अमेरिका, बेलायत र क्यानडाद्वारा म्यानमारमा नयाँ प्रतिबन्ध थप

काठमाडौं– अमेरिका, बेलायत र क्यानडाले म्यानमारमा नयाँ प्रतिबन्धहरू लगाएका छन्। वायुसेनाका नवनियुक्त प्रमुख र वरिष्ठ सैन्य अधिकारीहरूलाई केन्द्रित गर्दै नयाँ प्रतिबन्ध लगाएका हुन्। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले हिंसा नरोकिएसम्म प्रतिबन्ध जारी राख्ने बताएका छन्।

यता, बेलायतले हतियार व्यापारीहरू र कम्पनीहरूविरुद्ध प्रतिबन्ध लगाएको छ। यस्तै, वायुसेना प्रमुख जनरल हटुन आङमाथि पनि प्रतिबन्ध लगाएको छ। आङ म्यानमार इकोनोमिक होल्डिङ्स लिमिटेडका एक महत्वपूर्ण सैन्य समूहका निर्देशक पनि हुन्।

‘सेनाले म्यानमारका जनताविरुद्धको क्रूर हिंसाको अभियानलाई रोक्ने कुनै संकेत देखाएको छैन,’ एसियाका लागि बेलायती मन्त्री अमान्डा मिलिङले एक विज्ञप्तिमा भने,‘यी प्रतिबन्धहरूले उनीहरूलाई लक्षित गर्दछ, जसले सेनालाई हतियारहरू आपूर्ति गर्न सहयोग पुर्‍याउँछन्।’

यसैबीच क्यानडाले आङसहित चार व्यक्ति र दुई कम्पनीलाई कालोसूचीमा राखेको छ। गत फेब्रुअरी १, २०२१ मा म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले नागरिक नेतृ आङ सान सुकीलाई हिरासतमा राखेको थियो। 

उक्त कदमको विरोध गर्नेलाई सेनाले कारबाही गर्दै आएको छ। स्थितिको अनुगमन गरिरहेको राजनीतिक कैदीहरूको सहायता संघका अनुसार सेनाको दमनबाट १,७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हवाई बमबारीका कारण हजारौं विस्थापित भएका छन्। 

प्रतिक्रिया