराला शारीरिक कद जस्तै व्यक्तित्वले समेत राजनीतिक उचाई बनाएर संसारबाट विदा भएका थिए।
लोकतन्त्रको मूल्यमा पुर्याएको अतुलनीय योगदान बिर्सन नसकेर दृश्य टिभीले कोइरालालाई सकेसम्म सबै आयामबाट सम्झने प्रयास गरेको छ, एउटा समाचार सामग्रीको सीमाभित्र समेटेर। यही नै सम्पूर्ण हो भनेर हामी दावी नै त गर्दैनांै तर यत्ति पनि अभिलेख भएको थिएन भनेर भन्न चैं संकोच मान्दैनौं। यसमा तथ्यपरक आलोचना, टिकाटिप्पणी हुनुपर्छ, हामी त्यसको स्वागत गर्छौं। हामी सबै बिचार र दर्शनलाई समुचित स्थान दिँदै इतिहासमा विभिन्न किसिमले सम्झिईने नेताहरुको योगदान अभिलेख हुनुपर्छ भन्ने मान्यता राख्दछौं।
जहानियाँ शासन, निरंकुश शासन र हिंसात्मक राजनीतिबाट देश र जनतालाई मुक्त गर्दै अँध्यारोबाट उज्यालोमा उभ्याउन जीवनभर कठोर संघर्ष गरेका गिरिजा प्रसाद कोइरालालाई हार्दिक श्रध्दाञ्जलि!
तस्विर सौजन्य : सागर मुल्मी, वरिष्ठ फोटो पत्रकार
प्रतिक्रिया