पर्दाभित्रको रेल कथा

यसरी सुरु भएको थियो, नेपालको पहिलो रेल 

नेपालमा पछिल्लो समय रेललाई लिएर राजनीति सुरु भएको छ। तर, नेपालमा पहिलो रेल १६ फेब्रुअरी १९२७ अर्थात् आजभन्दा ९५ वर्ष अगाडि नै गुड्न सुरु भइसकेको थियो। श्री ३ महाराज चन्द्र शमशेर राणाको पालामा विशेष ओहोदामा बसेर काम गरेका राममणि आचार्य दीक्षित (आदी) ले आफ्नो डायरीमा यी सबै घटनाको वर्णन गरेका छन्। राममणिका छोरा केशवमणि आदीले पिताजीको यही डायरीलाई पुस्तकको रूपमा ‘पुरानो सम्झना’ मा समावेश गरे। 

नेपाली पाठकलाई देशभित्र गुडेको पहिलो रेलको इतिहास बुझ्न सजिलो होस् भन्ने हेतुले दृश्यटिभीले केशवमणि आदीको यही पुस्तकबाट संशोधित केही अंश प्रकाशन गरेको छ। 

यस्तो छ रेल प्रसंग–

नेपालमा रेल ल्याउनु ठिक होला कि नहोला? तिमीहरूको के राय छ, लेखी जाहेर गर भनि सोधनी भएको थियो। त्यसमा ६ जनाले नेपालमा रेल ल्याउनू हुँदैन भन्ने राय दिएका थिए। ती ६ जनाको नाम थियो– तोयराज जोशी, बाबुराम आचार्य, रामनाथ पाठक, महेन्द्र बहादुर, विश्वेश्वर प्रसाद धिताल र रामबहादुर श्रेष्ठ। 

अबको संसार बदली सकेको छ। नेपाल पनि संसारभित्र रहेको छ। यसबेला पनि सुधार र उन्नति तर्फ नसोझिए, जनता हतास हुँदै देशमा शान्ति हुने छैन। राज्यमा शान्ति भएन भने अनेक थरीका बखेडा खडा हुन थाल्दछन्। 

सबैले त्राहीत्राहीमा मुछिनू पर्नेछ। उन्नति भनेर आफ्नू व्यवस्थालाई नै तोडि अर्काको पछि दगुर्नु मात्र होइन, आफ्नो व्यवस्थालाई पनि थामी अर्काको पनि चाहिनेसम्म लिनु हो। 

हाम्रो नेपालमा आम्दानी पूरा छैन, त्यसैले आम्दानी हुने कुरा बढाउनू नै हाम्रो मूख्य उन्नति ठहर्नु पर्दछ। सर्वसाधारणले पनि काम पाउनू पर्दछ, सरकारको पनि आम्दानी हुनु पर्दछ। त्यसैलाई नै हामीले उन्नति भएको सम्झनु पर्दछ। चटकीको चटक जस्तै गरी उन्नति खोज्नु त्यो भन्दा मुर्खता अर्को हुन सक्दैन। 

श्री ३ महाराजको उदय भएदेखि नै नेपालीले यस्तै उन्नतिका ठाउँ पाइरहेका छन्। नेपालमा हरसाल सानोतिनो सुधार हुँदैछ, भइरहेको पनि छ। धेरै ठाउँमा अस्पताल खोलिए। पुल पनि धेरै ठाउँमा खुलिसके। नहरले पानी पठाएर राम्रै आम्दानी दिने भइरहेको छ। रोपवे खडा भइ माल–ताल ओसार्दै मुलुकलाई पनि फाइदा दिइरहकै छ। सडक टनेलहरू पनि शिलान्यास भइसकेकै छ। यत्रतत्र सडक पनि बन्दो छ। वीरगञ्जदेखि भीमफेदीसम्मको पुरानो राजपथ जीर्णोद्धार भै मोटर चल्ने भएको संसारले देखिरहेका छन्। यही सडकलाई प्रति मील १००० रु लागेको हो। 

