समाचार विश्लेषण

गगन थापा काठमाडौंको मेयरमा किन नउठ्ने ?

‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ,’ फ्रान्सका पूर्व प्रधानमन्त्री एवं हाल ले हाभ्रे नगरका मेयर एडवर्ड फिलिपको दृष्टान्त पेस गर्दै नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिनअघि एक फलोअरलाई ‘मेन्सन’ गर्दै रिट्वीट गरे।

ती व्यक्तिले भट्टराईलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउँदा कसो होला भनी बहस थालनी गरेका थिए। उनले भट्टराई प्रधानमन्त्री भएको बेलामा भएको काठमाडौंको सडक विस्तार तथा अन्य विकास योजनाको खुलेर प्रशंसा गरेका थिए। ‘प्रधानमन्त्री बनेको मान्छेलाई मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुरामजस्तो आँट भएको मान्छे नआइ बन्दै बन्दैन,’ उनको जिकिर थियो।

त्यसपछि ट्वीटरमा निक्कै बहस चल्यो। भट्टराईले राजनीतिबाट जनताको सेवा गर्ने हो भने उच्च पदस्थ व्यक्तिहरुले पनि पालिकाको मेयर÷उपमेयर बन्न तयार हुनुपर्ने भनी सुझाए। आगामी स्थानीय चुनावमा के भट्टराईले काठमाडौंको मेयर पदमा उम्मेदवारी देलान् त? अहिले नै उनले त्यसको कुनै स्पष्ट संकेत गरिसकेका छैनन्। यद्यपि, उच्च तहको नेतृत्व लिइसकेका व्यक्तिहरुलाई पालिकाको नेतृत्व लिन प्रोत्साहित भने गरेका छन्।

मुलुक स्थानीय तहको निर्वाचनको सँघारमा छ। आगामी वैशाख ३० गते मुलुकभरका ७ सय ५३ स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा क–कसलाई उम्मेदवार बनाउने भन्ने कसरत विभिन्न दलहरु लागेका छन्। यही परिप्रेक्ष्यमा साँच्चिकै पालिकाहरुको सुमचित विकास गर्ने हो भने सक्षम, जिम्मेवार, योग्य र जनउत्तरदायी व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने विषय अत्यन्त महत्वका साथ उठेको छ।  

यसपालि जुझारु युवाहरुले मुलुकका प्रमुख शहरहरुमा स्वतन्त्र उम्मेदवारी दिने क्रम पहिलेभन्दा बढेको देखिन्छ। चर्चित र्याप गायक बालेन शाहले काठमाडौं महानगरपालिकामा मेयर उठ्ने घोषणा गरिसकेका छन् भने लोकप्रिय लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयर उठ्ने घोषणासहित आवश्यक तयारी थालिसकेका छन्। त्यस्तै, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, नेपालगन्ज, धनगढीलगायत मुलुकका मुख्य शहरहरुबाट युवा उम्मेदवारहरुले स्वतन्त्र हैसियतले उम्मेदवारी दिने सम्भावना छ। राजनीतिक दलबाट विजयी नेतृत्वले नगरहरुमा रुपान्तरणकारी काम गर्न नसकेकाले त्यसैको प्रतिक्रियास्वरुप युवाहरुले राजनीतिमा होमिने धृष्टता गरिरहेको पाइन्छ।  
    
यसै सन्दर्भमा अस्तव्यस्त काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन फ्रान्सका पूर्व प्रधानमन्त्री तथा त्यहाँको ले हाभ्रे नगरका मेयर एडवर्ड फिलिपजस्तै व्यक्तित्वबारे यहाँ चर्चा परिचर्चा सुरु भइसकेको छ। 

५१ वर्षीय ६ फिट २ इञ्च अग्ला तथा प्रभावशाली व्यक्तित्वका धनी फिलिपले सन् २०२० देखि फ्रान्सको ले हाभ्रे नगरको मेयरका रुपमा नेतृत्व गरिरहेका छन्। यसअघि सन् २०१७ देखि सन् २०२० जुलाईसम्म प्रधानमन्त्रीका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन्। फ्रान्समा संवैधानिक प्रधानमन्त्री र कार्यकारी राष्ट्रपति रहने प्रावधान छ। राष्ट्रपति इम्मानुएल म्याक्रोनले प्रधानमन्त्रीमा फिलिपको नाम सिफारिस गरी स्वीकृत समेत गरेका थिए। अघिल्लो पटक फिलिपले सन् २०१० देखि सन् २०१७ सम्म ले हाभ्रे नगरको मेयर भएर काम गरिसकेका छन्। 

