थाहा छ, राम्रो गर्दा पनि किन अपजस आउँछ ?

प्रश्न आएको छ, जे गर्यो उल्टो मात्रै हुन्छ । आफूले चाहिँ राम्रो गर्याे, सबैको राम्रो होस् भनेर गर्यो । मानिसहरुबाट उल्टो प्रतिक्रिया आउँछ । परिवारमा त्यस्तै हुन्छ । इष्टमित्र र साथीभाइले पनि त्यस्तै गर्छन् । सबैमा त्यस्तै हुन्छ, आफूले चाहिँ सहयोग गर्यो, सबैको उन्नति होस्, राम्रै होस्, भलाइ होस् भनेर काम गर्याे । प्रतिक्रिया चाहिँ विपरीत आउँछ । किन यस्तो हुन्छ होला ?

किन यस्तो हुन्छ ? हामीले अपेक्षा गरेका छौं, राम्रो आओस् भन्ने अपेक्षा छ । आफूले राम्रो गर्ने हो । गरियो । सक्किहाल्यो नि । हाम्रो काम सबैको भलाइ होस्, उन्नति होस्, राम्रो होस् भनी त्यसको कामना गर्ने र त्यहीअनुसार व्यवहार गर्ने हो । अब त्यसको प्रतिक्रियास्वरुप तैंले राम्रो गरिस् है भनेर हाम्रो प्रशंसा गर्ने यो उसको कुरा हो । अब गर्नुपर्ने मानिसले प्रशंसा गर्न पनि सक्छ, नगर्न पनि सक्छ ।

प्रशंसा गर्न पनि सक्छ । दोष लगाउन पनि सक्छ । यो उसको कुरा हो । अरुको हातको कुरा हामीले केही गर्न सक्दैनौं । उसको कर्म उसको हातमा छ, मेरो कर्म मेरो हातमा छ । आफ्नो काममा रमाउनुचाहिँ सुखको आधार हो । अरुबाट अपेक्षा गर्नु दुःखको कारण हो । कुनै पनि अपेक्षा राखेर कर्म गर्यौं कि दुःखी हुन्छौं । कसैले इज्जत गर्ला कि, कसैले प्रशंसा गर्ला कि भनेर काम गरेको थियो, गरेन भने दुःखी हुनुपर्यो ।

हामीले सेवा गरेकै थिएन । आफ्नो स्वार्थको लागि काम गरेका थियौं, त्यसकारण दुःखी भयौं । आफ्नो स्वार्थअनुसारको प्रतिक्रिया आएन, त्यसपछि दुःखी भयौं । आफ्नो कर्तव्य पूरा गरौं, अरुको कर्तव्य पूरा गर्याे गरेन, त्यो उसको कुरा हो । 

आफ्नो कुरा गरौं । सबै दुःखबाट मुक्त होइन्छ । राम्रो गर्दैमा सबैतिरबाट राम्रै परिणाम आउँछ भन्ने छैन । 

कहिलेकाहीँ राम्रो गर्दाखेरि पनि अपजसहरु आउँछन् । 

मैले सुनेको थिएँ, एकजना व्यक्ति अति नै गरीब थिए । खाने लाउने व्यवस्था थिएन । काम गर्नको लागि शरीर पनि सक्षम थिएन । अनि मागेर अरुले जे दिन्छन्, त्यसैबाट गुजारा गथ्र्यो । जुठो–चोखो केही मतलब थिएन । भोक लागेको बेलामा कसैले फालेका जुठा खानेकुराहरु पनि खान्थ्यो । जीवन कष्टकर थियो । 

एकदिन कसैले भगवान्को विषयमा कुरा गरेको सुन्यो । भगवान् बडो दयालु हुनुहुन्छ । भगवान्ले सबैको हित गर्नुहुन्छ । भगवान् अन्तर्यामी हुनुहुन्छ र परेको बेलामा भगवान्ले मद्दत गर्नुहुन्छ । खाली भगवान्लाई पुकाराचाहिँ गर्नुपर्छ । प्रार्थना गर्नुपर्छ । ईश्वर छन् भनेर प्रार्थना गर्यो भने सबै आवश्यकताहरु पूर्ति हुन्छन् । जीवन सहज हुन्छ र यो सहज गराउने भगवान्को नाम हो– कृष्ण । भगवान् कृष्णको आराधना गर्ने मानिस दुःखी   हुँदैन । वृन्दावन निवासी भगवान् कृष्णको याद गर, सबै प्रकारका दुःख कष्टबाट मुक्त होऊ । यो सन्देश उहाँले सुन्नुहुन्छ । 

