इस्लामाबाद, एजेन्सी। पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको मुद्धालाई उल्टाइदिएपछि प्रधानमन्त्री इमरान खानको भविस्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ। शनिबार प्रधानमन्त्री इमरानविरूद्ध संसदमा अविश्वासको प्रस्ताव माथि मतदान हुँदैछ।
विपक्षी नेता सहबाज सरिफ, आसिफ अली जर्दारी, ख्वाजा मोहम्मद आसिफ, साहिद खाकान अब्बासी र बिलावल भुट्टो जर्दारी प्रधानमन्त्री इमरानविरूद्ध एकजुट छन्। विपक्षीले दावी गरेका छन्, उनीहरूसँग इमरानविरूद्ध १९६ सांसदको समर्थन छ।
आज इमरानविरूद्ध अविश्वासको प्रस्ताव पारित भए, पाकिस्तानले नयाँ प्रधानमन्त्री पाउने छ।
पाकिस्तानको सर्वोच्च अदालतले अविश्वास प्रस्ताव माथि मतदान शनिबार बिहान नेपाली समयअनुसार ११ बजे सुरु भइसक्नुपर्ने आदेश दिएको थियो। शुक्रबार इमरानले पाकिस्तानी जनसमक्ष सम्बोधन गर्नुअघि विपक्षी पार्टीलाई निशाना बनाएका थिए। उनले विदेशी शक्ति विपक्षीसँग मिलेर उनलाई हटाउने योजनामा रहेको बताएका थिए। उनले यसविरूद्ध सबै नागरिकलाई सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न आग्रह गरेका थिए।
हाल इमरानको कट्टर आलोचक मानिएकी उनको पूर्वश्रीमती रेहम खानले प्रधानमन्त्री इमरान खानका कारण देश अध्यारोमा ढकेलिएको बताएकी छिन्। उनले डलरको मूल्य १९० माथि पुगेको बताउँदै इमरान आफ्नो देशका नागरिकलाई अझै पनि अध्यारोमा राख्ने प्रयासमा रहेको आरोप लगाएकी छिन्।
उनले व्यंग कस्दै इमरानको योजना डलरको भाउ २ सय डलरसम्म पुर्याउने रहेको बताएकी छिन्। उनले संविधानभन्दा माथि कोही नभएको बताउँदै इमरानको अबको योजना सफल नहुने बताइन्।
इमरानविरूद्ध यसअघि नै विपक्षीहरूले अविश्वासको प्रस्ताव पेश गरेका थिए। तर, इमरानको पार्टी तहरीक–ए–इंसाफमा जोडिएका उप–सभामुख सुरीले इमराखनविरूद्धको अविश्वास प्रस्तावलाई ३ तारिखमा खारेज गरेका थिए। उनले सरकारलाई अस्थिर बनाउन विदेशी योजना अन्तर्गत अविश्वासको प्रस्ताव आएको भन्दै यसमा विचार गर्न नसकिने बताएका थिए।
अविश्वास प्रस्ताव खारेज भएपछि राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरानको सल्लाहअनुसार संसद भंग गरेका थिए। तर, पछि सर्वोच्च अदालतले उप–सभामुखको निर्णयलाई गैरकानुनी बताएको थियो।
हाल पाकिस्तानमा सत्ता पक्ष तहरीक ए इंसाफसँग १५६ सिट रहेको छ। यस्तै, विपक्षी पाकिस्तान मुस्लिम लिग (नवाज) सँग ८४ सिट, पाकिस्तान पिपल्स पार्टीसँग ४७, मुत्तहिदा मजलिस ए अमलसँग १५, बलुचिस्तान अवामी पार्टीसँग ५, बलुचिस्तान नेशनल पार्टीसँग ४, पाकिस्तान मुस्लिम लिग (क्यु) सँग ५, ग्य्राण्ड डेमोक्रेटिक एलाइन्ससँग १२ सिट रहेको छ। पाकिस्तानको संसदमा हाल ३४२ सदस्य रहेका छन्।
प्रतिक्रिया