विचारको बारेमा संसारमा विभिन्न प्रकारका अनुसन्धान भएका छन्। साइकिक पावर र साइकोलोजिकल विइङले समग्रमा कस्तो असर पार्छन् भनी ठूला खोजहरु पनि भएका छन्। पश्चिमी वैज्ञानिक जगत अहिले माइन्ड रिसर्चमा बढी केन्द्रित भएको देखिन्छ।
हामीले मनमा जस्ता विचारहरु लिन्छौं, त्यसले हाम्रो शरीरका सम्पूर्ण अवयवहरुलाई असर गर्छ। त्यही भएर नकारात्मक विचार आउँदा हामी डिप्रेसनमा जाने कारण यही हो। एन्जाइटी, हाइपर टेन्सन आदिमा जाने अवस्था निम्तिनुको कारण पनि यही हो।
यदि हामीले सकारात्मक विचारहरु लियौं, उत्साहले भरिएका विचारहरु लियौं, आशावादी विचारहरु निर्माण गर्यौं भने प्रफुल्लता र प्रसन्नता आउने गर्छ। जीवन उत्साह र उमंगले भरिन्छ।
विचारहरुको प्रकृतिले पक्कै पनि हाम्रो मस्तिष्कलाई असर गर्छ। त्यसले त हाम्रो इन्डोक्राइन सिस्टमलाई नै असर गर्छ। नकारात्मक विचारको कारण उत्पन्न हुने हर्मोनले हाम्रो शरीरलाई नकारात्मक रुपमा असर गर्छ। यदि हामीले सकारात्मक रुपमा सोच्यौं भने त्यसबाट उत्पादित हर्मोनले हामीलाई सकारात्मक रुपमै असर गर्छ।
हाम्रा विचार करुणा, मैत्रीभाव आदिमा केन्द्रित भए भने मस्तिष्कको संरचना पनि बदलिन्छ भन्ने पछिल्ला न्युरोवैज्ञानिक अनुसन्धानले पुष्टि गरेका छन्। कतिपय मानिसको इच्छाशक्ति तीव्र हुन्छ, उसको आत्मविश्वास पनि बलियो हुन्छ। त्यस्ता मानिसले आफ्ना सकारात्मक ऊर्जाको माध्यमबाट इच्छाशक्तिलाई अझै प्रगाढ बनाउन सक्छन्। ती व्यक्तिले विभिन्न खालका शारीरिक समस्यालाई पनि पराजित गर्न सक्छन्।
कुनै व्यक्तिले मनमा कमजोर विचार लियो भने त्यसले शरीरमा हानि गर्छ। शरीर, मन र बुद्घिलाई हाम्रो विचारले प्रभाव पारिरहेको हुन्छ। विचार भनेको हाम्रो अत्यन्त सुक्ष्म शक्ति हो, जुन चैतन्यबाट एउटा किरणको रुपमा आएको हुन्छ।
सूर्यको किरणले हाम्रो जीवनलाई प्रभाव पारेको हुन्छ, हावाको झोकाले हामीलाई असर गरेको हुन्छ अनि पानीको यौगिकले जगतलाई असर गरिरहेको हुन्छ। त्यति मात्र होइन, सब–एटोमिक पार्टिकलले प्रभाव पारेको हुन्छ र, वरिपरिको भाइब्रेसनले पनि जीवनको गतिलाई निर्धारण गर्छ।
निसन्देह हाम्रो मनबाट निस्कने सुक्ष्म विचार वा तरंगले जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव पारेका हुन्छन्। विभिन्न वैज्ञानिकहरुले विचारले मानिसको स्वास्थ्य अनि व्यक्तित्वमाथि कस्तो असर पार्छ भनी अनुसन्धान गरेका छन्। मानिस स्वस्थ वा अस्वस्थ हुने कुरा अधिकांश अवस्थामा विचारमै निर्भर रहने उनीहरुको निष्कर्ष छ।
अहिले विश्वभर ‘अटो हिप्नोसिज्म’ को कुरा छ, यदि कसैको शारीरिक समस्या छ, यसलाई म सहजै जित्न सक्छु, योसँग जुध्न सक्छु भन्ने शक्तिशाली विचार दिन सकियो भने त्यसले रोग निको पार्न सहायता गर्छ। शरीरमा भएका समस्याले निको पार्न ठूलो इच्छा शक्ति आवश्यक हुन्छ। मसँग आत्मबल, मनोबल र भावबल छ भनी ‘अटो सजेसन’ गर्यो भने निसन्देह यी शारीरिक समस्यामाथि ‘हिलिङ’ गर्न सकिन्छ। यो तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानबाट पनि पुष्टि भइसकेको छ।