अब अर्को कठिनाइ आयो, भगवान्लाई सबै प्रकारका दुःख त सुनाउने । आराधना पनि गरौंला, भगवान्सँग पुकारा पनि गरौंला, माग गरौंला, तर भगवान्सम्म पुग्नुपर्यो नि । भगवान् त गोकुलमा रहेछन्, वृन्दावनमा रहेछन् । अब वृन्दावनसम्म जानलाई भाडा चाहियो, पैसा चाहियो । अब कसले भाडा हालिदिने र गोकुल, वृन्दावनसम्म पुर्याइदिने ? अब गाह्रो भयो । अनि उसले एउटा उपाय निकाल्यो र भगवान्लाई चिठ्ठी लेख्यो । 

भगवान्लाई चिठ्ठी लेखौं चिठ्ठीको त धेरै पैसा पर्दैन । हवाईपत्र पच्चीस पैसा, पचास पैसामा आउँछ । त्यसैले चिठ्ठी लेख्छुु भन्ने सोचेर उसले एउटा चिठ्ठी लेख्यो र पत्र हुलाकमा हालिदियो ।

चिठ्ठी कार्यालयमा आएपछि हुलाकका कर्मचारीहरु, जसले चिठ्ठी छनौट गरे । कहाँ–कहाँ पठाउने हो, ठेगाना आउनासाथ छुट्याए, कति कुन देशको होला, कति कुन जिल्लाको होला, सबैतिरका पत्रहरु छुट्याउँदै थिए । त्यसमध्ये एउटा पत्र हेरे । ठेगाना देखेर अनौठो लाग्यो । 

ठेगाना लेखेको थियो भगवान् श्रीकृष्ण । भगवान् श्रीकृष्ण, कृष्णकन्हैया गोकुल, वृन्दावन, इन्डिया, भारत ठेगाना थियो । अब यो वृन्दावनमा कुन भगवान् कहाँ लैजाने ? भगवान् कृष्ण भनेका छन् । भगवान् श्रीकृष्ण, वृन्दावन निवासी । चिठ्ठी अब कहाँ लैजाने ? कस्तो उट्पट्याङ प्रकारको चिठ्ठी आयो । यसमा के लेखेको रहेछ खोलेर हेर्नुपर्यो ? भगवान्को ठेगानामा ? कहाँ लगिदिने भगवान्को त ठेगाना छैन ? हुलाकका कर्मचारीले चिठ्ठी खोलेर हेरे । चिठ्ठी पढे, बडो मार्मिक थियो । चिठ्ठीमा लेखिएको थियो–

भगवान् श्रीकृष्ण कन्हैया
वृन्दावन निवासी 

प्रभू, म साह्रै दुःखी छु । बिहान–बेलुका खान पनि मलाई पुग्दैन । मागेर खाइराखेको छु र माग्दाखेरि पनि पेटभरि खान पाएको छैन । अरुले खाएर फालेको जुठो खानेकुरा खाएर जीवन धानेको छु । भगवान् तपाईं त अन्तर्यामी हुनुहुन्छ । तपाईंलाई सबै थाहा छ रे । मेरो दुःख पनि थाहा होला । मद्दत गर्नुपर्याे प्रभू, अलिकति सहयोग गर्नुभयो भने केही दिन म आरामसँग बस्न सक्छु, खान सक्छु । केही दिनको गुजारा चल्छ । भगवान् अब धेरै त के मागौं, दुई सय रुपैयाँ पठाइदिनुस् । त्यति भए पनि केही दिनलाई काम चल्छ । तपाईंसँग पनि पैसा छ कि छैन । गाह्रो, साँघुरो सबैलाई उस्तै हो । यदि मिल्छ भने भगवान् धेरै हैन, दुई सय रुपैयाँ पठाइदिनुहोला । मेरो ठेगाना यो हो । यो यो ठेगानामा पठाइदिनुस् । म पैसा प्राप्त गर्छु । 

