हजारौँ, लाखौँ दर्शकले देखेर के भयो र, रेफ्रीले नदेखेपछि। राजनीतिमा खेलाडीकै नातागोता रेफ्री छन्। दलहरुकै कोटामा न्यायालयको पदपूर्ति गर्ने चालू चलन हेरे पुग्छ। खेलमा ‘फेयर प्ले’ भनिन्छ, तर यहाँ सधैँ खेलमा झेल चलिरहन्छ। न्यायको तराजुको पिँधमा चुम्बक टाँसिए के हुन्छ? यही प्रवृत्तिको प्रभाव हो, खुट्टाले हान्नुपर्ने भकुण्डो हातले मिलाएर विपक्षीको पोस्टमा छिराउने झेल चलिरहेछ। लाखौँ दर्शकले झल्झली देखेर के भयो र एम्पायरले आँखा चिम्लेर लाज पचाएपछि !
फूटबल स्टार डिएगो म्याराडोनाको चलाखीपूर्ण झेली खेल गोलमा बदलिँदा अर्जेन्टिनाले विश्व कप जितेको थियो। सन् १९८६ को विश्व कप हेरेका दर्शकका आँखामा त्यो निर्णायक खेलको दृश्य अझै नाचिरहेकै हुनुपर्छ। टिमका २२ जना खेलाडीमध्ये फरक किसिमले गठिलो शरीर भएका म्याराडोनाको खेलले विश्वका दर्शकको धड्कन बढाएकै थियो। जब उनले देब्रे हातको सहायताले विपक्षीको पोस्टमा गोल प्रहार गरे, तब उनी आलोचनाको केन्द्रमा तानिए।
म्याराडोनाले गरेको त्यो गोलले वैधानिकता पायो किनभने एम्पायरले म्याराडोनाको हातको खेल देखेका थिएनन्। हजारौँ दर्शकले देखे पनि त्यसको कुनै अर्थ भएन। गोल सदर भयो, विपक्षी बेलायती टिम हेरेको हेर्यै भयो। आजका दिनमा भए त्यो गोल सरासर बदर हुने थियो र म्याराडोनाले कम्तीमा पहेँलो कार्ड दर्शन पाउने थिए।
आज म्याराडोना त यो संसारमा छैनन् तर वैधानिकता पाउन सफल उनको त्यो निर्णायक त्रुटि चर्चाबाट बिलाएको छैन।
त्यसपछि पनि विश्व कप फूटबल आयोजना भइरहेकै छ। खेलको विधि र प्रविधि बदलिएको बदलियै छ। छलछाम गरेर खेल्ने सम्भावना लगभग अन्त्य जस्तै भइसकेको छ। फूटबलमा अर्जेन्टिनी स्टार म्याराडोनाको खेलशैलीको अनुशरण असम्भव भएको छ।
सन् १९८६ को विश्व कपको उक्त खेल आज पनि आलोचनाको तारो बनेकै छ। खेल त त्यतिबेलै सकियो तर झेलको चर्चा जारी छ। खेल कसरी खेलियो भन्ने कुरा समयले लामो चक्र परिक्रमा गर्दा समेत चर्चाबाट ओझेल हुँदो रहेनछ, त्यो खेल फूटबलको होस् वा सत्ता राजनीतिको। झेली खेल जहिले पनि झेलीमै दरिँदो रहेछ।
यहाँ चर्चा नेपालको सत्ता राजनीतिको हो, राजनीतिक खेलको। आजको राजनीतिको जग जनता जनार्दन हुन् भनिन्छ। राजनीतिक संस्थाहरू जनताकै मतको जगमा उभिएका छन् भन्ने मानिन्छ। राजनीतिक दल हुन् या तीन तहका सरकार, अप्रत्यक्ष रूपमा त सबै संवैधानिक अंग पनि जनमतकै परिणाम हुन्। राज्य शक्तिको स्रोत नै जनता हो भनेको छ संविधानले। त्यसैले संसद् र सरकार जनताप्रति उत्तरदायी हुने विश्वास गरिएको हो।
२००७ सालयता अनेक परिवर्तन भए, अनेक शैलीका शासन चले। जनताकै नाममा भनिएका थिए ती परिवर्तन। कसैले देश र जनताको रक्षाका लागि भन्ने दाबी गरिरहे। कसैले जनमत विरुद्ध गरिएको राजनीतिक ‘कू’ भनेर विरोध गरे। यसरी दशकौँसम्म शासन र दमनको चक्रमा पिसिनु पर्यो।
राजाहरूले पनि शासन जोगाउन अप्रत्यक्ष रूपमा हिंसाको सहारा लिएका थिए, होनहार निर्दोष नागरिकले ज्यान गुमाए। जनताकै स्वतन्त्रता निमित्त भनिएका संघर्षमा पनि जनताकै सन्तानले आफूलाई बलिदान गरे। माओवादीले संयोजन गरेको रक्तपातपूर्ण ‘जनयुद्ध’ त निकै क्रूर थियो, जसमा हजारौँ नेपाली नागरिक नृशंस आक्रमणको सिकार भए।