शिक्षातर्फ पनि मुलुक सुहाउँदो तरिकालाई समाती सानोतिनो सुधार भइरहेकै छ। अरूको देखासिकी गरी देश काल अवस्था र जनता नहेरी आँखा मिलेर शिक्षा भन्दै दगुर्ने प्रथालाई नेपालले काखी च्यापेको छैन। पाटी पौवाको निर्माण र जीर्णोद्धारतिर पनि यथासम्भव नेपाल चलेकै छ। 

पुलतर्फ पनि लाखौं रूपैयाँ खर्च भइरहेकै छन्। अहिले राजधानीलाई केन्द्रित गर्दै सवै साधन जुटेको छ। त्यसपछि मोफसलको पालो आउनेछ। जुन कुरा पनि पहिलेदेखि नै सोचीसम्झी गरेकोमा पछि खतरा उठाउनु पर्देन। 

खर्चको हकमा र दुनियाको हकमा पनि क्रमशः सबै कुरा भइरहेकै छ। रोम शहर एकै दिनमा बनेको होइन भन्ने कुरा नबुझी दुनिया चटक जस्तै गरी नेपाल बनोस् भन्दा हुन्, त्यो कुरा असम्भव हो। महाराज चन्द्र शमशेर जंगबहादुर राणा देशलाई उठाउने कुरामा चूप लाग्नु भएको थिएन। बाटो बनाउँदा लागेको खर्चको हिसाब ठूलो छ। रोप ल्याउँदा पनि २०–२५ लाख जति खर्च गर्नुभयो। चन्द्र नहरमा पनि उत्ति खर्च भइरहेको छ। शिक्षातर्फ पनि पाठशाला र स्कूलहरूमा प्रशस्त खर्च भएकै हुनुपर्छ।
 
फौजको तालिममा पनि कम खर्च भएको थिएन। यसरी काम गरी बक्सेकोले भाईहरूले पनि बाह्रै महिनाको काम पाइ कतिले आफ्नो जीविका चलाइरहने ठाउँ भएकै छ। यस्तो काम उठाउँदा देशको र त्यस देशका रैतीको पनि भलो हुने हुनाले सरकारबाट यस्ता कुरामा आँखा चिम्लन नभई देश र दुनियाँको भलाईमा लाग्नै पर्छ, नत्र यो महंगी उर्लेको बेलामा मानिसले कसरी निर्वाह गर्नु भन्ने भै, धेरैले रोजगार पाउने भएको यो रेल ल्याउन मञ्जुरी नभएता पनि यसलाई ल्याउनै पर्छ भनि महाराज लागिबक्सेको हो। 

रेल बनाउनलाई धेरै कम्पनिहरूले दर्खास्त हालेका थिए। तापनि कलकत्ताको मार्टीनलाई नै रेल बनाउन लगाउने भन्ने भएको हो। त्यसो हुँदा मार्टीनसँगै मुनसीखानाबाट लेखापढी भइ, सबै कुरा छिनिन लागेपछि प्रतिज्ञापत्रको बेला हुँदा सो प्रतिज्ञापत्रमा सही छाप गर्न र अरू कम्पनीसँगै बाँकी कुरा मिलाउन नेपालबाट सुब्बा यज्ञमणि आदीलाई पठाउने निधो गरिबक्सियो। 

निज यज्ञमणि कलकत्ता पुगेर मार्टीनसँग कुरा मिलाई रेल्वेको मस्यौदा यहाँ पठाइ दिए। संवत् १९८२ साल फागुनको १५ गते (२६ फेब्रुअरी १९२६) पाँच घण्टासम्म टेलिफोनमा छलफल भई सबै कुरा मिल्यो। अब प्रतिज्ञापत्रको मस्यौदा ठिक भयो। सो बमोजिम सबै लेखापढी भइ  सहिछाप गर्न कलकत्ता चलान भयो। कलकत्तामा सहिछाप भएपछि कम्पनीले काममा हात हाले। अब धडाधड रेलको काम चल्न थाल्यो। 

संवत् १९८३ पुस ३ गते (१७ जनवरी १९२७) पूर्णिमाका दिन मार्टीन कम्पनिका चीफ इन्जिनियर गिरिश चन्द्रदासले आजको १५ दिनमा पहिलो रेल चलाउँछु भनि श्री ३ महाराजका हजुरमा जाहेर गरेछन्। यो कुरा सुनेपछि सबै खुशी भए। 

