२०६२ सालमा विश्वको सर्वोच्च हिमाल सगरमाथा चढ्ने क्रममा माया गुरुङलाई धेरैले हत्तोत्साही बनाउन खोजे। केहीले भने– तिमी महिला हौं। महिलाले सगरमाथा चढ्नु हुन्न। यो निकै जोखिमपूर्ण कार्य हो।
तर, मायाले यी सबै सुझावलाई वेवास्था गरिन्। जसको परिणाम, ९ जेठ २०६२ सालमा उनले सगरमाथाको सफल आरोहण गरिन्। विश्वको सर्वोच्च हिमाल माथिको विजयसँगै उनले विश्वका ७ उच्च हिमालको सफल आरोहण गरिसकेकी छिन्।
अहिले उनी आफ्नो जीवनको दोस्रो परीक्षामा छिन्। यतिबेला पनि उनलाई केहीले हत्तोत्साही बनाउने प्रयास गरिरहेका छन्। तर, उनी टसमस भएकी छैनन्। बैशाखको अन्त्यतिर हुने स्थानीय निकायको निर्वाचनका लागि उनले पाँच पोखरी गाउँ पालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
उनको उम्मेदवारी घोषणासँगै हिजो उनलाई सिन्धुपाल्चोक जिल्ला कै ‘गौरव’ बताउने व्यक्तिहरू झस्किन थालेका छन्। केहीले त उनलाई चुनाव नउठ्न सुझाव समेत दिन भ्याइसकेका छन्।
तर, उनी कुनै राजनीतिक पार्टीको झण्डा बिना ‘राष्ट्रिय झण्डा’ अर्थात स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा होम्मिने अभियानमा छिन्।
दृष्यटिभीसँग कुराकानी गर्ने क्रममा ४३ वर्षीय मायाले भनिन्, ‘अहिले मलाई हिमाल चढे जस्तो राजनीति गर्न कहाँ सजिलो छ भनिरहेका छन्। मैले भन्ने गरेको छु– हिमाल चढ्न पनि कहाँ सजिलो थियो? मैले चढेर देखाए। राजनीति पनि म नयाँ ढंगले गर्छु।’
विगत डेढ दशकदेखि पाँच पोखरी गाउँ पालिकामा समाजसेवा गर्दै आइरहेकी माया यो क्षेत्रका लागि परिचित अनुहार हुन्। विगतमा उनलाई केही राजनीतिक पार्टीले आफ्नो ‘पोस्टर गर्ल’ बनाउन नखोजेका होइनन्। अहिले पनि उनलाई आफ्नो पार्टीमा ल्याउन सबै राजनीतिक पार्टीबीच तछाड–मछाडको अवस्था छ।
तर, उनी विगत ५ वर्षमा गाउँमा भएको विकाशको सुस्तगतिलाई देखेर सबै राजनीतिक पार्टीबाट आजित भइसकेकी छिन्। त्यसैले नयाँ विकल्पको रूपमा आफूलाई स्वतन्त्र उम्मेदवारको हैसियत प्रदान गर्दैछिन्।
‘हिजो स्कुल पढ्दा यिनै राजनीतिक पार्टीले म जस्ता धेरैलाई राजनीतिको कखरा सिकाए। आफ्नो सत्ता आएपछि विकाश हुन्छ भने,’ उनले आफू वैकल्पिक शक्तिको रूपमा स्वतन्त्रपूर्वक चुनाव लड्नुपर्ने कारण स्पष्ट पार्दै भनिन्, ‘मैले स्कुल र कलेजको पढाइ सम्पन्न गरेर व्यक्तिगत रूपमा पर्यटन क्षेत्रमा यति धेरै काम गरिसके।
अहिले समाजसेवीको रूपमा गाउँका गरिब र निमुखा जनताको आशाको केन्द्र बनेको छु। तर, सत्ताको भोग गरिरहेका राजनीतिक पार्टीका नेताहरूले सक्ने काम पनि नगरेको देख्दा दुःख लाग्छ। यही भएर राजनीतिमा आफै उत्रिन लागेकी हुँ।’
पाँच पोखरी वरिपरिका गाउँहरू मुलतः महिला बेचबिखनका कारण बदनाम छ। राजधानी काठमाडौंसँग नजिकै जोडिएको जिल्ला भए पनि कमजोर शिक्षा तथा सुस्त विकाशका कारण यहाँका जनता निकै पिछडिएका छन्।
