कोलम्बोको सडकमा प्रहरी र सेनाको सुरक्षा

काठमाडौं– श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। र, जनताले यस संकटलाई पार गर्न सरकारले चालेको कदमको विरोध गरिरहेका छन्। श्रीलंकामा कर्फ्यू लागू छ तर धेरै शहरहरूमा जनताले कर्फ्यू उल्लंघन गरेका छन् र सडकमा उत्रिएका छन्।

राजधानी कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही घण्टा झडप भएको थियो, पछि भीड शान्तिपूर्ण रूपमा तितरबितर भएको थियो। तर, क्यान्डी शहरमा प्रहरीले विद्यार्थीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिक शुक्रबार झडप भएपछि ३६ घण्टाको कर्फ्यू लगाइएको छ। सडक, पार्क र समुद्र किनारमा निस्कन प्रतिबन्ध छ। अधिकारीहरूबाट लिखित अनुमति लिएको खण्डमा मात्रै यस्ता स्थानमा जानसक्ने व्यवस्था मिलाइएको छ।

सामाजिक सञ्जाल पनि अस्थायी रूपमा अवरुद्ध गरिएको छ। जारी कर्फ्यू सोमबार साँझ ६ बजेसम्म रहनेछ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाको यो सबैभन्दा ठूलो आर्थिक संकट भएको बताइएको छ। यसको प्रमुख कारण इन्धन आयातका लागि आवश्यक पर्ने विदेशी मुद्रामा ठूलो कमी हुनु हो। मुलुक अहिले विद्युत्, खाद्यवस्तु, इन्धन र औषधिको अभावको सामना गरिरहेको छ। यस्तो अवस्थामा सरकारप्रति जनताको आक्रोश छ।

सन् २०१९ मा बहुमतका साथ सत्तामा आएका गोटाबाया राजपाक्षेको लोकप्रियतामा पनि भारी गिरावट आएको छ। निर्वाचनका बेला उनले स्थायित्व र बलियो सरकार बनाउने वाचा गरेका थिए।

आइतबार राजधानी कोलम्बोमा सयौं मानिसहरूले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै जुलुस निकालेका छन्।  सरकारले सामाजिक सञ्जाल  अस्थायी रूपमा अवरुद्ध गरेपछि उनीहरुले जुलुस निकालेका हुन्।

विपक्षी समगी जन बालवेगया (एसजेबी) गठबन्धनका दर्जनौं राजनीतिज्ञ र यसका समर्थकहरू आइतबार कर्फ्यूको अवज्ञा गर्दै डाउनटाउन कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरनजिक भेला भएका थिए। उनीरुहरुले ‘गोटा गो ब्याक होम’  भन्ने नारा लगाएका थिए। 

बढ्दो मुद्रास्फीति, खाद्यान्न अभाव र विद्युत् कटौतीको विरोधमा विपक्षी गठबन्धनले पनि राजधानीको बाहिरी शहरमा र्‍याली निकालेको छ।

कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा प्रदर्शनकारीलाई रोक्न हतियारसहित प्रहरी र सैनिक खटाइएको थियो। 

विपक्षी सांसद हर्ष दा सिल्भाले एएफपी समाचार एजेन्सीलाई भने, ‘जनताले निरंकुश शासन हटाउने मन बनाइसकेका छन् भन्ने महसुस राष्ट्रपति राजापाक्षेले गरेका छन्।’

विद्यार्थीमाथि अश्रुग्यास
क्यान्डी सहरको विश्वविद्यालय नजिकै सयौं प्रदर्शनकारी विद्यार्थीहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो।

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको राष्ट्रपतिका भतिजा नमल राजापाक्षेले नै आलोचना गरेका थिए। उनले लेखेका छन्, ‘म सामाजिक सञ्जाल ब्लक गर्न कहिल्यै राजी हुने छैन। म एक भीपीएन प्रयोग गर्दैछु, यो प्रतिबन्ध पूर्ण रूपमा बेकार छ।’

यसअघि बिहीबार कोलम्बोस्थित राष्ट्रपति राजापाक्षेको घरबाहिर शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन सुरु भएको थियो तर प्रदर्शनकारीहरूका अनुसार प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि स्थिति हिंसात्मक बनेको थियो। सवारीसाधनमा आगो लगाइएको थियो। घटनामा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएको बताइन्छ।

प्रतिक्रिया