धरानमा मेरो दोस्रो बिहे भएपछि म पहाड गएको थिइनँ। धरानमा मन पराएर आफूखुशी नेवार्नी ठिटी बिहे गरेको थिएँ। पहाडमा अर्की श्रीमती छँदै थिइन्। मैले दोस्रो बिहे गरेको खबर त घरमा पुगिसकेको थियो तर बुबाआमासँग भेट भएको थिएन।
२०१७ साल फागुनमा बिहे भएको थियो, पछि दशैँमा घर गएँ तर एक्लै। नेवारकी छोरी बिहे गरेकोमा घरमा मात्रै होइन गाउँमा पनि खैलाबैला थियो। कति छरछिमेकीले त हाम्रो घरको पानी काढ्ने (हाम्रो घरमा नखाने) सम्म पनि भनेका थिए रे! त्यस्तो गाइँगुइँ गरे पनि पानी काढिहाल्ने आँट गरेनन् क्यार! म पुगेपछि सोधीखोजी गरे तर नराम्रो केही भनेनन्।
बुबाले अलिक चित्त दुखाएको जस्तो बुझेँ तर मलाई दुःखी तुल्याउनु भएन। सोधपुछ गर्नुभयो, केटीको माइतीबारे खोजी गर्नुभयो। मलाई सजिलो के भयो भने अघिल्लो पटक धरान जाँदा बुबाले केटी देख्नुभएको थियो। म उनीहरुको होटलमा खाना खाने भएकाले बुबाले पनि केटी देख्ने मौका परेको थियो तर त्यो केटी म बिहे नै गर्छु भन्नेचाहिँ उहाँले सोच्नुभएको थिएन। मैले पनि यस्तो कुनै सङ्केत गरेको थिइनँ। म काममा लागिसकेको र दुईचार रुपियाँ कमाउन थालेको बुबाले देख्नुभएको थियो। शायद बुबालाई लाग्यो, नल्याउनु ल्याइहाल्यो दुइटी श्रीमती पालिहाल्छ, किन उसको चित्त दुखाइदिऊँ!
आमा भने अलिक चिन्तितजस्तो देखिनुहुन्थ्यो। दुइटा परिवार (दुई श्रीमती) हुनु दुःख पाउनु हो भन्ने उहाँले बुझ्नुभएको थियो। चित्त दुखाएजस्तो गरेर मलाई अन्यथा त केही भन्नुभएन तर ‘एउटा थाप्लामा दुइटा नाम्लो हालिस् छोरा! अब बुद्धि पु¥याएर गरी खाएस्’ भन्नुभयो। मैले आमाको सामुन्ने मुसुक्क हाँसेर टार्नु नै बुद्धिमानी ठानेँ।
बुबा केही बिमारी हुनुहुन्थ्यो। आराम हुँदै गएपछि उहाँकै अनुमतिमा म धरान फर्कें तर लगत्तै मङ्सिरमा बुबा स्वर्गे हुनुभयो। बुबा स्वर्गे भएपछि म काजकिरियाका लागि पहाड गएँ। बुबा मैले धरानमा बिहे गरेकी बुहारी नहेरी बिदा हुनुभयो। बुबाको काजकिरिया सकेर धरान फर्केको म त्यसको २५ वर्षपछि आमाको वार्षिक तिथिमा मात्रै पहाड घर पुगेँ।
बुबा स्वर्गे भएको ठीक दुई वर्षपछि २०२० साल मङ्सिरमा पहाडबाट आमाले मेरी जेठी श्रीमती नैनकलालाई धरान पु¥याइदिनुभएको थियो।
पहाडकी बासिन्दा मेरी आमामा उतैको गाउँलेपन थियो। धरानमा शहरिया ढाँचा–ढर्रा थियो। आमा यसै पनि विधवा हुनुहुन्थ्यो, उहाँको शरीरमा गहना थिएन। सासूआमाले मिठूलाई भन्नुभएछ– बुहारीहरु राम्रा हुने, राम्रा लुगा र गहना लगाउने अनि सासूलाई चाहिँ बुच्चै राख्ने? यस्तो गर्न सुहाउँदैन, राम्रा लुगा किनिदिनू, गहना किनिदिनू र खुशी पारेर पठाउनू। सासूआमाले यस्तै कुरा मलाई पनि भन्नुभयो। सम्धिनीको व्यवहारले मेरी आमा निकै प्रभावित हुनुभयो। नेवारकी छोरीलाई बुहारी मान्नु परेकोमा उहाँमा भित्र कतै थोरै खिन्नता थियो तर सम्धिनीको सरल र समझदार व्यवहारका कारण उहाँमा त्यो खिन्नता समाप्त भएको थियो। मेरी आमाले मिठूलाई पनि आफूले बिहे गरिदिएकी बुहारीसरह स्वीकार गर्नुभयो, आफ्नो जीवनभर कुनै भेदभाव गर्नुभएन।
