कस्तो हुन्छ उत्तर कोरियामा ‘देशद्रोही’लाई राखिने जेल ?

काठमाडौं– देश छाड्न खोजेको आरोपमा पक्राउ परेकी ली योङ जूलाई नजरबन्द क्रेन्द्रको एक सेलमा राखिएको थियो। जहाँ उनलाई क्रस बनाएर बस्न भनिएको थियो। र, उनले आफ्नो हात घुँडामा राख्नुपर्ने थियो। उनलाई अर्को १२ घण्टासम्म हिँड्न दिइएन।

सेलका अन्य साथीहरूसँग अलिकति पनि हिचकिचाहट गरेमा वा कानाफूसी गरेमा पनि उनलाई कडा सजाय हुन्थ्यो। उनीहरूले खानको लागि मकैको केही दाना र पिउनको लागि सीमित पानी पाउथे।

ली योङ जूले बीबीसीलाई भनिन्,‘मैले आफूलाई मान्छे नभई जनावरको रूपमा महसुस गर्न थालेको थिएँ।’ आफ्नो देश छाड्न लागेकी ली योङ जूलाई सुरक्षाकर्मीले पक्राउ गरेर थुनामा राखेका थिए। सेलमा उनीसँग घण्टौसम्म सोधपुछ गरिएको थियो। धेरैले देश छोड्नु ठूलो कुरा ठान्दैनन्। तर, उनको लागि यो ठूलो कुरा थियो।

उनले सन् २००७ मा उत्तर कोरियाबाट बाहिरिने प्रयास गरेकी थिइन्। तर, उनलाई चीनमा पक्राउ गरेर उत्तर कोरिया सुपुर्दगी गरियो। पक्राउ परेपछि तीन महिना उनले चीनसँगको सिमानामा रहेको उत्तर कोरियाली ओनसोङ डिटेन्सन सेन्टरमा बिताइन्। आफ्नो सेलमा बस्दा उनले बाहिर पहरा दिइरहेका सुरक्षाकर्मीहरूको जुत्तामा धातुको चिपको आवाज सुन्थिन्,‘क्लाक क्लाक’।

आवाज निस्कन कम हुन थालेपछि उनले सेलमा रहेका अन्य कैदीहरूलाई कानाफूसी गर्न खोज्थिन्। र, ली योङ जू  अन्य कैदीहरूसँग फेरि बाहिर निस्कने योजना बनाउँथिन्। ‘हामी दोस्रो पटक बाहिर जाने योजना बनाउँथ्यौं, हामी दलालहरुलाई भेट्ने योजना बनाउँथ्यौं, यो सबै गोप्य हुन्थ्यो,’ उनले भनिन्।

यद्यपि, यस डिटेन्सन सेन्टरको उद्देश्य उत्तर कोरियाबाट भाग्नबाट मानिसहरूलाई रोक्नु थियो। यहाँ सुरक्षाकर्मीहरुले ली योङ जू र उनका साथीहरूलाई असर गरिरहेका थिएनन्।

एक दिन एक सुरक्षाकर्मीले ली योङ जूको योजनाको बारेमा सुने। उनी भन्छिन्,‘सुरक्षाकर्मीले मलाई जेल सेलबाट हात बाहिर निकाल्न भन्यो। चाबीको एक रिंगले उसले मेरो हातमा हिर्काउन थाल्यो र मेरो हात नसुनेसम्म हिर्काइरह्यो। मेरो हात पूरै नीलो भयो। म रुन चाहान्न थें। देश छाडेर जाने प्रयास गर्दा यी सुरक्षाकर्मीले हामीलाई देशद्रोही ठाने। सेलको करिडोर उस्तै थियो ,त्यसैले अर्को सेलका कैदीलाई पिटेको आवाज पनि सुनियो। म तीन नम्बर सेलमा थिएँ । तर, १० नम्बर सेलका कैदीको कुटपिट पनि सुनिन्थ्यो।’

उत्तर कोरिया यतिबेला विश्वबाट पूर्णतया एक्लिएको छ। पहिलो पटक यो देश संसारबाट यसरी विच्छेद भएको हो। किम जोङ उन परिवारले तीन पुस्तादेखि उत्तर कोरियामा शासन गर्दै आएको छ। यहाँका नागरिकहरूले किम परिवार र वर्तमान नेता किम जोङ उनप्रति आफ्नो निष्ठा व्यक्त गर्नुपर्छ।

कोरोना महामारीको संकटका कारण देशभित्र र सीमा क्षेत्रमा किम परिवारको नियन्त्रण निकै मजबुत भएको छ। बाहिरी संसार झल्काउने प्रयास गर्ने, विदेशी नाटक र सिनेमा हेर्नेलाई समेत कडा सजायको व्यवस्था छ। 

कारागारभित्रको हिंसाको व्यवस्थाबारे हरेक केन्द्र र हरेक साक्षीबाट यस्तै अनुभव सुनिएको छ। जेलभित्रै बलात्कार र अन्य यौन दुर्व्यवहारको धेरै आरोप पनि छन्। पीडितहरूले कोरिया फ्यूचरलाई आफू कैदमा रहँदा जबरजस्ती गर्भपतन गराउनुपरेको बताउँछन्।

उत्तर कोरियाको यस्तै नर्थ हेमग्याङ प्रान्तीय होल्डिङ सेन्टरका प्रत्यक्षदर्शीले त्यहाँ आठ महिनाकी गर्भवती महिलाको जबरजस्ती गर्भपतन गरिएको बताए। प्रत्यक्षदर्शीका अनुसार जन्मेका बच्चालाई नालाबाट बगाइएको थियो । यसबाहेक प्रत्यक्षदर्शीले पाँच जनालाई झुण्डिएको पनि बताएका छन्।

एनजीओ कोरिया फ्युचरले उत्तर कोरियाको जेलमा रहेका अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनका घटनाहरूको विस्तृत अनुसन्धान गरेको छ। यो समूहले ली योङ जू सहित २ सयभन्दा बढी व्यक्तिको अनुभव संकलन गरेको छ।

गैरसरकारी संस्थाले १४८ दण्ड केन्द्रमा ७ सय ८५ थुनुवाविरुद्ध मानवअधिकार उल्लङ्घनका ५ हजार १८१ मुद्दा दर्ता गरेको छ भने ५ सय ९७ अपराधी पहिचान गरेको छ।

यी घटनामा प्रमाण पेस गरिएको छ। उत्तर कोरियाले मानवअधिकार उल्लङ्घनका घटनाहरूलाई सधैं अस्वीकार गर्दै आएको छ। कोरिया फ्युचरले ओनसोङ डिटेन्सन सेन्टरको थ्रीडी मोडल पनि तयार गरेको छ, जसलाई हेरेर त्यहाँको अवस्थाबारे मानिसहरूले अनुमान लगाउन सक्छन्।

कोरिया फ्युचर, सियोलका सह(निर्देशक सुन यूले भने,‘उत्तर कोरियाको जेलमा सजाय र हिंसाबाट २ करोड ५० लाख मानिसलाई उत्पीडन गरिएको छ। हामीले अन्तर्वार्ता लिएका हरेक व्यक्तिले आफूले रिपोर्ट गरेको भयानक मानवीय दुर्व्यवहारको खुलासा गरेका छन्। एक महिला आफ्नो अगाडि नवजात शिशुको हत्या भएको बताउँदै उनी रुन थालिन्।’

प्रतिक्रिया