रेलको फलामे दलीन (लीग) ओछ्याउने काममा अंग्रेजहरू लाग्दा रहेछन्। तिनको परिश्रम देख्दा अवाक हुनुपथ्र्यो। दुई लीगको दुरी नाप्ने यन्त्र हरबखत तिनीहरू लगाइरहन्थे। त्यसैको विचार गरी रेलको काम गर्नुपर्ने रहेछ। फलामे दलीनहरू ओछ्याउँदा दुई लीगको दुरी ननापी नहुने रहेछ, अलिकति पनि बाँगो हुनु हुँदो रहेनछ। बांगो भएको ठाउँमा ठूला घन चलाई सोझ्याउने गर्दा रहेछन्। यही काम त्यहाँको मुख्य काम देखियो। अंग्रेजहरूले मात्र सो काम गर्ने रहेछ। 

रेल्वेको काम चलिरहेको थाहा पाएपछि श्री ५ लाई पनि रेल चढ्न मन भयो। उहाँबाट रेलमा आफ्नो जमीन रक्सौलसम्म जाने इरादा श्री ३ महाराजसँग हुकुम भएछ। महाराजबाट त्यसकुराको बन्दोबस्त गरिबक्सेपछि र माघ १२ गते (२५ फेब्रृुअरी १९२७) नेपालतर्फको जमीन रक्सौलसम्म रेल चलाउने तजबीज भयो। श्री ५ महाराजधिराज दश बजे रेलमा सवारी हुने भएको हुँदा धमाधम खाजा, बस्नका लागि कवज र श्री ५ का साथमा जानेहरूलाई रेलको डब्बाको इन्तिजाम भइ सफासुघर गराइ राखियो। 

ओहोरदोहोर भएर मालसमान ओसारिन लाग्यो। छत नभएको डब्बामा राजहुने भए पनि त्यहाँबाट सबैतिर छर्लङ्ग देखिने हुँदा झन् रमाइलो हुने भएको थियो। उहाँका साथमा जाने पाउ–रखवारीहरूलाई सफा गरिएका डब्बाहरू ल्याइएका थिए। यसरी इन्जन र अरूअरू डिब्बा जोडिएको त्यो रेल एउटा सानु स्पेसल हो कि जस्तो भएको थियो। 

ठिक १० बजे श्री ५ रेलमा सवारी हुनलाई अधमारा पुगिबक्सियो। नेपालका अधिराजहरूमध्ये रेल चढ्नेमा र आफ्नो मुलुकको सीमानासम्म पुगिबक्सने अधिराज यही नै भइबक्सियो। यहाँको नाम पहिलो रेल चढ्ने राजामा इतिहासहरूमा लेखिने भयो। 

रेलको खुला डब्बामा कवाज राखि त्यसमा अधिराजलाई राज गराई ओरीपरीका रमाइलो दृश्य आँखामा नचाउँदै रेल जान लाग्यो। ठिक १० बजेर ४५ मिनेटमा रेल खुलेको थियो। अधमारा १०ः४५, अजिंगरे पुल ११ः२०, सीमरा ११ः१८। जीतपुर ११ः५३, यहाँ इन्जिनले पानी लियो। यहाँबाट ११ः४८ मा खुलि जीतपुर बंगला ११ः ५३, परवानीपूर १२ः१८, वीरगञ्ज १२ः४५ र रक्सौल १ः१५ मा पुगियो। 

सरासर रक्सौल गई ‘बीएनडब्ल्यु रे’ को नाममा रहेको स्टेसन रक्सौलबाट १५० गज वर हाम्रो स्टेसन थियो। हाम्रो रेल त्यही गएर खडा भयो। श्री ५ ओर्लेर यताउती नजर हुन लाग्यो, घुमिबक्सियो। हाम्रो कठघरमा राज भएर उतापट्टी रेल आएको, मुसाफिर चढे–उत्रेको नजर भयो। दैवसंजोग त्यहीबेलामा उतापट्टी रेल आइदियो। घुमिफिरी रेलमा सवारी भई त्यहाँ डेढ घण्टा राज गरी रेल थाम्दै बजार गर्दै किनमेल गर्दै, खाजाखाँदै हिड्यौं। ६ः४५ मा फेरि क्याम्पमा दाखिल भयौं। 

