सम्मानको भोकले ठूलै वितण्डा मच्चाउँछ। सत्ता नै परिवर्तन गरिदिन्छ। घरको सत्ता होस् या राज्यको सत्ता। आखिरमा सम्मानको भोक कसरी जाग्छ, यसको चिरफार गरौं। परम गुरु ओशो भन्नुहुन्छ– जो सँग आत्मसम्मान छैन, उसले बाहिरबाट सम्मान खोज्छ, जसले अपहेलित महशुस गरेको छ, जसको जीवन आनन्दमय छैन, उ सम्मानको भोको हुन्छ। सम्मान खोज्नुको अर्थ हो म भित्रबाट खोक्रो छु, स्वयं आत्मगौरव गर्ने कुरा भित्रबाट केही मिलेन, बरु बाहिरका मानिसले केही मिलाई दिउन्, म खाली छु बाहिरका मानिसले भरिदिउन्। अर्कोले भनिदेओस् कि तपाईं राम्रो हुनुहुन्छ, तपाईं गतिलो मान्छे हो, तपाईंले राम्रो काम गरिरहनु भएको छ, तपाईंको योगदान छ। अरुले नै भनिदियोस् अनि सार्वजनिक रुपमा प्रमाणित गरिदियोस् तपाईं सम्मानको लायक हुनुहुन्छ।
यदि कसैले अपमानको महशुस गर्दछ भने बुझ्नुपर्छ उ भित्र मान सम्मानको भोक ज्यादा छ। मान सम्मानको दास बनेको छ। यदि मान सम्मानको भोक छैन भने कसैले सम्मान गरोस् या अपमान केही वास्ता हुँदैन। मान सम्मानको वास्ता नगर्ने मानिस विन्दास पाराले खुसी भएर बाच्न सक्छ। जीवन विज्ञान प्रतिष्ठानका जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेव रमेश नेपालज्यू भन्नुहुन्छ– सम्मान लिने होईन दिने कुरा हो। सम्मानले मानिसलाई हौसला वा प्रेरणा त मिल्छ। तर स्वयंप्रति सजग भएन भने सम्मानको लोभमा अहंकारको सिँढी चढ्छ र फेरी त्यही सिँढी समातेर बस्छ। त्यसैले सम्मानमा पटक्कै भुल्नु हुँदैन। यसले ब्यक्तित्व विकासमा बाधा पर्छ। हामी सबैजना सजग हुनुपर्दछ।
कसैले मलाई सम्मान गरिदियोस् भन्ने यो भोक कहाँबाट जन्मिन्छ! अध्यात्म विज्ञानले भन्छ– मानिसलाई संचालन गर्ने सुक्ष्म शरीरका प्रणालीमा चार अन्तःकरण मन, बुद्धि, चित्त र अहंकार पर्दछन्। यिनले मानिसका विचार, बोली र ब्यवहारलाई निर्देशित गर्दछन्। सम्मानित हुन् मन लाग्छ। लोकप्रिय हुन मन लाग्छ। मन चलाख हुन्छ, चञ्चल हुन्छ। साँच्चै राम्रो काम गरेर सम्मानित हुन त समय लाग्छ, छिटो नाम र दाम कमाईहाल्नु छ। पद, प्रतिष्ठा, प्रशंसा पाईहाल्नु छ। त्यो धैर्य हँुदैन मनसँग। फेरी कसैले सम्मान गर्लान् या नगर्लान् के टुङ्गो। अब मनले के गर्दा र कहाँ कहाँ पाईन्छ त सम्मान खोज्न थाल्छ। बुद्धिलाई थाहा छ। सम्मानित हुनु राम्रो हो। सम्मानित भए विभिन्न अवसर र सुविधा पाईन्छ। उपहार र धन्यवाद पाईन्छ। अरु मान्छेले आफूलाई राम्रो ठान्दछन्।
