प्रदर्शन रोक्न श्रीलंकामा आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू

काठमाडौं– श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागू लगाएको छ। सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू गरेको हो।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ। यसले गर्दा प्रदर्शन हुँदै आएको छ। सरकारले राष्ट्रिय आपतकाल लागू गरेको छ। र, प्रदर्शनलाई नियन्त्रणमा राख्न कर्फ्यू पनि लागू गरेको छ।

गएको बिहीबार प्रदर्शनकारीले राष्ट्रपति गोटाबय राजपाक्षेको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले ४५ जनालाई पक्राउ गरेको थियो। यस्तै, एक जना गम्भीर घाइते भएको जनाइएको छ। 

त्यसपछि आपतकाल लागू भएको थियो । आपतकालका बाबजुद प्रदर्शन नियन्त्रणमा राख्न नसकेपछि कर्फ्यू लागू गरिएको हो । शहरमा सेना परिचालन गरिएको छ। अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको छ।

ऋणको बोझमा दबिएको २.२ करोड जनसंख्या भएको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। खानेकुराको बढ्दो दाम र यसको कमीका कारण मानिसहरुको अवस्था बेहाल छ। 

श्रीलंकाले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ। मार्च ८ देखि अमेरिकी डलरविरुद्ध श्रीलंकाली मुद्राको वैधानिक तरलता अनुपात झन्डै ९० अंकले अवमूल्यन भएको छ। 

प्रतिक्रिया