अध्यात्म विज्ञानले पनि यही कुरा भन्छ– जसको भित्र आत्मबल छ, जोभित्र पवित्र विचार छ, पवित्र तरंग छ। तिनीहरुले हिलिङको काम गर्छन्।
ऋषिमुनिहरुले जुन–जुन मन्त्रहरु प्रादुर्भाव गरेका छन्, पक्कै पनि जीवनमा ठूलो प्रभाव छ। मन्त्रको सहायताले कसैलाई उपचार गर्नु भनेको पनि सकारात्मक ऊर्जा स्थानान्तरण गर्नु हो।
ध्यान–साधना गरिरहेको अवस्थामा हाम्रा मनिषीहरुले एउटा बेग्लै कुरा अनुभूत गरे। ध्यान–साधना गर्दा शरीर, मन, विचार, भाव हराएर जान्छ, त्यो अवस्थामा एउटा शक्तिशाली आवाज चाहिँ रहन्छ, जसलाई ॐ भनिन्छ। यसको उच्चारण गर्दा पनि फाइदा हुन्छ। यसरी मन्त्रको उच्चारणले पनि शरीरको उपचारात्मक कार्यका साथै व्यक्तित्वलाई निश्चित आकार दिन अत्यन्तै ठूलो मद्दत गर्छ।
सकारात्मक विचार वा ऊर्जाको महत्व जीवनका हरेक क्षण अनि स्थानमा उत्तिकै रहेको हुन्छ। तपाईंले ख्याल भएको हुनुपर्छ–सकारात्मक ऊर्जा भएको मानिसले पकाएको खानाले शरीरमा बेग्लै प्रभाव छाड्छ भने कुण्ठित अनि नकारात्मक भाव भएको मानिसले पकाएको खाना खाँदा उल्टै शारीरिक समस्या आउन सक्छ। खाना खाँदा पनि हामीले कुन भावले खान्छौं, त्यसअनुसार समग्र स्वास्थ्य अवस्था प्रतिबिम्बि हुन्छ र त्यसैले हाम्रो व्यक्तित्व निर्धारण गर्छ। त्यही भएर पनि विचार कति शक्तिशाली छ र यसको प्रभाव कस्तो पर्छ भनी आँकलन गर्न सकिन्छ।
खप्तड बाबाले उनको चर्चित किताब ‘विचार विज्ञान’ मा लेखेका छन्– अनुचित भोजन र अशुद्ध वायुले शरीर रोगग्रस्त बन्छ। अधिक सोचविचार तथा मादक पदार्थ सेवनले मस्तिष्क निर्बल बन्छ। अधिक व्यायाम गर्नु वा किञ्चित पनि व्यायाम नगर्दाबाट पनि शारीरिक र मानसिक विकास उचित तरिकाले हुँदैन।
हरेक व्यक्तिहरुको ‘वेभलेन्थ’ बेग्लाबेग्लै हुन्छ। सकारात्मक विचार भएको व्यक्तिले गहिरो संकल्प गर्यो भने आफूसँग भएका सानातिना स्वास्थ्य समस्या निराकरण गर्न सकिन्छ। यदि कमजोर मनोवृत्तिको मानिस छ भने सानातिना कुराहरुले पनि उसलाई ठूलो असर गरिरहेका हुन्छन्।
जर्मनीमा चर्चित मनोवैज्ञानिक हान्स आइसेन्कले व्यक्तित्वसम्बन्धी सिद्घान्त प्रतिपादन गरेका छन्। उनको सिद्घान्त अनुसार मानिसको स्वभाव वा विचारले समग्र व्यक्तित्वलाई प्रभाव पारेको हुन्छ। एक्स्ट्राभर्सन र न्युरोटिसिज्मबाट मानिसको व्यक्तित्व निर्माण भएको हुन्छ भन्ने उनको निचोड छ। त्यही भएर पछिल्लो समय संसारभरका मनोवैज्ञानिक र न्युरोवैज्ञानिक विचार र व्यक्तित्वको सम्बन्धबारे अझै गहन अनुसन्धान गर्न तल्लीन छन्।
प्रतिक्रिया