विद्युतीय राहदानी वितरण सुरु, पहिलो राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै विद्युतीय राहदानी सार्वजनिक गरिएको हो ।

जोशीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले विद्युतीय राहदानी हस्तान्तरण गरेका थिए । कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए ।

उनले संसारमा चलेका राहदानीहरुमा विद्युतीय राहदानी सबै भन्दा पछाडिको रहेको बताए । अब अनलाइनबाट नैै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने भन्दै महानिर्देशक अर्यालले अब भीडको व्यवस्थापनमा सहज हुने बताए ।

आजदेखि केन्द्रीयस्तरमा जारी भएको विद्युतीय राहदानी मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ । यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा अब विद्युतीय राहदानी पनि ६ वटा रंगमा जारी हुनेछ ।

सर्वसाधारणलाई चकलेटी रंगको वितरण गरिनेछ । मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ । त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले विद्युतीय राहदानी बनाउन सक्नेछन् ।

व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय राहदानी आउन लागेको राहदानी विभागले जनाएको छ ।

प्रतिक्रिया