प्राथमिक कक्षा नछिचोलेका २० महाकाव्यका स्रष्टा

भनिन्छ शिक्षा र ज्ञान आफैंमा एउटा अनन्त सागर हो । पुस्तकका पानाहरूमा सीमित कुराहरू मात्र शिक्षा वा ज्ञान मानिंदैन । शिक्षालाई कुनै सीमामा बाँध्नु सम्भव छैन । हरेक व्यक्तिमा रहेको ज्ञान महत्वपूर्ण हुन्छ । यसलाई अभिव्यक्त गर्न आफैंभन्दा ठूलो कुनै शिक्षालय हुँदैन ।

यस्तै उदाहरण बनेका छन् एक व्यक्ति छन्, जसले कुनै औपचारिक शिक्षा लिएका छैनन् तर आफूभित्र रहेको जन्मजात ज्ञानलाई लेखनको माध्यमबाट आश्चर्यचकित बनाउने प्रतिभाका रुपमा प्रस्तुत गरेका छन् । तीन कक्षाभन्दा बढी पढ्न नपाए पनि उनको जीवन शैली र सिर्जनाबारे अनेक शोध र अनुसन्धान भएका छन् ।

उनको प्रतिभाको कदर गर्दै सन् २०१६ मा भारतका पूर्वराष्ट्रपति प्रणव मृुखर्जीले राष्ट्रपति भवनमा आयोजित भारतकै सर्वोच्च नागरिक सम्मान पद्मश्री पुरस्कार प्रदान गरेका थिए । यस्ता प्रतिभाशाली व्यक्तित्व हुन्– भारत उडिसाका ६६ वर्षीय कवि हलधर नाग ।

उनको सिर्जनाले ज्ञान पुस्तकका पानाहरुमा मात्र सीमित हुँदैन भन्ने प्रष्ट्याएको छ । हलधर नाग कौसली भाषाका कविका रुपमा प्रख्यात छन् । उनले दर्जनौं कवितामात्र होइन २० वटा महाकाव्य समेत लेखिसकेका छन् । र, रमाइलो के छ भने आफूले लेखेका सबैजसो कृतिका एक–एक अक्षर कण्ठस्थ पनि छ । सम्बलपुर विश्वविद्यालयमा उनको सिर्जना ‘हलधर ग्रन्थावली २’ लाई पाठ्यक्रममै समावेश गरिएको छ । 

हलधर विपन्न परिवारमा जन्मेका कमजोर आर्थिक अवस्थाका कारण उनले तीन कक्षासम्म मात्र पढ्न पाएका थिए । प्राथमिक शिक्षा नै छिचोल्न नपाएका उनैमाथि हालसम्म पाँचजना शोधकर्ताले अनुसन्धान गरेर विद्यावारिधि (पिएचडी) गरिसकेका छन् ।

उडिसाको बाडगढ जिल्लामा जन्मेका उनले १० वर्षको उमेरमै पिता गुमाएका थिए । पिताको देहावसानपछि परिवारकै जिम्मेवारी उनको काँधमा आइपरेकाले थप पढाइ गर्न पाएनन् । पढाइ छाडेर उनले गाउँकै एउटा मिठाइ पसलमा भाँडा सफा गर्ने काम गर्न थाले । यो देखेर गाउँका एक अग्रजले उनलाई पढ्नुपर्छ भनेर हाइस्कुलमा लगिदिए । तर उनले त्यहाँ अध्ययनको साटो भान्सा सम्हालेका थिए । १६ वर्षसम्म उनले त्यही स्कुलको भान्सामा खाना/खाजा पकाउने काम गरे ।

यसबीच उनले सन् १९९० मा पहिलो कविता रचना गरेका थिए । ‘धोडो बरगच’ (द ओल्ड बनयान ट्री) शीर्षक उनको त्यो कविता स्थानीय पत्रिकामा प्रकाशनका लागि पठाए । त्यसपछि लेखेका अरु चारवटा कविता पनि उनले पत्रिकामा पठाए । उनका रचना छापिएपछि चर्चा हुन थाल्यो । धेरै पाठकले प्रशंसा गरे । त्यसपछि झन् उत्साहित बनेका उनले लगातार कविता र काव्यहरु लेख्दै गए । जति लेखे चर्चा उति नै बढी हुँदै गयो ।

उडिसामा लोक कवि रत्न नामबाट प्रसिद्ध हधरका कविताका विषय प्रकृति, समाज, पौराणिक कथा अनि धर्ममा आधारित हुन्छन् । समाजमा व्याप्त कुरितिमाथि कडा व्यंग्य हुन्थ्यो । यसैकारण पनि उनका रचनाले धेरैलाई तानेको थियो । ‘युवा वर्ग कौसली भाषामा लेखिएको कवितामा रुचि राख्छन् भन्ने कुराले खुसी लागेको छ’ उनले भनेका छन्, ‘कविता वास्तविक जीवनसँग जोडिएको अनि सामाजिक सन्देशले भरिपूर्ण भएको   हुनुपर्छ ।’

जे लेख्छन् त्यो कण्ठै हुने उनको बेग्लै विशेषता झन् लोकप्रिय छ । कसैले कविताको शीर्षक र विषयवस्तु मात्रै बताइदिए उनी खरर सुनाइदिन्छन् । पछिल्लो समय उनले दिनमा तीन–चार स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी भएर आफ्ना रचना सुनाउने गरेका छन् ।

सादा जीवन उच्च विचार भन्ने भनाइ उनैलाई हेरेर बनेको हरधरसँग साक्षात्कार हुनेहरुले अनुभव गर्न सक्छन् । उनले हालसम्म खुट्टामा जुत्ता÷चप्पल लगाएका छैनन् । सेतो धोती र गन्जी उनको पहिचान बनेको छ । उनको भनाइमा योभन्दा बढी अरु केही आवश्यकता पनि छैन । आफ्नो प्रतिभामा विश्वास गरेर त्यसलाई अझ विकसित बनाउने ध्याउन्नमा रहेका उनले आफैंभित्र रहेको प्रतिभालाई केवल आफ्नै मेहनतमा प्रष्फुटन गरेका छन् ।

‘यो मेरालागि निकै सम्मानको कुरा हो’ पद्मश्री पुरस्कार पाएपछि उनले भनेका छन् ‘यसले मलाई अझै बढी लेख्न प्रेरित गरेको छ ।’   
–तस्बिर समेत केनफोलिओज अनलाइनबाट

प्रतिक्रिया