टी-२० आईमा नेपाल र पपुवा न्यू गिनीबीच ७ वर्षपछि भेट

काठमाडौं– नेपालले घरेलु मैदानमा टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आज (सोमबार) पपुवा न्यू गिनीसँग खेल्दैछ। खेल दिउँसो १२:३०  मा टियु मैदानमा हुनेछ।

नेपाल दुई ओडिआई खेलमा क्लिन स्विपको बदला लिने सोचमा हुनेछ। नेपाल दुवै ओडिआई खेलमा कमजोर बलिङको कारण पराजित भएको थियो। पहिलो खेलमा नेपाल रोहितकुमार पौडेलको १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङ्सका बाबजुद ६ रनले पराजित भएको थियो।

यस्तै, दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको १ सय ५ रनको शतकीय इनिङ्सका बाबजुद नेपाललाई ३ विकेटले हराउँदै पपुवा न्यू गिनीले सिरिज २-० ले जितेको थियो। तर, नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० आई र ओडिआईको टोली फरक बनाएको छ। सन्दीप लामिछानेले घरेलु मैदानमा यही खेलमार्फत् टी–२० आईमा कप्तानी डेब्यू गर्ने छन्।

नेपाल र पपुवा न्यू गिनीबीच हालसम्म एक मात्र टी–२० आई खेल भएको छ। सन् २०१५ को टी २० विश्वकप ग्लोबल छनोटमा पपुवा न्यू गिनीले नेपाललाई ८ विकेटले पराजित गरेको थियो। टी–२० आईमा यी दुई देशबीच ७ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। टियुमा यी दुई टोलीबीच पहिलो पटक टी–२० आई खेल हुन लागेको हो। 

नेपाल र पपुवा न्यू गिनी दुवैले एक÷एक पटक टी–२० विश्वकप खेलेका छन्। नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेल्दा पपुवा न्यू गिनीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो। 

पपुवा न्यू गिनीले पछिल्लो ६ टी–२० खेलमा जित निकाल्न सकेको छैन। नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ। नेपालले टियुमा ८ खेल खेल्दा ७ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ। 
 
ब्याटिङको लागि सहयोगी पिच मानिँदै आएको टियुमा नेपाली बलरको प्रदर्शन कमजोर देखिएको थियो। नेपालले आजको खेलमा तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई खेलाउने सम्भावना छ। करण र अभिनाश टोलीमा फर्किँदा बलिङ आक्रामण बलियो हुने अनुमान गरिएको छ।

यता, करण विष्फोटक ब्याटिङ हुन्। उनको फिनिसिङ पनि राम्रो हुनेछ। ओपनर जोडीमा कुशल भुर्तेल र आसिफ शेख फर्किनेछन्।पछिल्लो समय खराब लयमा रहेका आसिफ ओडिआई टोलीमा भने समावेश थिएनन्। यता, कुशलको पनि पछिल्लो समय प्रदर्शन राम्रो छैन। 

यी जोडीले गतवर्ष नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक टी–२० आई सिरिजबाट नेपाली टोलीमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेका थिए। कुशलले गतवर्ष ५ मध्ये ४ खेलमा अर्धशतक प्रहार गरेका थिए। आसिफ र कुशलले लगातार दुई शतकीय साझेदारी गरेका थिए। नेपालले तेस्रो नम्बरमा नेपालले युवा ब्याटर लोकेश बमलाई खेलाउने सम्भावना छ। चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन्।

त्यसपछि नेपालले कुशल मल्ल, आदिल अन्सारी र विवेक यादवलाई खेलाउने सम्भावना रहेको छ। करण र सोमपाल कामी तल्लोक्रमका ब्याटर हुनेछन्।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी।

प्रतिक्रिया