रुस–युक्रेन युद्धले बढायो शरणार्थी, युरोपमा शरण खोज्नेहरुको संख्या २८ प्रतिशतले वृद्धि

काठमाडौं– सन् २०१५–१६ पछि युरोपमा शरणार्थीहरूको आगमनले कीर्तिमान खडा गरेको छ। सिरियामा युद्ध सुरु भएपछि त्यहाँबाट ज्यान जोगाउन भ्राग्नेहरुको क्रम वर्षौंसम्म जारी रह्यो। त्यो वर्ष सबैभन्दा धेरै शरणार्थी युरोपेली संघ (ईयू)का देशहरूमा आइपुगेका थिए।

सन् २०२१ को तथ्याङ्कअनुसार त्यसबेलाको तुलनामा अहिले शरणार्थीको आगमन निकै कम भए पनि यस वर्ष  करिब २८ प्रतिशतले वृद्धि भएको छ।

यतिबेला युक्रेनमा चलिरहेको रुसी युद्धका कारण मानिसहरु भाग्ने क्रम जारी छ। त्यसलाई हेर्दा यो वर्ष गत वर्षको तुलनामा शरणार्थीको संख्या बढ्ने निश्चित देखिएको छ। युद्धको एक महिनाभित्रै युक्रेनबाट ३५ लाख मानिसले आफ्नो घरबार छोडेका छन्।

युरोस्टेटले सन् २०२१ मा युरोपेली संघ बाहिरका देशबाट आएर पहिलो पटक शरण मागेका व्यक्तिबाट ५ लाख ३५ हजार आवेदन प्राप्त भएको जानकारी दिएको छ। यी तथ्याङ्कहरू युरोपेली संघका सबै २७ देशहरूबाट लिइएका हुन्। यतिको संख्या पहिलो पटक २०१४ मा देखिएको थियो। 

गत वर्ष पनि शरण खोज्नेहरूको सबैभन्दा ठूलो हिस्सा सिरियालीहरूले ओगटेका थिए। करिब एक दशकदेखि सिरियालीहरूले यसमा सबैभन्दा ठूलो हिस्सा ओगट्दै आएका छन्। गत वर्ष यो १८ प्रतिशतको हाराहारीमा थियो।

सिरियापछि आउने देश हो अफगानिस्तान। अफगानिस्तानका शरणार्थी १६ र इराकका ५ प्रतिशत छन्। वर्षैपिच्छे संख्यालाई हेर्दा एक वर्षमा शरण खोज्ने अफगानीहरूको संख्यामा ९० प्रतिशतले वृद्धि भएको छ। कारण थियो, दशकौंको हिंसा र त्यसपछि पुनर्निर्माणको बाटोमा रहेको अफगानिस्तानमा तालिवान शासनको पुनरागमन। अगस्ट २०२१ मा तालिवान करिब दुई दशकपछि फेरि सत्तामा आएको थियो।

यससँगै सिरिया र इराकबाट आएर युरोपमा शरणका लागि आवेदन दिनेको संख्या पनि वर्षैपिच्छे ५० प्रतिशतले बढेको छ।

सबै देशका मानिसहरु युरोप आएर शरण लिन्छन् भन्ने होइन। कोलम्बियाजस्ता देशका मानिसको आवेदनमा ५५ प्रतिशतले कमी आएको छ भने भेनेजुएलाबाट आउने आवेदन पनि ४३ प्रतिशतले घटेको छ। गत वर्ष शरण खोज्ने रुसी नागरिकको संख्या २० प्रतिशतले घटेको थियो।

आवेदकहरूको उमेरलाई हेर्ने हो भने तीमध्ये लगभग एक तिहाइ १८ वर्षभन्दा कम उमेरका छन्। ६५ वर्षभन्दा माथिकालाई हेर्दा पुरुषभन्दा बढी महिला छन्। 

सबै आवेदकहरूमध्ये २८ प्रतिशतले जर्मनीमा शरण मागेका छन्। यसपछि शरण मागेका युरोपका देश फ्रान्स, स्पेन, इटाली र अस्ट्रिया रहेका छन्। यी चार देश मिलेर करिब दुई तिहाइ शरणार्थी शरण लिन चाहन्छन्।

यसबाहेक साइप्रस जस्ता युरोपेली देशमा जनसंख्याको अनुपातमा यो वर्ष सबैभन्दा बढी शरणार्थीले आवेदन दिएका छन्। युरोस्टेटले गत वर्षको अन्त्यमा करिब ७५ लाखभन्दा बढी व्यक्तिको आवेदन पेन्डिङ रहेको र उनीहरुको शरणको बारेमा अन्तिम निर्णय पुग्न नसकेको बताएको छ।
 

प्रतिक्रिया