प्रधानमन्त्री भइसकेका फिलिपले मेयर भएर काम गर्दा आफूलाई कुनै अहसज महसुस नभएको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए। आफूले जनताका लागि सेवा गर्ने र जुनसुकै भूमिका भए पनि त्यसले आफूलाई फरक नपार्ने उनको टिप्पणी रहेको छ। ले हाभ्रे नगरलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन उनले खेलेको भूमिकाको प्रशंसा हुँदै आएको छ भने सुशासन, पारदर्शी, जवाफदेहीलगायत मूलमन्त्रलाई उनले आदर्श मान्दै आएका छन्। 

बाबुराम भट्टराईले फ्रान्सका पूर्व प्रधानमन्त्री एडवर्ड फिलिपलाई आदर्श मान्दै पालिकामा प्रमुखका रुपमा साँच्चिकै दूरदर्शी तथा केही नयाँ योजना ल्याउन सक्ने व्यक्ति आउनुपर्ने विषयलाई ट्वीटमार्फत् लक्षित गरेका हुन्। ‘जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने होइन, आफ्नो पालिकाको प्रमुख बन्नुहोस्,’ भट्टराईले उल्लेख गरेका छन् । विभिन्न उच्च नेताहरुलाई आवश्यक परेमा पालिकाको नेतृत्व लिन पछि हट्न नहुने आशय व्यक्त गरेका भट्टराई आफूले चाहिँ आजका मितिसम्म त्यस्तो आशय व्यक्त गरेका छैनन्। कामना गरौं– भट्टराईले कतिपयलाई कटु लाग्नसक्ने त्यस्तो निर्णय गरुन् र नेतृत्व लिएर फेरि जनताको मन जितुन्।

पछिल्लो समयमा नेपाली राजनीतिमा लोकप्रिय नेता हुन्– नेपाली कांग्रेसका महामन्त्री गगन थापा। गत मंसिरमा भएको कांग्रेस महाअधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्रीमा विजयी थापालाई पार्टी र सरकार दुवै क्षेत्रमा काम गरेको अनुभव छ। चुस्त सचिवालय निर्माण र मिडिया व्यवस्थापनमा निपुण थापाले आफ्नो राजनीतिक कदलाई तिखार्दै लगेका छन्। यतिसम्मकि उनलाई पार्टीभित्र भावी सभापति र प्रधानमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ। यदि थापाले बाटो बिराएनन् र राजनीति सरल रेखामा हिँडिरह्यो भने उनले ती जिम्मेवारी पाउने कुरा असम्भव लाग्दैन।
 
४५ वर्षअघि काठमाडौंमा जन्मिएर २०४८ सालमा सिद्घार्थ वनस्थली, बालाजुबाट एसएलसी दिएका गगन त्रि–चन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिबाट चम्किएका हुन्। २०६२–६३ सालको जनआन्दोलनको बेला महत्वपूर्ण भूमिका निभाएका उनले त्यसयता राजनीतिक यात्रामा पछाडि फर्किनु परेको छैन। पहिलो संविधानसभा सदस्य (समानुपातिक), काठमाडौं ४ बाट दोस्रो संविधानसभा सदस्य (निर्वाचित) र काठमाडौं ४ बाटै हाल निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका थापाले अन्य व्यक्तिले भन्दा काठमाडौंका समस्या र बेथितिलाई पक्कै नजिकबाट बुझेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका गगनले जनस्वास्थ्यको क्षेत्रमा विपन्न उपचार कोष, स्वास्थ्य बीमालगायत केही आसलाग्दा योजना ल्याएका थिए। त्यसबेलाको उनको काम गराइबाट अवसर पाए भने गगनले पक्कै केही नयाँ काम गर्छन् है भन्ने झिनो आशा पलाएको थियो।
 
काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यले पाँच वर्षे कार्यकालमा चुनावी घोषणापत्रमा उल्लेख गरेअनुसार अधिकांश कामहरु गर्न सकेको देखिँदैन। व्यवस्थित र स्मार्ट महानगरको अवधारणा शाक्यले चुनावी घोषणापत्रमा समावेश गरेको भए पनि काठमाडौंको अहिलेको हविगत हेर्दा उनले केकति काम गरे भन्ने सहजै आँकलन गर्न सकिन्छ। 