हामी तुरून्तै बजार गयौँ र आमालाई दुबै हातमा सुनका चुरा, औँलामा औँठी, कानमा मुन्द्रा बनाइदियौँ। लुगा किनिदियौँ। कान्छाभाइ केदारले गलामा लगाउने नौगेडी बनाइदिए। आमाले हामीसँग यसरी गहना र लुगाका लागि कुनै चाहना देखाउनुभएको थिएन तर छोराबुहारीले खुशीले किनिदिएकोमा प्रसन्न हुनुभयो। गहनाहरु तयार भएपछि बुहारीहरुले लगाइदिए । आमामा अपार खुशी छचल्कियो। आमालाई देखेर हामी पनि गद्गद् भयौँ। सम्धिनी चिटिक्क परेको देखेर मेरी सासूआमा पनि खुशी देखिनुभयो।
यति खुशीका बीच पनि आमाको मनमा एउटा चिन्ता थियो– कतै सौता–सौता (दुई बुहारी) झगडा पो गर्ने हुन् कि! केही नराम्रो पो हुने हो कि! मेरो अर्को कुरा पनि आमाले थाहा पाउनुभयो। म दिनभरि गाडी चलाउँथे र थकान मेट्ने बहानामा राति रक्सी खान्थेँ। धेरै रक्सी खाएर मात्ने बानी थिएन, म ठीकठाक अवस्थामै हुन्थेँ तर एक किसिमले आदत लागिसकेको थियो। बेलुका गाडी थन्क्याएपछि रक्सी खाने गरेको थिएँ।
यसरी रक्सी खाएको आमालाई चित्त बुझ्ने कुरै थिएन। स्वाभाविकरूपमा मसँग गुनासो गर्नुभयो। रक्सी खाने बानीले परिवार बिग्रन्छ कि! रक्सी नै परिवारमा झगडा र विनाशको बिउ हुन्छ कि भन्ने आमाको चिन्ता स्वाभाविक थियो। एकदिन भन्नुभयो– एउटा थाप्लामा दुइटा नाम्ला छन् बाबू! रक्सीले बित्याँस पार्ला, घर झगडा गराउला! विचार गरेस्, धेरै नखानू, नमात्नू, बाटामा नलड्नू ।
आमाको अर्ती लाग्यो । मैले रक्सी त खाएँ तर थोरै। घर झगडा भएन, सौता–सौता मिलेरै बसे, रक्सीले मातेर लड्दै हिडिनँ । धन्य! मेरी आमा! उहाँको आशीर्वादले हामीमाथि ईश्वरको कृपा परेकै छ । लेखान्त त कसले टार्न सक्छ र!
(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए। असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले। अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो। वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ। टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन्।
पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो। पन्ध्र वर्षमा स्कुल भर्ना भए। चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे। सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे। ट्रक व्यवसायीहरूको सङ्गठन बनाए।
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ। आज शृङ्खलाको नवौं अङ्क प्रस्तुत गरेका छौँ।)
प्रतिक्रिया