कर्मचारीहरुले हेरे । चिठ्ठी हेर्दा दया लाग्यो । चिठ्ठी पढेर कर्मचारीहरुलाई दया लाग्यो । भगवान्सँग विचरा दुई सय रुपैयाँ मागेको छ । त्यहाँ जति पनि कर्मचारी थिए, सबैले दश–बीस रुपैयाँ जम्मा गरे । सबैको पैसा जम्मा गर्दा एक सय ६० भएछ । ल यही पठाइदिउँ न त, जति भयो त्यति पठाइदिउँ भने । अनि उनीहरुले एक सय ६० रुपैयाँ त्यो ठेगानामा पठाइदिए । दुई महिनापछि उही ठेगानामा अर्को चिठ्ठी आयो । फेरि हुलाकका कर्मचारीले खोलेर हेरे ।

चिठ्ठीमा लेखिएको थियो–

भगवान्, 

धेरै–धेरै धन्यवाद । तपार्ईंले पैसा पठाइदिनुभयो । राम्रोसँग केही समय पेटभरि खान पाएँ । धेरै खुसी लाग्यो भगवान् । तपाईंलाई धेरै–धेरै धन्यवाद । तर भगवान् अर्कोपटक पैसा पठाउँदाचाहिँ हुलाकबाट नपठाऊँ । अर्कै कुनै माध्यमबाट पठाउँ । भगवान्, तपार्इंसँग मैले दुई सय रुपैयाँ मागेको थिएँ । तपाईंले त दुई सय रुपैयाँ पठाएको पनि होला । ती हुलाकका कर्मचारी चोर, ४० रुपैयाँ खाइदिएछन्, एक सय ६० रुपैयाँ मात्र पठाएछन् । त्यसकारण भगवान् अब पैसा पठाउँदा बैंकबाट पठाऊँ । 

सबै काम गरेर राम्रै परिणाम आउँछ भन्ने जरुरी छैन । कहिलेकाहीँ राम्रो गर्दा नराम्रो पनि आउँछ । राम्रोको अपेक्षा गर्यौं भने चाहिँ दुःखतिर जान्छौं । जस्तोसुकै आओस् न, आफूले सहयोग गर्ने हो । सहयोग गर्नु आफ्नो कर्तव्य हो । आफूले गरियो भइहाल्यो नि । आउने प्रतिक्रिया त कहिले राम्रा आउँछन्, कहिले नराम्रा आउँछन् । बुझ्ने मानिसले कसरी बुझ्छ, त्यसमा भरपर्छ । बुझाउन पनि सक्नुपर्यो नि । बुझ्ने मानिससँग बुझ्ने सामथ्र्य पनि हुनुपर्यो । सबै मानिससँग बुझ्ने सामथ्र्य पनि हुँदैन र हामीले बुझाउन सकेका पनि हुँदैनौं ।

त्यसकारण नकारात्मक प्रतिक्रियाहरु आउँछन् । हामीले गरेको भन्दा फरक व्यवहार पाउँछौं । तर, यस्ता घटनाहरुबाट अत्ताल्लिनु हुँदैन । आफ्नो कर्तव्यमा स्थिर रहनुपर्छ । आफ्ले अरुको जे–जसरी सेवा, मद्दत गरेको थियो, अरुको कल्याणका लागि काम गरेको थियो, त्यसलाई निरन्तरता दिनु बुद्धिमानी हुन्छ । किनभने यसले सुख लिएर आउँछ । आफूले कसैलाई मद्दत गर्दाखेरि मनमा सन्तुष्टि हुन्छ । मन तृप्त हुन्छ । आनन्द आउँछ, परिणाम त्यही हो । 

उसबाट फेरि परिणाम खोज्नु यो बुद्धिमानी होइन । कसैको पनि सेवा गर्याे कि मजा आउँछ । कुनै मानिस दुःखमा छ, दुःखबाट मुक्त गराउन सकियो भने त्यत्तिकै आनन्द आउँछ, आइहाल्यो नि, परिणाम त्यही नै हो । मद्दत गर्दागर्दै जुन आनन्द आउँछ त्यही परिणाम हो । अर्को परिणाम खोज्यौं भने हामी फेरि दुःखतिर जान्छौं । हाम्रा ऋषिहरु ‘सेवा हि परमो धर्मः’ भन्नुहुन्छ । सेवा गर्नु, परोपकार गर्नु नै सबैभन्दा ठूलो धर्म हो । सेवा नै शान्तिको मूल, सेवा नै सुखसागर, सेवा नै प्रभूको पूजा, सेवा नै भवतारक । 

