प्रचण्ड सैन्य शक्ति र हतियार भएको देशले युद्धको सम्भावनालाई रोक्न सक्छ : किम

काठमाडौं– ब्यालेस्टिक मिसाइल परीक्षणपछि उत्तर कोरियाले थप खतरनाक हतियार (उत्तर कोरिया र सामूहिक विनाशका हतियार) निर्माण गर्ने घोषणा गरेको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सैन्य अधिकारीहरुलाई देशको रक्षाका लागि थप शक्तिशाली हतियार बनाउन जारी राख्न निर्देशन दिएका छन्। 

केही दिनअघि उत्तर कोरियाले लामो दुरीको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। त्यसयता: उत्तर कोरियाले फेरि आणविक क्षमताको क्षेप्यास्त्रको परियोजनामा ​​काम सुरु गर्न सक्ने आशंका गरिएको छ।

राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले उत्तर कोरियाले चाँडै नै आफ्नो हतियारको आधुनिकीकरण गर्न नयाँ परीक्षण गर्न सक्ने जनाएको छ। यसमा आणविक यन्त्रहरूको परीक्षण पनि समावेश छ। 

बिहीबार उत्तर कोरियाले लामो दुरीको ह्वासोङ–१७ मिसाइल परीक्षण गरेको थियो। ह्वासोङ–१७ मिसाइल परीक्षणमा उपस्थित वैज्ञानिकहरू र अन्यसँगको फोटो सेसनमा नेता किमले कुनै पनि खतराको सामना गर्न देशको आक्रमण क्षमता बढाउने आफ्नो संकल्प व्यक्त गरेको सरकारी समाचार एजेन्सीले जनाएको छ। 

उनले भने, ‘जब देशसँग प्रचण्ड सैन्य शक्ति छ र युद्धको दिशा बदल्न सक्ने हतियार छ, त्यस्तो देशले कुनै पनि युद्धको सम्भावनालाई रोक्न सक्छ।’

उनले शक्तिशाली हतियारले मात्र देशको सुरक्षा र साम्राज्यवादीको खतरालाई टार्न सक्ने बताए। उनले यस्तो देशलाई अरु कुनै देशले ‘ब्ल्याकमेल’ गर्न वा नियन्त्रण गर्न नसक्ने बताए। 

प्रतिक्रिया