काठमाडौं– केरलाको एक मन्दिरमा नाच्नबाट रोकिएपछि मुस्लिम डान्सर मानसिया वीपीले कलाको कुनै धर्म नहुने बताएकी छन्। जब मानसियाकी आमाले उनलाई भरतनाट्यम सिकाउन थालिन्, उनी जम्मा तीन वर्षकी थिइन्। भरतनाट्यम भारतको प्राचीन नृत्य विधा हो। भारतका धेरै मन्दिरहरूमा कलाकारहरूले भरतनाट्यम प्रदर्शन गर्छन्।
यो नृत्य सिक्नु दक्षिण भारतीय राज्य केरलाको मल्लपुरम जिल्लामा बस्ने मुस्लिम समुदायकी युवतीहरुका लागि असामान्य हो। तर, मानसियाकी आमा अमिना आफ्ना छोरीहरूलाई भरतनाट्यम सिकाउन कटिबद्ध थिइन्। यस्तो अवस्थामा उनका दुवै छोरीले भरतनाट्यम मात्र नभइ कथकली र मोहिनीअट्टम जस्ता शास्त्रीय नृत्य पनि सिके।
दुवै छोरीका लागि यो यात्रा सहज थिएन। उनको समुदायका अर्थोडक्स मुस्लिमहरूले हिन्दू नृत्य सिक्नु हुँदैन भन्थे। यो निर्णयका कारण यो परिवार यसअघि पनि चर्चामा छ। गत साता जीवनमा पहिलो पटक भरतनाट्यममा लगाइने घुङ्रुलाई बाँधेकी २४ वर्षपछि मानसिया फेरि चर्चामा छिन्। यसपटक कारण थियो, मनासियाको फेसबुक पोस्ट जुन भाइरल भएको थियो।
केरलाको एउटा मन्दिरले आफ्नो वार्षिक कार्यक्रममा नाच्नबाट रोकेपछि उनले यो पोस्ट लेखेकी हुन्। यसको कारण मानसिया हिन्दु नर्तकी थिइनन्।
कार्यक्रम आयोजकले पहिले उनको आवेदन स्वीकार गरे। पछि उनको नृत्य प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो। तर, पछि मन्दिर प्रशासनले परम्परालाई पालना गर्नुपर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।
यो घटनाले तीव्र गतिमा धार्मिक ध्रुवीकरण भइरहेको देशमा नयाँ बहसको जन्म दिएको छ। तर, त्यसको वास्ता नगरी मनसियाले आफ्नो पोस्टमा लेखेकी छन्, ‘म अझै धेरै विभेदको सामना गर्दै यहाँसम्म पुगेकी छु, यो मेरो लागि केही होइन।’
मस्जिद कमिटीका सदस्य र मदरसाका शिक्षकहरूले उनलाई र उनकी बहिनीलाई कहिल्यै ननाच्ने वाचा गर्न लगाएको मानसियाले बताइन्। मनसिया यति सानै थिइन् कि उनले यो सबै बुझिनन् र उनी सहमत भइन्। तर, उनकी बहिनी रुबिया प्रायः रुँदै घर पुग्थिन्।
तर, अमिना र उनका बुबा अलविकुट्टीले उनीहरुलाई नृत्य सिकाउन जारी राख्ने आश्वासन दिन्थे। मानसिया भन्छिन्, ‘मलाई थाहा छैन उहाहरुले यो सब कसरी गर्नुभयो। तर, उहाँहरुले आफ्नो चिन्ता कहिल्यै व्यक्त गर्नुभएन।’
प्रारम्भिक जीवनमा सडक नाटकहरूमा अभिनय गर्ने अलविकुट्टी आफ्नो दृढ संकल्पको कारण आफूले केही गलत नगरेको बताउँछन्। तर, सन् २००६ मा अमिनालाई क्यान्सरको बारेमा थाहा भयो र त्यसपछि अवस्था कठिन भयो। बुवाले उपचारका लागि पैसा जुटाउन संघर्ष गरिरहेको मानसिया बताउँछिन्। यसैबीच, विदेशबाट आर्थिक सहयोगको प्रस्ताव आएको थियो।
तर, मानसिया र उनकी बहिनीले शास्त्रीय नृत्य सिकेको देखेर मस्जिद कमिटीले उनीहरूसम्म पुग्ने अनुमति दिएन। मानसिया भन्छिन्, ‘मेरी आमा मसँग दिनहुँ (समिति)का सदस्यहरूसमक्ष बिन्ती गर्न जानुहुन्थ्यो। त्रासदीले मलाई धर्मसँगको सम्बन्धबारे सोच्न बाध्य बनायो।’
सन् २००७ मा अमिनाको मृत्यु हुँदा स्थानीय चिहानमा गाड्ने ठाउँसमेत नपाएको मानसियाले बताइन्। त्यसपछिका केही वर्षहरू एक्लोपन र कठिनाइहरूले भरिएको थियो। रुबिया थप अध्ययनका लागि तमिलनाडु गइन्। नृत्यप्रतिको लगाव र बुबाको सहयोगले उनले नृत्यलाई निरन्तरता दिइन्।
धार्मिक ध्रुवीकरण
भारतको धार्मिक वातावरण यति जटिल छ कि यसले अक्सर रोचक विरोधाभासहरू जन्माउँछ। सन् २०२१ मा गरिएको ‘प्यू रिसर्च’ले गरेको अध्ययनले सबै धर्मका अधिकांश मानिसहरूले धार्मिक सहिष्णुता र धार्मिक पृथकता दुवैलाई समर्थन गर्ने कुरा पत्ता लगाएको छ।
संस्कृति र दैनिक जीवनमा वातावरण सद्भावले भरिएको छ, तर यसको सीमाहरू प्रायः परीक्षण गरिन्छ। भारतका धेरै प्रसिद्ध शास्त्रीय संगीतकारहरू इस्लामका अनुयायी भएका छन्। उनीहरुको संगीत पनि प्रायः भक्तिपूर्ण छ।
उस्ताद बिस्मिल्लाह खानदेखि अलाउद्दीन खानसम्म ज्ञानकी देवी सरस्वतीका भक्त हुन्। मानसिया र उनका दिदीहरूलाई ‘वीपी बहिनीहरू’ भनेर चिनिन्थे र मलाप्पुरमका प्रत्येक मन्दिरमा नृत्य प्रस्तुत गर्थे। उनले जताततै माया र प्रशंसा पाएका छन्।
‘हाम्रो नृत्यबाट उहाँहरु यति प्रभावित हुनुभयो कि उहाँले हामीलाई अँगालो हाल्नुभयो,’ मानसिया भन्छिन्। उनको सम्झनामा एउटा मात्र घटना छ, जब एउटा मन्दिरमा कमिटी सदस्यले उनी मुस्लिम भएको र नाचेको भन्दै विरोध गरेको थियो।
प्रतिक्रिया