पाकिस्तानको तल्लो सदनमा प्रधानमन्त्री खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं– पाकिस्तानको तल्लो सदन राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। 

राष्ट्रिय सभामा विपक्षी दलका नेता शाहबाज सरिफले अविश्वासको प्रस्ताव पेस गरेका छन्। सरिफले तत्कालीन उपसभामुख कासिम खान सुरीलाई प्रस्ताव पेस गर्न अनुमति दिन आग्रह गरे। राष्ट्रिय सभामा प्रस्ताव पेस गर्न मतदान भएको थियो।

उपसभामुख सुरीका अनुसार १६१ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका छन्। अविश्वासको प्रस्तावमाथिको छलफल ३१ मार्चबाट सुरु हुने छ।

गृहमन्त्री शेख रसिदले अविश्वासको प्रस्तावमा अर्को साता मतदान हुने बताएका छन्। बीबीसी उर्दूका अनुसार अविश्वासको प्रस्ताव आउँदा १६१ विपक्षी सांसदहरू उपस्थित थिए तर इमरान सरकारका सहयोगीहरू अनुपस्थित थिए।

सरकार र प्रतिपक्ष दुवैले आफ्नो बहुमत प्रमाणित गर्न खोजिरहेका छन्। राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पारित हुन १७२ वा सोभन्दा बढी मत चाहिन्छ। पाकिस्तानको राष्ट्रिय सभाको वेबसाइटका अनुसार सत्तारुढ दल पीटीआईलाई गठबन्धनसहित १७८ सदस्यको समर्थन रहेको छ।

यी सदस्यहरूमा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का १५५ सदस्य, एमक्यूएमका सात सदस्य, बीएपीका पाँच सदस्य, पीएमएल-क्यूका पाँच सदस्य, जीडीएका तीन सदस्य र अवामी मुस्लिम लिगका एक सदस्य छन्।

योसँगै विपक्षी दलका कूल सदस्य संख्या १६२ रहेको छ। जसमा सबैभन्दा ठूलो विपक्षी दल पीएमएल–एनका ८४ सदस्य, पाकिस्तान पिपुल्स पार्टीका ५७ सदस्य, मुत्ताहिदा मजलिस–ए–अमलका १५ सदस्य, बीएनपीका चार सदस्य र अवामी नेशनल पार्टीका एक सदस्य रहेका छन्। यसका साथै विपक्षी गठबन्धनमा दुई स्वतन्त्र सदस्य पनि छन्।

प्रतिक्रिया