युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन सक्दैनौं : बेलायती प्रधानमन्त्री जोन्सन

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथमा उभिन नसक्ने बताएका छन्।ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले उक्त कुरा बताएका हुन्।

सम्बोधनकै क्रममा उनले रुसको आक्रमणविरुद्धको लडाइँमा युक्रेन एक्लै नरहेको बताउँदै रक्षात्मक हतियारको सहयोग बढाउने बताए। यता, युक्रेनमा रुसले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम रुसी राष्ट्रपति पुटिन लागि भयानक हुने पनि उनले चेतावनी दिएका छन्। 

यसअघि बेलायतले बेलायतका थप ६५ समूह तथा व्यक्तिहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो। जोन्सनका अनुसार रुस शान्ति चाहँदैन र उसले युद्धलाई थप सघन बनाउने सोच गरिरहेको छ।

युक्रेन युद्धका सम्बन्धमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो), युरोपियन युनियन (ईयू) र जी ६ राष्ट्रका नेताहरुले आकश्मिक बैठक गर्दैछन्। नेटो सम्मेलनपछिको पत्रकार सम्मेलनमा जोन्सनले बेलायतले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग जारी राख्ने बताएका छन्।

बिहीबार मात्रै बेलायत सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने घोषणा गरेको थियो। ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति बेलायत सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ। यसअघि बेलायतले करिब ४ हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ। ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।

यस्तै, बेलायतले बुल्गेरियामा थप सैनिक पठाउने भएको छ। यता, पोल्याण्ड र इस्टोनियामा पनि सैनिकको संख्या दोब्बर बनाउने भएको छ। यसअघि नेटोले बुल्गेरिया, हंगेरी, रोमानिया र स्लोभाकियामा नयाँ लडाकु समूह बनाउने घोषणा गरेको थियो। सोही अनुसार सैनिक थप गर्ने बेलायतले उल्लेख गरेको हो।

प्रतिक्रिया