तुलसीपुर । विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो ।
अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन भने पानीको लाइन काटिएको पनि दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन् । गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउन र मोबाइल पसलमा अनिवार्य विद्युत चाहिन्छ । टिकट काउन्टरमा टिकट काट्न, शौचालय जान समस्या छ । विद्युत र पानीको समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन् ।
“विद्युत् नहुँदा हाम्रो व्यवसाय नै चौपट्ट भएको छ”, सटरमा व्यवसाय गर्दै आएकी प्रमिला कठायतले भनिन् । विसं २०७७ देखि त्यहाँ व्यवसायीलाई सटर भाडामा प्रदान गरिएको हो । त्यतिबेला भाडामात्रै तिर्ने तर, पानी विद्युतको नतिर्ने सहमति भएको अर्का व्यवसायी जिए नेपालीले बताए । तर अहिलेसम्म त्यहाँ कुनै विद्युत महसुल बुझाइएको छैन ।
“यहाँको पूर्वतर्फका सटरको १० हजार र पश्चिमतर्फका सटरको आठ हजार भाडा तिर्ने सहमति भएको हो”, उनले भने, “तर अहिले पानी, विद्युत्को पनि हामीले तिनुपर्ने भन्ने कुरा आएको छ ।” ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ । “पहिले पनि मैले नै ठेक्का पाएको थिएँ”, बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले भने, “त्यतिबेला पनि सटर लिनेलाई पानी, विद्युतको मात्रै तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन ।”
अहिले पनि पुनः बुढाथोकी टेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको छ । फागुन २० गतेदेखि बसपार्कका लागि सोही सप्लायर्सलाई काम गर्ने गरी कार्यादेश दिइएको छ । सोही कम्पनीले पनि यसअघि पनि बसपार्क पूर्वाधार शुल्क उठाउने जिम्मा लिएको थियो । तर केही समयमै त्यो सम्झौता तोडिएको थियो । विसं २०७८ वैशाखदेखि फागुनसम्म उपमहानगरपालिकाले नै भाडा उठाउने काम गरिरहेको थियो । पुनः पुसमा बोलपत्र खुला गर्दा त्यही बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको र ठेक्का पाएपछि सप्लायर्सले त्यहाँको व्यवस्थापनका लागि सक्रियता बढाएको छ ।
त्यसका लागि सम्झौता गर्न सटर भाडामा लिएकाहरूलाई चिठ्ठी पठाएको बुढाथोकीले बताए । अहिलेसम्म सम्झौता गर्न नआएको उनको भनाइ छ । सटर भाडामा लिएकाले यसअघिका महिनाको पनि भाडा तथा विद्युत् महसुल नबुझाएकाले भाडा र महसुलसहित सम्झौता गर्न बोलाएको उनले बताए । उनका अनुसार २० प्रतिशत भाडा बढाउन मिल्ने भन्दै सोहीअनुसार आफूले भाडा बढाउन लागेको बताए । अहिले पूर्वतर्फका सटरलाई १४ हजार र पश्चिमतर्फका सटरलाई १२ हजार बनाउने गरी तयारी गरेको बुढाथोकीले बताए ।
भाडा बढेमा आफूहरूले त्यो भाडा बुझाउन नसक्ने व्यवसायी रुपलाल केसीले बताए । “नाला, फुटपाथ पनि हटाउन सकेको छैन, गेट पनि बनाउन सकेको छैन”, उनले भने, “अहिले आएर भाडा बढाउने भन्ने कुरा गरेको छ, त्यो सुहाउँदो गरेर हेरफेर गर्न सकिएला, धेरै बढाए सकिँदैन ।” त्यहाँ १३ वटा प्रालिका टिकट काउन्टर पनि छन् । काउन्टरमा विद्युत् नहुँदा उत्तिकै समस्या हुने गरेको त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका रुकुम–सल्यानका सदस्य दीपककुमार बुढाथोकीले बताए ।
उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरूले नै विद्युत् महुसुल तिर्नुपर्ने बताएको छ । उपमहागरपालिकाका राजस्व शाखा प्रमुख भेषराज चन्दका अनुसार कोभिडपछिकोे छुटसहित त्यसपछि दामासाहीका हिसाबले विद्युत् महसुल बुझाउनुपर्ने हुन्छ । उपमहानगरपालिकाले सार्वजनिक शौचालय, छोटो र लामो समयको पार्किङ, प्रवेश तथा निकासी शुल्क, होर्डिङ बोर्डसहित सार्वजनिक सूचना, टर्मिनल भवन, ५२ सटरको शुल्क उठाउने जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लायर्सलाई दिइएको छ । वार्षिक भ्याटबाहेक दुई करोड २३ लाख बुझाउने गरी ठेक्का सम्झौता भएको हो ।
प्रतिक्रिया