पाँच पोखरीले पर्यटन र पानीको प्रचुर सम्भावना बोकेको छ। तर, स्थानीय नेताहरू यसको समूचित विकाश र विस्तारभन्दा पनि ‘भ्यू टावर’ संस्कृतिमै रमाएको देखिन्छन्। माया भन्छिन्, ‘यहाँ ५ हजार मिटर माथिका पहाड नै सयौं छन्। त्यहाँ जाने बाटो छैन। तर, ‘भ्यू टावर’ बनाउन तछाड–मछाड गर्नुहुन्छ। वास्तवमा राजनीति गर्ने व्यक्तिकै चेतना म कमजोर देख्छु। त्यसैले पनि राजनीतिमा होम्मिन लागेकी हुँ।’
मायाले यो क्षेत्रमा नाफारहित एउटा संस्था सञ्चालन गरिरहेकी छिन्। जसले पर्यावरण, शिक्षा र रोजगारीको क्षेत्रमा काम गरिरहेको छ। उनको संस्थाले अध्यापन गराएका व्यक्तिहरू कोही चिकित्सक बनिसके भने कोही नर्स बन्ने तयारीमा छन्।
उनी आफ्नो गाउँ बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताउँछिन्। महिलालाई आफ्नो क्षेत्रमा त्यति स्विकार नगर्ने प्रवृत्तिलाई तोड्न पनि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ।
‘३० वर्षदेखि मैले चुनाव जिते, यो गर्छु र त्यो गर्छु भनेर राजनीतिक पार्टीका नेताहरूले भोट लिएर गए। तर, गाउँ जहाँको त्यही छ। अझ धेरै कुरा बिग्रिदै गएको देख्छु,’ उनले चिन्ता व्यक्त गरिन्।
पछिल्लो समय आफ्नो उम्मेदवारीलाई लिएर गाउँमा उत्साहको माहोल बनेको पनि उनको भनाई छ। उनी महिला र युवाको सहयोगले यसपालि चुनाव जित्ने कुरामा ढुक्क छिन्।
गत स्थानीय निकायको चुनावमा यस गाउँ पालिकामा नेकपा एमालेले ३८ सय मत प्राप्त गरेको थियो। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३५ सय र नेपाली कांग्रेसले २७ सय मत प्राप्त गरेका थिए।
८ वटा वडा समाहित पाँच पोखरी गाउँ पालिकामा करिब १५ हजारको हाराहारीमा मतदाता छन्। जसमा तामाङहरूको बाहुल्यता अत्याधिक देखिन्छ। यहाँ तामाङहरूको उपस्थिति नै ८५ प्रतिशत छ। गाउँको प्रमुख समस्या भनेको १२ वर्षको कलिला नानीहरू उमेर बढाएर वैदेशिक रोजगारीमा विदेश पलायन हुने ‘ट्रेन्ड’ बढ्दो छ। एक प्रकारले भन्नुपर्दा महिला बेचबिखन मात्र होइन, पुरुष पलायनको समस्या पनि बिकराल छ।
माया यी सबै समस्यालाई निस्तेज पार्न आफूले उम्मेदवारी दिन लागेको बताउँछिन्। उनी आफूसँग ५ वर्षको विकाशको खाका भएको दावी गर्छिन्। उनको मुख्य मुद्धा नै गुणस्तरीय शिक्षा हो। उनी व्यवहारीक शिक्षाले मात्र आफ्नो गाउँको कायापलट हुने ठ्म्याउँछिन्। पर्यटन यस क्षेत्रको मुटु भएको उनको भनाई छ। गाउँको ८५ प्रतिशत भूमि बञ्जर बनेर खेर गइरहेको अवस्थामा गाउँका नेताहरूको बुद्धि नफिरेकोमा उनलाई दुःख लागेको छ। उनी यो अवस्था उल्ट्याउन र गाउँलाई उन्नत बनाउन आफ्नो दावेदारी भएको बताउँछिन्।
उनलाई थाहा छ– महिलाको उपस्थितिलाई स्विकार नगर्ने यहाँको समाजमा गाउँ पालिका अध्यक्षको उम्मेदवारी निकै जोखिमपूर्ण छ। तर, उनको सटिक उत्तर छ, ‘सगरमाथा चढे जस्तै गाह्रो नपरिहाल्ला। किनभने यहाँको महिला तथा युवाहरूले नै मलाई खोजिरहेका छन्।’
प्रतिक्रिया