सेतो बाघको अनौठो ‘सिक्रेट’

काठमाडौं । केही समयअघि निकारागुआको एक चिडियाघरमा सेतो बाघको जन्म भयो । पहेंलो रंगकी बघिनीले सेतो रंग देखेपछि आफैंले जन्माएको डमरुलाई त्यागिन् ।

सेतोबाघको लालनपालन गर्ने जिम्मेवारी आइपर्याे चिडियाघरका कर्मचारीको काँधमा । बाबु आमा भारतबाट पठाइएका पहेंलो रङका बंगाल टाइगर्स भए पनि सेतो डमरुको नाम नैइव राखिएको छ । आखिर पहेंला बाघ–बघिनीको डमरु सेतो कसरी    भयो ? यसको आफ्नै रहश्य छ ।

white  tiger 3

नेपाल, भारत, बंगलादेश र भूटानमा बाघका जुन प्रजाती पाइन्छन्, तिनलाई बंगाल टाइगर भनिन्छ । जीव विज्ञानको भाषामा ‘प्याथेरा टिगरिस’ भनिने यी बाघहरु प्रायः पहेंलो–सुन्तले पृष्ठभूमिमाथि कालो धर्का भएका हुन्छन् । तर, यिनबाट सेतो डमरुको जन्म चाहिँ आश्चर्य नै हो ।

सेतो बाघ खासमा बंगाल टाइगर प्रजातीबाट अलग हैनन् । दुबै एउटै हुन् । तर, सेतो रङको हुनुको कारण चाहिँ यिनीहरुको एउटा जीन कमजोर (रेसेसिव म्यूटेशन) भएकाले हो ।

यस्तो कमजोर जीनलाई ‘पिगमेन्ट जीन’ भनिन्छ । पिगमेन्ट जीनको एउटा शिरा कमजोर भएर पछि सर्ने भएकाले बाघको छालामा आउनुपर्ने रङ आउँदैन, जुन आम बाघको हुने गर्छ । 

बाघमा ‘एसएलसी ४५ ए २’ नामक पिगमेन्ट जीन हुन्छ । यही जीन घोडा, कुखुरा र माछामा पनि पाइन्छ । जब बाघहरुमा यस्तो जीनको शिरा कमजोर हुन्छ, त्यसपछि  उसमा पहेंलो र सुन्तले रङ आउँदैन । कालो रङको धर्कोमा चाहिँ कुनै असर पर्दैन । अनि सेतो र कालो धर्कोसहित ‘सेतो बाघ’ बन्छ ।

भारतमा सेतो बाघको आधिकारिक अभिलेख १५ औं शताब्दिमा गरिएको थियो । यसको चर्चा त्यसबेला भयो जब भारतको एक जंगलमा घुमिरहेको सेतो बाघलाई सन् १९५८ मा शिकारका दौरान मारियो ।

भारतमा सन् १९५१ मा मध्यप्रदेशको रीवा जिल्लामा मोहन नाम दिइएको एक भाले सेतो बाघ समातिएको थियो । अहिले भारतमा जति पनि सेतो बाघ छन्, ती सबै मोहनकै वंशज हुन् भन्ने गरिन्छ ।

उतिबेलै प्रजनन केन्द्रमा मोहनबाट अन्य धेरै बघिनीको प्रजनन गराएर डमरु जन्माइएको थियो । मोहनका सेता सन्तानहरुको वंशावली भारतलगायत धेरै देशमा राखिएको छ ।

वैज्ञानिकहरु यिनलाई अल्बीनो बाघ पनि भन्दैनन् । किनकी अल्बीनो बाघको रङ सेतो भए पनि आकार र तौल कम हुन्छ । तर, बंगाल प्रजातीको सेतो बाघको आकार र तौल चाहिँ आम बाघ सरह नै हुन्छ ।

प्रजनन केन्द्रमा अचेल सेतो बाघबाट सकेसम्म कम प्रजननको कोशिस हुने गर्छ । किनकी, यस्ता बाघमा अनेक किसिमका रोग हुनसक्छन्, जसले गर्दा बाघको आउँदो पुस्ता बिग्रिनसक्ने खतरा रहन्छ ।

निकारागुवामा जन्मिएको सेतो बाघ नैइवका माता पिता पहेंला र कालो धारका पक्कै थिए, तर उसको हजुरबुबा चाहिँ सेतै थिए । यसको अर्थ नैइवका माता पिताको शरीरमा रेसेसिव जीन थियो, जुन नैइवको गर्भधारणका बेला सक्रिय भयो । फलस्वरुप नैइव सेतो बाघमा परिणत भयो ।

अहिले बंगाल टाइगरको प्रजाती खतरामा छ । ‘इन्टरनेशनल यूनियन फर कन्जरभेशन अफ नेचर’ का अनुसार अहिले जंगलमा बंगाल टाइगर्सको संख्या २५ सय मात्र बाँकी छ । सेतो बाघ यसै प्रजातीको हो, त्यसैले यिनको अलग्गै गणना गरिँदैन । न त सेतो बाघलाई लोपोन्मुख प्रजातीको अलग्गै समूहमा राखिन्छ । यिनको गणना आम बाघकै श्रेणीमा हुन्छ ।

चीनको बेइजिङ युनिभर्सीटीका जीव वैज्ञानिक शुजिन लुओका अनुसार सेतो बाघ निकै दुर्लभ भएकाले अन्य बाघसँगै यिनको पनि संरक्षण हुनुपर्छ ।

‘सेतो बाघभित्र प्राकृतिक रुपमा एउटा जीन कमजोर छ, तर यसको अर्थ के होइन भने यिनको संरक्षणमा ध्यान नदिउँ, यिनीहरु भविश्यमा बाघका नयाँ प्रजाती विकसित गर्न सक्षम छन् र बंगाल टाइगरको प्रजातीको सन्तुलन बनाउन सहयोगी पनि’, लुओले भनेका छन् ।

सेतो बाघ प्रायः साहित्य, भिडियो, खेलकूद, टेलिभिजन र हास्य पुस्तकमा देखिन्छन् । यस्ता अनेक उदाहरणमध्ये स्वीडेनका लेखक रक ब्यान्ड केन्ट पनि एक हो, जसले सन् २००२ मा आफ्नो सबैभन्दा धेरै बिक्ने एल्बम ‘वेपेन एन्ड एम्युनिशन’ को आवरणमा सेतो बाघको तस्वीर राखेको थियो ।

लोकप्रिय अमेरिकी रक ब्यान्ड ‘द किलर’ले ‘ह्यूमन’ गीतको भिडियोमा सेतो बाघलाई पनि देखाएको थियो । सन् १९८० को दशकको र्चिर्चत अमेरीकी ब्यान्डको नाम पनि ‘ह्वाइट टाइगर’ नै थियो ।

डायमण्डशमसेर राणाको उपन्यास ‘सेतो बाघ’ र यसमै आधारित नीर शाह निर्देशित चलचित्र ‘सेतो बाघ’ तथा अरबिन्द अडिगाको उपन्यास ‘ह्वाइट टाइगर’ चर्चामा छन् । अडिगाको उपन्यासमा आधारित चलचित्र ‘ह्वाइट टाइगर’ पनि प्रदर्शनमा आइसकेको छ । (विभिन्न अनलाइन जर्नलहरुमा प्रकाशित तथ्यमा आधारित) 

प्रतिक्रिया