‘असल शासन’ का लागि १९ माघ २०६१ मा राजाले प्रत्यक्ष शासनको बागडोर सम्हाल्दा पनि देश र जनताकै नाम जपेका थिए तर समयले परिणाम के दियो, त्यो इतिहासले लिपिबद्ध गरिसकेकै छ। निरंकुशतन्त्रमा आफ्नो फलिफाप देख्ने एकथरी मनुष्य जमातले त्यो समयलाई रामराज्य नै भनेर स्तुति गरेको थियो, कीर्तन गाएकै थियो।
समयक्रममा फेरिँदै गएको राजनीतिक प्रयोगले देशको शासन व्यवस्था र शासकीय संरचनामा पनि आमूल परिवर्तन गर्यो। सिंहासनमा रहेका राजा सडकमा झरे। सडकका नेता अर्कै प्रारूपको सिंहासनमा चढे। सत्ता फेरियो, पात्र फेरिए तर प्रवृत्ति फेरिएन। पुराना राजा गएर नयाँ राजाहरू आएको आभास हुन थालेको छ। राज्य प्रणाली संविधानमा फेरियो तर व्यवहारमा फेरिएन। गाउँगाउँमा भ्रष्टाचारका सिंहदरबार खडा भए। खानेपानीको बजेट काटेर पहाका भित्तामा ‘भ्यु टावर’ ठड्याइए!
भर्खरै गठबन्धन सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ। यसअघिका सरकारले झैँ यो सरकारले पनि भागबण्डामा नातागोता, आफन्त र पार्टी कार्यकर्ता नै सिफारिस गरेको छ। सत्ताको शिखरमा रहेका र सत्ता हल्लाउने तागत बोकेका नेताले बेरोजगार रहेका योग्य नातेदारलाई खाली हात बस्न नदिने गरी राजदूतमा नाम सिफारिस गराएका छन्। यो नेताहरूले आफन्तका लागि इमानदारीसाथ देश र जनताप्रति गरेको चरम बेइमानी हो।
वडा समितिदेखि प्रदेशसम्म र प्रतिनिधि सभाको समानुपातिकदेखि राष्ट्रिय सभासम्म चल्दै आएको भागबण्डाको (कु)संस्कृतिलाई सत्तारूढ दलहरूले सधैँ निरन्तरता दिएका छन्। सधैँ क्रमभङ्गको चर्को कुरा गर्ने माओवादी नेता प्रचण्ड सत्ता घटकमा निर्णायक स्थानमा छन् तर सरकारका विकृतिमा क्रमभङ्ग गर्न गराउन सकेका छैनन्। आफैँ प्रधानमन्त्री हुँदा पनि परिवारजन र नातागोताकै सेवक भए।
परमादेशबाट जन्म पाएको वर्तमान सरकार विकृतिको असल उत्तराधिकारी बनेर प्रस्तुत भएको छ।
यतिन्जेलका सबै प्रधानमन्त्री र प्रभावशाली नेताले जे जसरी सत्ताको लाभ उठाउँदै आएका थिए; आज शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले उसैगरी डकार आउने गरी भाग लगाएका छन्।
हिजो हतियारले शासक फेर्थ्यो, आज हातैले फेर्न सकिने भएको छ तर धन र बलको सहारामा। हिजो राणा र राजाले हतियार प्रयोग गर्थे। आज आफूलाई ‘जनताका सेवक’ भन्नेहरू ‘हातको सफाइ’ प्रयोग गरिरहेका छन्, म्याराडोना शैलीमा ‘हातको सफाइ’, जसरी भए पनि खेल जित्ने।
हजारौँ, लाखौँ दर्शकले देखेर के भयो र, रेफ्रीले नदेखेपछि। राजनीतिमा खेलाडीकै नातागोता रेफ्री छन्। दलहरुकै कोटामा न्यायालयको पदपूर्ति गर्ने चालू चलन हेरे पुग्छ। खेलमा ‘फेयर प्ले’ भनिन्छ, तर यहाँ सधैँ खेलमा झेल चलिरहन्छ। न्यायको तराजुको पिँधमा चुम्बक टाँसिए के हुन्छ? यही प्रवृत्तिको प्रभाव हो, खुट्टाले हान्नुपर्ने भकुण्डो हातले मिलाएर विपक्षीको पोस्टमा छिराउने झेल चलिरहेछ। लाखौँ दर्शकले झल्झली देखेर के भयो र एम्पायरले आँखा चिम्लेर लाज पचाएपछि!
