दावी गर्दै हावी हुँदै प्रचण्ड

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलहरुवीच स्थानीय निर्वाचनमा हुने एलायन्सलाई प्रभावित पार्नेगरी आफ्नो भाग दावी गर्न थालेका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन दलहरुवीच एलायन्स गर्ने औपचारिक निर्णय गरेको भोलिपल्ट प्रचण्डले भरतपुर महानगरमाथि दावी गरेका छन्। हकवालाले पैतृक सम्पत्तिमाथि दावी पेश गरेझैं उनले “भरतपुरमा हाम्रो दाबी छँदै छ” भनेका छन्।

कुन कुन स्थानमा गठबन्धनवीच बाँडफाँड हुने भन्ने कुरा नै यतिञ्जेल अनिश्चित छ। भरतपुर महानगरलाई लिएर नेपाली कांग्रेसभित्र नै चर्को मतभेद रहँदै आएको छ। 

नेता शेखर कोइराला नेतृत्वको कांग्रेसभित्रको बलियो समूहले सकेसम्म गठबन्धनवीच चुनावी तालमेल नगर्ने अडान राख्दै आएको छ। तालमेल गर्ने निर्णय भएपनि स्थानीय नेता कार्यकर्ताले मानेनन् भने के हुन्छ भनेर कोइरालाले केन्द्रीय समितिको बैठकमै प्रश्न उठाईसकेका छन्।

सभापति देउवा भने वामपन्थी शक्तिवीच गठबन्धन हुने र कांग्रेस कमजोर हुने हाउगुजी देखाएर चुनावी एकताको आलोचना गर्ने नेता कार्यकर्ताको मुख बन्द गर्ने प्रयाश गरिरहेका छन्। केन्द्रीय कार्यसमितिले निर्णय गरेपनि स्थानीय तहमा यो लागू नै हुन्छ भनेर ठोकुवा गर्न कोही पनि तयार छैन।

एक्लै चुनवामा गए विगतमा जस्तै कम स्थानमा मात्र जित्न सकिने सभापति देउवाको भयभित आशंका र प्रचण्ड र माधव नेपाललाई साथ लिएर एमालेलाई साईजमा ल्याउने नेता रामचन्द्र पौडेलको अनौठो तर्कले देशभरका कांग्रेसजनमा आक्रोश बढाएको देखिन्छ।

यता नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ता भने भरतपुर कुनै हालतमा पनि अरु पार्टीलाई दिन नसकिने भन्दै विरोध गरिरहेका छन्। विगतमा राजनीतिक लेनदेन गर्दा सभापति शेरबहादुर देउवाले भरतपुर महानगरको नेतृत्व माओवादीलाई दिएर आफ्ना कार्यकर्ताको बर्षौंदेखिको लगानीको अपमान गरेको भनेर आलोचना गरेका छन्।

स्थानीय निर्वाचनमा एलायन्स हुने कांग्रेसको निर्णय पछि गठबन्धन बैठक बसेर थप निर्णय गरिनसक्दै प्रचण्डले भरतपुरमा आफ्नो प्राधिकार सरह दावी गरेपछि स्थानीय कांग्रेसजनमा आक्रोश बढेको छ।

गठबन्धनमाथि हावी हुनेगरी प्रचण्डको दावी आएपछि चितवन कांग्रेसका नेता कार्यकर्ता सभापति देउवालाई दवाव दिन काठमाडौं   उत्रने तयारीमा रहेको बुझिएको छ।

बुधबार सम्वाददाताहरुसँग कुरा गर्दै प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा सत्ता साझेदार दलबीच तालमेल हुने बताए। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि महानगर र उपमहानगरमा केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेको छ।

प्रचण्डले भरतपुरमा माओवादीको दाबी रहने भन्दै “निर्वाचनमा तालमेल के हुन्छ भन्ने थियो, नेपाली कांग्रेसले हिजो एउटा निर्णय गरिसकेपछि गठबन्धनबीच आवश्यक तालमेल हुन्छ भन्ने कुरा क्लियर भएकै छ,” उनले भने, “भरतपुरमा हाम्रो दाबी छँदै छ।”

यसअघिको स्थानीय तहको चुनावमा पनि भरतपुर महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो। महानगरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका थिए।

प्रचण्डले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्न बिहीबार सत्तारूढ गठबन्धनको बैठक बसेर निर्णय गर्ने पनि सुनाए।

प्रचण्डका अनुसार, महानगर र उपमहानगरपालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णय हुनेछ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि गठबन्धबीच तालमेलको बाटो खुलेको उनको भनाइ थियो। 

गठबन्धन दलहरुको विश्वासलाई नै संकटमा धकेल्ने गरी हतार गरेर प्रचण्डले भरतपुर महानगरमाथि दावी प्रस्तुत गर्नाले उनको भयभित मानसिकता उजागर गरेको एकथरीको बुझाई छ। 

एमालेबाट अलग्गिएका माधव नेपाल र नेकपाबाट छुट्टिएका प्रचण्ड आगामी संसदीय निर्वाचनप्रति आवश्त हुन नसकेको देखिन्छ। सबै तहको निर्वाचन एकै मितिमा गर्नुपर्छ भनेर केही समयअघि यी नेताको भनाई सार्वजनिक भएको थियो। तर स्थानीय निर्वाचनको मिति तोकिईसकेकाले केही महत्वपूर्ण स्थानमा कांग्रेसको साथ समर्थन लिएर आफ्नो स्थान सुरक्षित गर्न दावी भैरहेको बुझ्न सकिन्छ।

तर नेपाली कांग्रेसका सभापति देउवालाई आफूखुशी भागबण्डा गर्ने छुट पनि छैन, उनलाई पार्टीभित्रको प्रतिपक्ष रिझाउन विगतमा जस्तो सहज हुने देखिँदैन। प्रचण्डले गठबन्धनमाथि हावी हुने गरी दावी प्रस्तुत गरेपछि त झन् देउवा पार्टीभित्रै चर्को विरोध सामना गर्नुपर्ने अवस्थामा धकेलिएका छन्।
 
 
 

प्रतिक्रिया