श्रीलंकामा चरम राजनीतिक संकट, सबै मन्त्रीले दिए सामूहिक राजीनामा 

काठमाडौं– श्रीलंकाको राजनीतिक संकट अझै गहिरो हुँदै गइरहेको छ। शुक्रबार राष्ट्रपति गोटबाया राजपक्षेंले देशको कमजोर अवस्थाका बीच आपतकाल घोषणा गरेका थिए। यसैबीच आइतबार राति प्रधानमन्त्री महिन्द्रा राजपक्षेंलाई छोडेर पुरै मन्त्रिमण्डलले तत्काल लागू हुने गरी सामूहिक राजीनामा गरेका छन्।

स्थानीय पत्रपत्रिकाका अनुसार श्रीलंकाका २६ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा सुम्पिएका हुन्। मन्त्रीहरूले सामूहिक राजीनामा गर्नुअघि खेलमन्त्री तथा प्रधानमन्त्रीका छोरा नमल राजपक्षेंले राजीनामा गरेका थिए। उनले के कारण राजीनामा गरेका हुन्, यसको जानकारी बाहिर आएको छैन। तर, उनले राजीनामा गरेको १ घण्टापछि अन्य मन्त्रीले पनि राजीनामा पेस गरेको बताइएको छ। 

मन्त्रिमण्डलको राजीनामाको पत्र हाल प्रधानमन्त्रीसँग भएको र आज पत्र राष्ट्रपतिसमक्ष पेस हुनसक्ने सम्भावना छ। स्थानीय पत्रपत्रिकाले केही दिनमा नयाँ मन्त्रिमण्डल गठन हुनसक्ने सम्भावनालाई नकारेका छैनन्।

यसअघि राजधानी कोलम्बोमा आइतबार दिउँसो सरकारविरूद्ध प्रदर्शन भएको थियो, जसमा ६५० भन्दा बढी पक्राउ परेका थिए। श्रीलंकामा आर्थिक संकट चरम अवस्थामा पुगेपछि प्रदर्शनकारी कर्फ्यू तोडेर सरकारविरूद्ध प्रदर्शनमा उत्रिएका थिए।  

श्रीलंकामा हाल सोसल मिडियामाथि सरकारले प्रतिबन्ध लगाएको छ। आइतबारदेखि श्रीलंकामा फेसबुक, ट्वीटर, वाट्सएप र इन्स्टाग्रामसहित सबै सामाजिक सञ्जालको सुविधा बन्द छ। इन्टरनेट नियमन गर्ने संस्था नेटब्लक्सले यसको जानकारी दिएको छ। यस्तै, राजधानी कोलम्बोको प्रमुख सडकमा आर्मी तथा प्रहरीको गस्ती बढाइएको छ।

श्रीलंकामा आर्थिक संकट बढ्दै गएपछि राष्ट्रपतिले शुक्रबार आपतकाल घोषणा गरेका थिए। यसैबीच सरकारले शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३६ घण्टाको लागि कर्फ्यू लगाएको थियो। सरकारद्धारा जारी घोषणामा भनिएको थियो, ‘देशको सुरक्षा र आवश्यक सेवाको आपूर्तिका लागि कर्फ्यू लगाउनु परेको हो।’

शनिबार राजधानी कोलम्बोमा अत्यावश्यक सामाग्री खरिदका लागि सेनाको निगरानीमा पसलहरू केही छिनका लागि खुला गरिएको थियो।

प्रतिक्रिया