आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा मतदान नगर्न इमरान खानको ‘ह्विप’

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टी तेहरिक इन्साफ (पीटीआई) का सांसदहरूलाई आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा मतदान नगर्न ‘ह्विप’ जारी गरेका छन्।

पाकिस्तानमा विपक्षीले इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको छ। जसमा अप्रिलको पहिलो हप्तामा मतदान हुन सक्छ।विपक्षी दलका नेता शाहबाज सरिफले सोमबार राष्ट्रियसभामा पनि अविश्वासको प्रस्ताव पेस गरेका थिए।

आफ्ना सांसदहरूलाई लेखिएको पत्रमा इमरान खानले भनेका छन्,‘सबै पीटीआई सांसदहरूले राष्ट्रिय सभामा मतदानको क्रममा मतदान गर्न वा सत्रमा उपस्थित नहुनुहुन आग्रह गर्दछु।’

इमरान खान आफ्नो प्रधानमन्त्री पदको सबैभन्दा कठिन चरणबाट गुज्रिरहेका छन् । उनका धेरै सांसदले पार्टी छाडेर सत्तारुढ गठबन्धनमा दरार बढ्दै गएको छ ।

सरकार र प्रतिपक्ष दुवैले आफ्नो बहुमत प्रमाणित गर्न खोजिरहेका छन्। राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पारित हुन १७२ वा सोभन्दा बढी मत चाहिन्छ। पाकिस्तानको राष्ट्रिय सभाको वेबसाइटका अनुसार सत्तारुढ दल पीटीआईलाई गठबन्धनसहित १७८ सदस्यको समर्थन रहेको छ।

यी सदस्यहरूमा पीटीआईका १५५ सदस्य, एमक्यूएमका सात सदस्य, बीएपीका पाँच सदस्य, पीएमएल(क्यूका पाँच सदस्य, जीडीएका तीन सदस्य र अवामी मुस्लिम लिगका एक सदस्य छन्।

योसँगै विपक्षी दलका कूल सदस्य संख्या १६२ रहेको छ। जसमा सबैभन्दा ठूलो विपक्षी दल पीएमएल–एनका ८४ सदस्य, पाकिस्तान पिपुल्स पार्टीका ५७ सदस्य, मुत्ताहिदा मजलिस–ए–अमलका १५ सदस्य, बीएनपीका चार सदस्य र अवामी नेशनल पार्टीका एक सदस्य रहेका छन्। यसका साथै विपक्षी गठबन्धनमा दुई स्वतन्त्र सदस्य पनि छन्।
 

प्रतिक्रिया