प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो प्रचार हुन्छ। पेशाको ब्यापार बढ्छ। उता सम्मान गर्नेले पनि केही स्वार्थ राखेरै सम्मान गरेको हुन्छ। बाहिर श्रद्धा होला तर भित्र मनको गहिरो तलमा केही न केही असल खराव मनशाय लुकेको हुन्छ। केही न केहीको प्राप्तिको लोभले सम्मान गर्ने र गराउने बुद्धिको खेल हुन्छ। चित्तमा हिनतावोध गाडिएको हुन्छ। हिनतावोधले आत्मसम्मान जागृत हुन पाउँदैन। अर्को तर्फ अहंकारले झक्झक्याई रहेको हुन्छ। त पनि केही होस्। किन चुप लागेर बसेको, केही गर। अहंकारले आफूलाई केन्द्रमा राख्छ। मलाई सम्मान, मेरो कामको सम्मान। म ठूलो हूँ, म जान्नेवाला हूँ, म अरुले मान्नेवाला हूँ। सम्मानित भए भने परिवार, समाज, कार्यक्षेत्रमा धाकधक्कु लगाउन पाईन्छ। म सम्मानित ब्यक्तित्व हूँ भनेर गर्वले फुल्न मद्दण्त गर्छ। देखिस् म कति गतिलो मान्छे हूँ भनेर देखाउन पाईन्छ। यस्तो अहंभाव बाहिर नदेखाए पनि, नभने पनि भित्रभित्रै बनिरहेको हुन्छ।
अर्कोतिर मैले गज्जबको काम गरिरेहको छु। तिमीहरुले कामको कदर नगरे पनि वा सम्मान नगरे पनि अरु कसैले त सम्मान गरेको छ नि! शक्ति प्रदर्शन गर्ने हतियारको रूपमा सम्मानलाई प्रयोग गरिएको छ। सम्मान खोज्ने लोभ अति तुच्छ प्रकारको आत्मकेन्द्रित लोभ हो। सम्मान पाउने आशा र अपेक्षाको भारीले सधैं किचेको हुन्छ। सम्मानले अहंकारलाई अझ उचाईमा पुर्याउँछ। अहंकारलाई रासायनिक मलजल गर्दछ। अरुभन्दा म विशेष हूँँ, म फरक हूँ भन्ने भाव चुलिन्छ।
योग विज्ञानले भन्छ– मानिसको शरीरमा भएका पञ्च क्लेशका कारणले मानिस बिकारले ग्रसित हुन्छ। मान सम्मान प्रतिको आशक्ति एक प्रकारको मानसिक बिकार हो। पञ्चक्लेषमा अविद्या (अज्ञानता), अस्मिता (आफ्नो स्वरुप नचिन्नु), राग (कुनै कुरा अति मन पराउनु), द्वेष (कुनै कुरा पटक्कै मन नपराउनु) र अभिनिवेश(आफू प्रति आशक्त) पर्दछन्। यीनै पञ्चक्लेषका आधारमा सम्मानको मनोविज्ञान विश्लषण गरौं।
अविद्या नै अरु चार प्रकारका क्लेषको उत्पादक क्षेत्र हो। अनित्यलाई नित्य मान्नु, अपवित्रलाई पवित्र मान्नु, दुःखलाई सुख मान्नु र अनात्मालाई आत्मा मान्नु अविद्या हो। मान सम्मान अस्थायी हो, आत्मसम्मान स्थायी हो भन्ने थाहा नपाउनु अज्ञानता हो। देखिएको दृष्य र देख्नेवाला द्रष्टा एकै मान्नु अस्मिता हो। स्वयंलाई कर्ता वा भोक्ता मानेका कारणले मान सम्मानको भोक जाग्दछ। आफैं श्रेय लिने चलाखी र अरुको प्रिय बन्ने चाहनाले मान सम्मानको लोभ जाग्दछ। सुखभोगको लागि चित्तमा बसिरहने आकांक्षा राग हो। सम्मानित हुन पाउँदा मनमा हुने खुसीको अवस्थाको पटक पटक चाहना गर्नु सम्मान प्रतिको राग हो। अपमानित महशुस भएबाट हुने दुःखको अनुभव पछि चित्तमा बसिरहने घृणाको अवस्था द्वेष हो।