सेवाबाट के हुँदैन ? सबै कुरा हुन्छ । तर, सेवाबाट अपेक्षा गर्यौं भनेचाहिँ यो सेवा भएन । यो चाहिँ व्यापार हो । व्यापारबाट त सुख–दुःख दुईटै आउँछ । किनभने व्यापारमा घाटा–नाफा हुन्छ नि । व्यापार गरेपछि सबै नाफै हुन्छ भन्ने जरुरी छैन । कहिलेकाहीँ घाटा पनि हुन्छ । सेवा व्यापार होइन । 

मैले सेवा गरेँ, त्यसबापत उसबाट मैले सम्मान पाउनुपर्छ । प्रशंसा पाउनुपर्छ । इज्जत पाउनुपर्छ भनेर अपेक्षा गर्यौं भने यो व्यापार हो । यो आशा गर्नु नै व्यापार हो । व्यापारमा त घाटानाफा हुन्छ । कहिले इज्जत पाइन्छ, कहिले बेइज्जत पाइन्छ । दुईटै कुरा हुन्छ । तर, सेवामा अपेक्षा नै हुँदैन । पाउने आशा नै हुँदैन । आशा नभएको ठाउँमा केको दुःख ? यहाँ न मान रह्यो न अपमान रह्यो । केहीको पनि अपेक्षा थिएन । मैले सेवा गरेँ, वश् सिद्धियो । 

यो सेवाको प्रतीकात्मक रुपमा हाम्रा ऋषिहरुले यज्ञको निर्माण गरे । यज्ञ गरिन्छ, होम गरिन्छ, होम गर्दाखेरि चरु बनाएको हुन्छ, अन्न हुन्छ, घिउ हुन्छ, चरु होमिन्छ– अग्निमा स्वाहा । अब अग्निमा होमिसकेपछि केही फिर्ता आउँछ र ? अब त्यो त खरानी भयो । केही काम लाग्दैन । यसैगरी मैले गरेका सबै कर्महरुलाई चरु बनाउनुपर्छ– स्वाहा । 

जे काम गरेँ– स्वाहा । चरु होमिदिने । यो प्रतीकात्मक रुपमा बनाइएको हो । यज्ञ, होम गर्ने विधि– होम गर्दादेखि तिल, जौ, चामल, घिउको मात्र होम गरेर केही अर्थ छैन । यो प्रतीकात्मक हो । यसको सही अर्थ हामीले जीवनका गरेका राम्रा–नराम्रा सबै कर्महरु– स्वाहा । यसरी होम गर्ने । कुनै पनि प्रकारको अपेक्षा नराख्ने । उधारो नराख्ने । जे छ चढाइदिएँ । आफू निर्भार रहने । कुनै भारी छैन । जे–जति कमाइ गरेको हो, सबै अग्निमा होमिदिएँ । अब केही फिर्तै आउँदैन । आगोले त सबै जलाएर नष्ट गर्छ । खरानी बनाइदिन्छ । केही बाँकी छैन । आफूले गरेको कर्म केही बाँकी नै छैन । शेष बचेन भने अब केको अपेक्षा ? 

यसलाई सेवा भनिन्छ । अपेक्षा राख्यो कि दुःख हुन्छ । आफ्ना कर्महरुलाई, आफ्ना सेवाहरुलाई चरु बनायो भने सुख हुन्छ । होम गरिदियो भने सुख हुन्छ । 

हामी सबैलाई पनि अरुको हितमा कर्म गर्ने र अरुको हितमा गरिएका सबै कर्महरु ‘स्वाहा’ गर्ने अवसर मिलोस् । कुनै पनि प्रकारको अपेक्षा नराख्ने अवसर प्राप्त होस् ।  (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा ध्यान विशेषज्ञ रमेश नेपालको प्रवचनमा आधारित) 
 

प्रतिक्रिया