यो पंक्ति लेखिरहँदा काठमाडौं विश्वकै छैटौं प्रदूषित शहरमा सूचीकृत भएको खबर सार्वजनिक भइरहेको छ। प्रदूषण नियन्त्रणबारे नगरपिता शाक्यको कुनै सोच र योजना नभएको विगतको कार्यशैलीबाट स्पष्ट भइसकेको छ। काठमाडौंको फोहोर नियन्त्रण, पिउनेपानी अभाव, सरसफाइ, अव्यवस्थित सडक र साँघुरो सडक, अस्तव्यस्त सार्वजनिक यातायात, सांस्कृतिक सम्पदाको दुर्गतिलगायत महानगरका अनेकौं यस्ता विकृृति छन्, जसका लागि काठमाडौंले दर्बिलो र आँटिलो मेयर खोजेको छ। 

यसका लागि गगन थापा वा यस्तै जुझारु नेताले मुलुककै राजधानी रहेको काठमाडौंको रुप फेर्न मेयरमा उम्मेदवारी दिन किन कञ्जुस्याइँ गर्ने? फ्रान्समा प्रधानमन्त्री भइसकेका फिलिपले ले हाभ्रे नगरको कायापलट गरिरहेका छन् भने काठमाडौंको रुप फेर्ने सोच हो भने प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराई, स्वास्थ्य मन्त्री भइसकेका गगन थापा वा अन्य कोही विशिष्ट नेतृत्वले किन मेयरमा उम्मेदवारी नदिने? 

महानगरको मुहार बदल्दै नेपाली कांग्रेसको संगठन सञ्चालन गरेभने महामन्त्री गगनलाई राजनीतिक करिअरको भावी दिन सुगम बनाउन समेत सहज हुने देखिन्छ। राजनीतिक दलहरु र सरकारले अब पनि पुरानै नेतालाई पेन्सनपट्टा लिउँन्ज्याल नेतृत्वमा बसाईरहने होभने नयाँ पुस्तालाई जबरजस्ती डिप्रेसनमा धकेल्ने काम मात्र हुने छ। राम्रा कुरा विदेश र स्वदेश जहाँको पनि अनुशरण गर्दा आफ्नो कद घट्दैन। नेपालकै सन्दर्भमा हेर्ने हो भने नेकपा एमालेले केन्द्रीय सरकारमा मन्त्री रहिसकेका नेतालाई प्रदेश सरकारको नेतृत्व गराएको उदाहरण छ। शंकर पोखरेल र शेरधन राई दुुवैजना सञ्चारमन्त्री भैसकेका नेता हुन्। पोखरेल उतै उतै पार्टीको महासचिव भैसकेका छन्।

केन्द्रीय तहका नेताले स्थानीय निकायको नेतृत्व लिएर काम गर्दा जनताको सम्मान र आत्मविश्वास समेत बढेको पाईन्छ। यसले राजनीतिको प्रतिष्ठा बढाउनुका साथै स्थानीय तहमा बिकास निर्माणका काम गर्न केन्द्रीय सरकारसँगको समन्वयमा समेत उल्लेखनीय प्रभाव स्थापित गर्न सकिन्छ। यसर्थ पनि लोकप्रिय नेताहरुलाई स्थानीय सरकारको नेतृत्वमा स्थापित गरेर राजनीतिलाई नयाँ आयाम दिन सकिन्छ भन्ने तर्फ प्रमुख राजनीतिक दलहरुले गम्भीर चिन्तन मनन गर्न आवश्यक छ। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजधानी महानगरको नेतृत्वमा आए राम्रो हुन्छ भनेर केवल उनको पक्षमा प्रचार गर्न यी शब्दहरु लेखिएका होइनन्। प्रणाली बदलिएको छ, अब पध्दति बसाउन अलमल गरिरहनु हुँदैन भन्ने उदेश्य मात्र हो। त्यसका लागि तुलनात्मक रुपमा जनमानसले रुचाएका नेताले स्थानीय तहमा बसेर जनताको दैनिक जीवनसँग सरोकार राख्ने बिषयमा जोडिएर सेवा गर्दा परिवर्तनको सार्थकता अझ बढ्ने निश्चित छ। निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा प्रत्याशी हुन चाहने नेता कार्यकर्तालाई मोटिभेसन गर्न पनि दलहरुले नयाँ सोच र दूरगामी असर पर्नसक्ने विकल्पहरु तर्फ बेलैमा सोचेर कदम चाल्न उपयुक्त देखिन्छ।  
  
 
        


  

 
     
    
 

    

 
 

प्रतिक्रिया