पाकिस्तानमा सत्ता परिवर्तनको खेल, आफूलाई जोगाउन सफल होलान् त इमरान खान?

काठमाडौं– पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव पेस गरेका छन्। 

विपक्षी दलका नेता शाहबाज सरिफले सोमबार राष्ट्रियसभामा पनि अविश्वासको प्रस्ताव पेस गरेका हुन्। जसमा अप्रिलको पहिलो हप्तामा मतदान हुन सक्छ। 

खान आफ्नो प्रधानमन्त्री पदको सबैभन्दा कठिन चरणबाट गुज्रिरहेका छन्। उनका धेरै सांसदले पार्टी छाडेर सत्तारुढ गठबन्धनमा दरार बढ्दै गएको छ।

सरकार र प्रतिपक्ष दुवैले आफ्नो बहुमत प्रमाणित गर्न खोजिरहेका छन्। राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पारित हुन १७२ वा सोभन्दा बढी मत चाहिन्छ। पाकिस्तानको राष्ट्रिय सभाको वेबसाइटका अनुसार सत्तारुढ दल पीटीआईलाई गठबन्धनसहित १७८ सदस्यको समर्थन रहेको छ।

यी सदस्यहरूमा पीटीआईका १५५ सदस्य, एमक्यूएमका सात सदस्य, बीएपीका पाँच सदस्य, पीएमएल(क्यूका पाँच सदस्य, जीडीएका तीन सदस्य र अवामी मुस्लिम लिगका एक सदस्य छन्।

योसँगै विपक्षी दलका कूल सदस्य संख्या १६२ रहेको छ। जसमा सबैभन्दा ठूलो विपक्षी दल पीएमएल–एनका ८४ सदस्य, पाकिस्तान पिपुल्स पार्टीका ५७ सदस्य, मुत्ताहिदा मजलिस–ए–अमलका १५ सदस्य, बीएनपीका चार सदस्य र अवामी नेशनल पार्टीका एक सदस्य रहेका छन्। यसका साथै विपक्षी गठबन्धनमा दुई स्वतन्त्र सदस्य पनि छन्।

इमरान खानले २७ मार्चमा सत्तारुढ दल पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीको एक सभा आयोजना गरेका थिए। सभामार्फत् उनले आफ्नो मजबुत अनुहार देखाउने कोसिस गरेका थिए। 

सभालाई सम्बोधन गर्दै उनले पाकिस्तानमा विदेशी धनको सहायताले सरकार ढाल्ने प्रयास भइरहेको आरोप पनि लगाएका थिए। यद्यपि, विपक्षीहरुले उनको आरोप अस्वीकार गरेका थिए। 

विपक्षीहरुको अविश्वासको प्रस्तावपछि अब सबैको ध्यान राष्ट्रिय सभामा केन्द्रित भएको छ। यो प्रस्ताव २८ मार्चमा पेस भएको थियो। प्रस्तावमाथि यो हप्ताको अन्तिमतिर मतदान हुने अपेक्षा छ।  पाकिस्तानको राष्ट्रिय सभामा को सत्र यही २८ मार्चमा सुरु भएको थियो। 

यसअघिदेखि नै प्रतिपक्षीहरुले उक्त संसद् अधिवेशनलाई पर्खेर बसेका थिए। विपक्षीका नेता शहबाज शरीफले यो प्रस्ताव पेस गर्न अनुरोध गरेका थिए। यसको पक्षमा तल्लो सदनको १६१ सांसदको सर्मथन मिलेको छ। यसपछि सदनकी उपाध्यक्ष कासिम खान सुरीले अविश्वास प्रस्ताव स्वीकार गदै यो प्रस्तावमा ३१ मार्चदेखि छलफल हुने जानकारी गराएकी थिइन्।

पाकिस्तानको संविधान अनुसार एकपटक अविश्वासको प्रस्ताव पेस भएपछि १४ दिनभित्र राष्ट्रिय सभामा पेस गर्नुपर्ने छ। यद्यपि, राष्ट्रिय सभाका अध्यक्ष तय गरिएको समयसीमा भित्र उक्त प्रस्ताव पेस गर्न विफल भए। त्यसपछि आलोचनाका बीच बैठक ३१ मार्चसम्म स्थगित गर्ने निर्णय भयो। 

यो प्रस्ताव पेस भएपछि सरकारले मतदानका लागि अधिकतम ७ दिनको समय लिने देखिन्छ। प्रस्ताव पेस भएपछि जम्हुरी वतन पार्टीले सत्तारुढ गठबन्धनको साथ छोड्ने निर्णय गरेको छ। 

पकिस्तानको प्रमुख पत्रिका डनका अनुसार विपक्षी दल पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल–एन) र पाकिस्तान पीपुल्स पार्टी(पीपीपी)सँग अब १६३ सांसदको सर्मथन भएको छ। 

सत्तामा रहनका लागि इमरान खान सरकारका लागि कम्तीमा पनि १७२ सासदको सर्मथन आवश्यक हुन्छ। त्यस्तै विपक्षीलाई पनि अविश्वासको प्रस्ताव पारित गराएर खानको सरकार ढाल्नका लागि १७२ सांसदकै आवश्यकता पर्ने देखिन्छ।

खानले आफ्नो पीटीआईका सांसदहरूलाई आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा मतदान नगर्न ‘ह्विप’ जारी गरेका छन्।

आफ्ना सांसदहरूलाई लेखिएको पत्रमा खानले भनेका छन्,‘सबै पीटीआई सांसदहरूले राष्ट्रिय सभामा मतदानको क्रममा मतदान गर्न वा सत्रमा उपस्थित नहुनुहुन आग्रह गर्दछु।’

प्रतिक्रिया