गिरिश बाबुले पहिले जाहेर गरेको १५ दिनमा रेल खोल्छु भनेकोमा हेरफेर हुने भएछ र आज माघ १८ गते (३१ जनवरी, १९२७) का दिन उनी आई फागुन ५ गते (१६ फेब्रुअरी १९२७) बुधबार पक्का रेल खोलिने भयो भनि जाहेर गरेछन्। अब चाडै रेल खोलिने भएकोले हाम्रा तर्फबाट त्यस सम्बन्धमा गरिने काम कुराको चटारो हामीमा पर्नआयो। रेल खेलिदा रेल्वे स्टेसनमा गरिने सिंगारपटार, सफासुग्घर, बन्दोबस्त, ध्वजापताका टाग्ने, आएका आगन्तुकहरू बस्ने इम्तिजाम, तमासा हेर्न आउने रैतिको हुल राख्ने ठाउँ, जनाना (महिला) मालिकहरूलाई राज गराउने ठाउँ, अफिसर पगरीसमेत रही श्री ५ अधिराज, श्री ३ महाराज, अंग्रेजहरूले बस्ने मञ्च तयार पारिने काम हुन थाले। 

रेल खुल्दाखेरी सरकारबाट बक्सने भाषण पनि ठिक हुन लागे। भाषण केसर शमशेर राणा र मरीचमान सिंहबाट लेखिएको थियो। ती भाषणमध्ये श्री ३ महाराजबाट प्रसन्न गरी बक्सेको चाहीँ पढीने भएको छ। 

फागुन ३ गते १९८३ साल (१४ फेब्रुअरी १९२७) का दिन श्री ३ महाराजबाट भाषण नजर भै केसर शमशेरको चाहीँ सदर गरिबक्सेछ। 

४ गते फागुन (१५ फेब्रुअरी १९२७) का दिनमा विहान ७ बजे जनरल साहेव कहाँ पुगे। भाषणमा काटकुट, थपघट गरी बसेको कापी बक्सियो। यो कापी लगेर श्री ३ बुवाज्यूलाई नजर गराई साफी गर भन्ने मर्जि भयो। उताबाट श्री ३ का हजुरमा गै नजर गराइ पालमा आएँ। ९ बजिसक्यो। साफी लेख्न लागेँ। भात खाँदा र साफी सिध्याउँदा ३ः३० बजेको थियो। अनि माथी गएर ४ बजे सो कापी टक्र्याएँ। सबै नजर भयो र सदर गरी बक्सिई, श्री माहिला गुरुज्यूलाई हेर्न बक्सियो, म आफ्नो काममा लागेँ। 

अब भोलिको काम चल्ने भयोे। रेल्वे खुलेको तमासा हेर्नलाई मानिसहरूको घुइँचो चलिरहेछ। थुप्रै मानिस आएका छन्। जंगल जनसागरले ढाकियो। स्टेसन पनि खुव सिगाँरिएको छ भन्छन्। मञ्च पनि राम्रो र रवाफिलो बनेको छ रे। हेर्न जान पाएको छैन, यहाँ साफी लख्नेले रोकेको थियो। आज त अबेर भयो, जान सकिन भोलि गै हेरुँला भनेर बसेँ। 