राणाहरू त्यसै गर्थे। राजाहरूले पनि त्यसैलाई निरन्तरता दिए। अहिले दलका नेताहरू नयाँ राजा भएका छन्, उनीहरू झन् बढी झेली हुँदैछन्।
राणाहरू खोपीका राजाको मोहर प्रयोग गरेर विपक्षीको सफाया गर्थे। खोपीबाट सिंहासन चढेका राजाले पनि शैली फेर्न आवश्यक ठानेनन्। उसै गरी शासन चलाए। आज पनि उस्तै छ, देब्रे हातले गोल गरेर खेल जित्ने म्याराडोना शैली नेपाली राजनीतिमा हुबहु स्थापित छ।
यसो नहुँदो हो त राजदूत सिफारिस यति लाजमर्दो हुने थिएन। देशको अर्थतन्त्र चरम संकटको दिशामा अघि बढिरहेका बेला नियन्त्रणमा क्रियाशील केन्द्रीय बैंकका गभर्नर निलम्बित गरिने थिएनन्। अर्थमन्त्रीको प्रतिशोधमा सिङ्गो सरकार साक्षी बस्ने थिएन। देशमा यति क्रूरतापूर्वक साधुलाई शूली र चोरलाई चौतारी हुने थिएन।
जहानियाँ राणा शासकका सन्तान दरसन्तान, पुजारी, पुजारीका नातागोता, कुलकुुटुम्ब, हुक्के–बैठके, मुन्सी–खजाञ्ची र उनीहरूका लावालस्कर नै फेरि पनि राज्यको बहीखातामा चढिरहने हो भने हामीले केका लागि खोजेको राजनीतिक परिवर्तन? उनीहरूका लागि ज्यान दिनेलिने, रगत पसिना खर्च गर्ने, श्रमदेखि स्रोतसम्म उनीहरूकै नाममा समर्पण गरेर जनता सधैँ मरिरहने?
जनमतका आधारमा बनेका दल र तिनका क्रियाकलापले यस्ता प्रश्नहरू उठ्ने आधार बलियो दिएका छन्। यो निकै गम्भीर अवस्था हो।
फिफाले विश्व कप फूटबलमा हुनसक्ने सम्भावित जालझेल दोहोरिन नदिन नयाँ विकल्पहरूको खोजी गर्यो। खेलमा झेल कम हुँदै गयो। नयाँ नयाँ प्रविधि विकासले फेयर प्ले सम्भव हुँदै गयो। फिफा, क्लबहरू र स्वयं खेलाडीहरूले पनि म्याराडोनाको त्यो गोल बाट शिक्षा लिए। गल्ती दोहोर्याएनन्। आजको विश्व कपमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र डेभिड बेकहम जस्ता एक से एक खेलाडी छन्। उनीहरू विश्वका चर्चित मैदानहरूमा चमत्कार देखाइरहेका छन्।
हाम्रो सत्ता राजनीतिले खेलको नियमबाट शिक्षा लिन नसक्नु ज्यादै दुःखद कुरा हो। राजनीतिका सबैभन्दा पछिल्ला गतिविधिले चाँडै कुनै सुधार हुने ठाउँ पनि देखाएको छैन, सत्ता पक्षबाट होस् कि विपक्षबाट। सत्तापक्ष सत्ताको शक्ति दुरुपयोगको चरम चुलीमा छ। विपक्षी अशिष्टता र दुर्भावना विस्तारको अभियानमा छ। सन्तोष गर्ने ठाउँ कतै पनि छैन।
हामी आम नागरिकले कोसँग के अपेक्षा गर्ने!
प्रतिक्रिया