भारतको फारबिसगन्जबाट एकजना साहू धरान आएका रहेछन्– घनश्यामदास अग्रवाल। उनकी बहिनीको बिहे धरानमा भएको रहेछ । मोहनलालका छोरा प्रह्लादलाई बहिनी दिएका रहेछन्। उनी बहिनी–ज्वाइँ भेट्न आएका रहेछन्। मैले मोहनलालको घरमा घनश्यामदासलाई भेटेँ। उनलाई म पहिले नै चिन्थेँ। उनी हिन्दीमा मात्रै कुरा गर्थे। सबै गाडी साहूहरू हिन्दीमै कुरा गर्थे। सङ्गत गुनको फल भने झैँ म पनि हिन्दी बोल्न सिपालु भइसकेको थिएँ । उनले सोधे– अरे टीका भाइ, के गर्दैछौ?
मैले भनेँ– के गर्नु र साहू! एउटा थोत्रो गाडी चलाउँदै छु। वास्तवमा त्यतिबेला म गाडी चलाउँदै थिइनँ। हनुमान साहूको गाडी छोडिसकेको थिएँ। घनश्यामदासले सोधे– नयाँ गाडी आएको छ चलाउँछौ? मैले उनको गाडी चलाउने विचार गरेँ तर हुन्छ भनेर टुङ्गो गरिनँ। विचार गरुँ न त भनेर उनैसँग फारबिसगन्ज गएँ।
त्यहाँ उनको ड्राइवरले लोडगाडी फसाएको रहेछ। जति बल गरे पनि निकाल्न सकेको रहेनछ। गाडी फसेको ठाउँ हेर्छु, ठिकै देख्छु, निस्कनु पर्ने हो भन्ने ठानेँ। उसले किन निकाल्न सकिरहेको छैन भन्ने विचार गरेँ। मैले थाहा पाएँ, उसले गियर ठीकसँग चलाएको छैन, गियरमै गल्ती गरिरहेको छ। घनश्यामदासले मलाई कोशिश गर्न भने। मैले एकै छिनमा निकालेर टुङ्गोमा पुर्याइदिएँ। घनश्यामदास औधी खुशी भए। उनले मलाई त्यही गाडी चलाउन दिने भए। म पनि राजी भएँ। धरानबाट भारतको बथनाहासम्म गिटी बालुवा ओसार्ने त्यो गाडी मलाई जिम्मा लगाए।
धरानमा भरखरै मेरो बिहे भएको थियो। धरानमै डेरा थियो। त्यो मेरो दोस्रो बिहे थियो। सानै उमेरमा पहाडमा बिहे भइसकेको थियो। पहिली श्रीमती उतै पहाडको घरमै थिइन्। घनश्यामदासको गाडी चलाउन थालेपछि म बिहान चार बजे धरानबाट हिँड्न थालेँ। बथनाहासम्म माल पुर्याएर धरान फर्किंदा बिहानको करिब ११ बजेको हुन्थ्यो । डेरामा खाना तयार भएको हुन्थ्यो । खाना खाएर फेरि दुई बजेतिर अर्को खेप माल लिएर जान्थेँ। माल पुर्याएर फर्किंदा रातिको आठ–साढे आठ बजेको हुन्थ्यो। मेरो दिनचर्या यही भयो ।
गाडीमा मानिसहरू पनि चढ्थे। उनीहरूले भाडा तिर्थे। माल ओसार्ने गाडी भएकाले मानिसले तिरेको भाडा साहूलाई बुझाउनु पर्दैनथ्यो। पैसा आफ्नै हुन्थ्यो। दिनभरिमा ५०–६० रूपियाँ जति हुन्थ्यो, सबै खुद्रा पैसा। मलाई त्यो गन्ने फुर्सद पनि हुँदैन थियो। पैसा गनेर राख्ने जिम्मा श्रीमतीको भयो। यही गाडीले मेरो भाग्य बदलिदियो।
त्यसरी जम्मा भएको पैसाले एक महिनामै मैले धरानको बाँझोगरा भन्ने ठाउँमा दुई कठ्ठा जग्गा किनेँ, ९ सय रूपियाँमा। यसमा सासूआमाले पनि सहयोग गर्नुभयो, नपुग रकम थपिदिनुभयो।
धनश्यामदास साहू मेरा लागि साँच्चै भगवानजस्ता भए तर त्यो गाडी एक महिनामात्रै चलाएँ। साहूले उता विहारतिर चलाउनु पर्यो भन्न थालेपछि मैले त्यो गाडी छाडेँ। म राम्रो ड्राइवरका रुपमा साहूहरूका माझ परिचित थिएँ। मलाई अब अघि बढ्छु भन्ने आँट पलाइसकेको थियो। मैले पछाडि फर्किनु परेन।
(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए। असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले। अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो। वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ। टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन्।
पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो। पन्ध्र वर्षमा स्कुल भर्ना भए। चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे। सुन्सरीको रमणीय शहर धरानमा घरबार जोडे। ट्रक व्यवसायीहरूको सङ्गठन बनाए।
यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक साता ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ। आज शृङ्खलाको दशौं अङ्क प्रस्तुत गरेका छौँ।)
प्रतिक्रिया