आज फागुन ५ (१६ फेब्रुअरी १९२७) हो। आजै रेल खुल्ने दिन हो। विहानको नित्य क्रिया सकी चाकरिमा गएँ। प्रभुको दर्शन गरेँ। भाषणको कागतको बारेमा केही हुकुम भएन। अनि स्टेसनमा पुगेँ। ध्वजा, पताका, झण्डा, बन्दनवार, केराको थाम, जंगी फूलको माला, लावाका मालाहरूले स्टेसन र स्टेसनका वरिपरी सबै खुवसँग सिगांरिएको थियो। कस्तो ठाउँ, कस्तो भै सकेछ। मानु उडन तयार भएको पुष्पक विमान सरह त्यो भएको रहेछ। ठाउँठाउँमा दर्शकहरू बस्नलाई खिड्की वारिएको रहेछ। मञ्चमा पनि ध्वजा, पताका, झण्डा, वन्दनवार खूवै राम्रोसँग सजाएको रहेछ। महारानीहरू राज हुने ठाउँमा पनि खिड्की वारिएको र त्यहाँ पनि ध्वाजा, पताका शृंगार र सिख पनि हालिएको हुँदा त्यसको छटा नै निराला देखिएको थियो। नेपाली झण्डा, अंग्रेजी झण्डा र देश देशावरका झण्डाले त्यो ठाउँ झण्डा नगरै भएको थियो भन्नामा कत्ति अत्युक्ति हुँदैन होला। सबै तरहबाट सजावटमा पूर्णता झलकिरहेको थियो।
 
देव शमशेर महाराजको सत्तलदेखि पानीको पहिलो पोखरीलगायत एक पाउ परसम्म र पूर्वपट्टी नदीको बगरदेखि पश्चिम फडाँनी भएको जमीनतर्फको चौकिल्ला अँदाजी एक डेढ कोशको घेरा पुरा तवरबाट सिंगारिएको थियो। 

हेर्ने मानिस पनि खिड्की भरिएर बाहिर पनि कतारवाधी खडा थिए। २–३ दिनदेखि आउन लागेको मानिसहरूका हुलले त्यो बेला नरमुण्ड देखिनु कुनै ठूला कुरा थिएन। वाजी, थारु, सदरीया, गँवार, सब त्यहाँ भेला भएका थिए। २ बजेसम्ममा सबै खचाखच भरिएर उत्सवको प्रतिक्षामा थिए। पुलिस र सिपाहीको मुस्तौदीले कुनै दुर्घटना भएको सुनिएन, सबै शान्त भए। 

अब मालिकहरूको सवारी हुन लाग्यो। २ः३० मा श्री ५ महारानीहरू र श्री ३ महारानीहरूको सवारी भयो। महारानीहरूलाई तयार पारिएको खिड्कीमा राज भयो। यसपछि श्री ३ महाराजको गारत आयो, आफ्नो ठाउँमा बस्यो। अनि महाराजको सवारी भयो। त्यसका पाँच मिनेटका वाद श्री ५ को पनि सवारी भयो। अनि सबै आफ्नो–आफ्नो ठाउँमा बसे। अब उत्सव सुरु भयो। 

विगूलले खामोसीको एलान गर्यो। अनि मार्टीनले आफ्नो रिपोर्ट वक्तब्य दिएपछि श्री ३ महाराजको भाषण सुरु भयो। भाषण समाप्त हुनासाथ वडाकाजीले त्यसको अंग्रेजी तरजुमा सुनाउनू भयो। यतिकाम सकिएपछि अब रेल खोल्नलाई सवारी चल्यो। रेलमा पुगेर दुई जना श्री ५ अधिराज र श्री ३ महाराज सवारी भै रेल खोली दशगजासम्म चढी प्रभुहरू ओर्लीबक्सियो। यस मौकामा केसर शमशेरबाट श्री ३ महाराजका हजुरमा आफ्नो देशको उन्नति साधन होस् भनि हरबखद् तत्पर रहने हजुरले वर्षदिन भित्रैमा यस नेपालमा २–२ ठूला उत्सव (मिलिटरी अस्पताल र नेपाल गर्भमेन्ट रेल्वे) खोलिबक्सिएको मात्र नभै अरु पनि २ कुराको आज शिलान्यास गरिबक्सियो (सानाटोरियम र अमलेखगञ्जमा अरू ६ इन्ची पानी थपी बक्सने)। 

यस्तो हजुरको दीर्घायु होस् भनेर छोरा भएर होइन, आम दुनियाँको मुख भएर विन्ति गर्दछु भनि विन्ति चढाई बक्सियो। यसपछि तस्वीरहरू झिकिए। अनि त्यसबेला त्यहाँ आएका सबैले महाराजको ३ बाजी जयघोस गरे। अनि सभा बिसर्जन भयो।  
 

प्रतिक्रिया