कसैले सम्मान गरेन वा अपमानित गर्यो भन्ने लागेमा त्यस्तो ब्यक्ति वा संस्थाप्रति द्वेष उत्पन्न हुन्छ। नकारात्मक बृत्तिको जन्म हुन्छ। खासगरी राजनीतिक क्षेत्र यस्तो आग्रह पूर्वाग्रहबाट ग्रसित हुने कारण पद, प्रतिष्ठा र पावर प्रतिको रागद्वेष नै हो। जीवन प्रतिको ममता वा आशक्ति अविनिबेश हो। जे जे म, मेरो र मलाईसँग जोडिएको छ, ती कुराहरुमा मोह र आशक्तिले गाँजेको मान्छेले लिन मात्र खोज्दछ। आफूले सम्मान पाए ठिक नपाए बेठिक भन्छ किनभने उसले आफूलाई केन्द्रमा राखेको छ। यो मै खाउँ मै लाउँ, सुखसयल वा मोज गरुँ, मै भन्ने वाला भाव हो।
एउटा भएकै सत्यघटना उजागर गर्न चाहन्छु। नेपालको राष्ट्रियगान लेख्ने एकजना साहित्यकारलाई सरकारले सम्मान स्वरुप केही नगद पुरस्कार दियो। प्रतिमहिना केही रकम भत्ता स्वरुप बाचुञ्जेल दिने घोषण गर्यो र उपलब्ध गराउँदै आएको छ। त्यो गीत लेखे वापत उहाँले धेरै सम्मान, सुविधा, पुरस्कार, प्रशंसा र अवसर पाउनु भयो। मैले यत्रो राष्ट्रिय गान लेखें, मेरो पेशा छोडें, मेरो घर परिवार पाल्ने, उपचार गर्ने, स्वदेश विदेश भ्रमण गर्ने सुविधा दिनुपर्छ भनी अर्थ मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालयमा पटक पटक निवेदन गरेको र मन्त्रीज्यू, सचिवज्यूहरुलाई बारबार भेटेको र सरकारले कदर गरेन भनेर गुनासो गरेको देखेको छु।
त्यस्तो सम्मानित कार्य गर्ने ब्यक्तित्व सुविधा र सम्मानको लागि दौडिएको देख्ता ब्यक्तिगत रुपमा एउटा सर्जकको रुपमा उहाँ प्रति अत्यन्त सम्मान हुँदाहूँदै पनि सम्मानको लोभले आफ्नो गरिमालाई माथि उचाल्ने रहेनछ भन्ने अनुभव भएको थियो त्यसवेला। कसैले गरेको सम्मानलाई नै च्याप्प समातेर त्यसैलाई भजाउनु ब्यक्तित्व विकासको बाधा बन्दछ।
संचार माध्यममा फलानो यस्तो ढिस्कानो उस्तो महत्व दिनु पर्ने मान्छे सरकारले कदर गरेन, योगदानको चर्चा भएन, कसैले सम्मान गरेन, कसैले सहयोग गरेन भनेर चिच्याएको सुन्नु पाउनु पनि सम्मानको तीब्र भोकको आम मनोविज्ञान हो। सम्मान प्रति चरम लोभको संकेत उदाहरण हो। मान सम्मानको छद्म उदेश्य राखी कोही सामाजिक कार्य वा आध्यात्मिक संस्थामा जोडिएको रहेछ भने उसले सम्मान खोज्दछ। मेरो नाम लिईयोस्, मलाई देखाईयोस्, श्रेय मलाई दिईयोस् भन्ने मनशाय हुन्छ।
सम्मान पाएन भने उ त्यस्तो संस्थामा जोडिनुको प्रयोजन सकिन्छ। सम्मान पाए टिक्दछ, सम्मान नपाए छोडेर हिँड्छ। मान सम्मानको चक्करमा हामी नफसौं। खुसीयालीपूर्ण सामान्य र सहज जीवनयात्रा अगाडी बढाऔं । हरि ॐ तत् सत् ! (आचार्य,जीवन विज्ञान योग प्रशिक्षक हुन्)
प्रतिक्रिया