पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धकाे अविश्वासको प्रस्तावमाथि मतदान हुँदै

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुँदैछ। 

उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि नेसनल एसेम्ब्लीमा मतदान हुन लागेको हो। अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ।

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो। गठबन्धनका केही सांसदहरु प्रधानमन्त्री खानको विपक्षमा उभिएका छन्। त्यस्तै, पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए।

यता, प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु अन्तिम बलसम्म संघर्ष गरिरहने बताउँदै आएका छन्। उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपीलसमेत गरेका थिए।

अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले आफ्नाे कार्यकाल पूरा गरेका छैनन्। खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।
 

प्रतिक्रिया