इजरायलको तेल अवीवमा आक्रमण, ५ जनाको मृत्यु

काठमाडौं– इजरायलको तेल अवीव सहरको बाहिरी क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँचजनाको मृत्यु भएको छ। हप्ता दिनभित्रै इजरायलमा तेस्रोपटक अन्धाधुन्ध गोलीकाण्ड भएको हो।

यो घटना देशको सबैभन्दा अति-अर्थोडक्स यहूदी क्षेत्र मध्ये एक बनी ब्रेकमा भएको हो। घटनास्थलमा उपस्थित एक प्यारा मेडिकल स्टाफले बन्दुकधारीलाई प्रहरीले गोली हानेको जानकारी दिए।

गत मंगलबार र आइतबार इजरायली अरबहरूले आक्रमण गरेपछि सुरक्षा बलहरूलाई उच्च सतर्कतामा राखिएको थियो। यी आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।

घटनास्थलको फुटेजमा बन्दुकधारी कालो कपडामा देखिएका छन्। उनको हातमा अटोमेटिक बन्दुक छ, जसबाट गोली चलाएका छन्।

जेरुसेलम पोस्ट वेबसाइटका अनुसार एक व्यक्ति कारमा र अन्य नजिकैको सडकहरूमा मृत फेला परेको थियो। घटनापछि इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आपतकालीन सुरक्षा बैठक बोलाएका छन्। उनको सुरक्षा मन्त्रिपरिषद्को अर्को बैठक बुधबार बस्नेछ।

घटनाको जवाफ दिँदै उनले भने, ‘इजरायलले घातक अरब आतंकवादको सामना गरिरहेको छ, हाम्रा सुरक्षा बलहरू काम गरिरहेका छन्। हामी दृढताका साथ यो आतंकवादसँग लड्नेछौं।’

प्रतिक्रिया