कीर्तिमानी केपी, साहसी पिके: एउटा भद्दा मजाक

काठमाडौं । कार्तिक महिना प्रारम्भ हुनासाथ मुलुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘कीर्तिमान’ र माके अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘साहस’को चर्चा भाइरल भइरहेको छ । 

साहस र कीर्तिमानजस्ता शब्दको योभन्दा भद्दा दुरुपयोग अरु हुन सक्दैन । न ओली कीर्तिमानी हुन्, न दाहाल साहसी । अनुचरहरुले गुथाइदिने यस्ता नक्कली पगरीको के अर्थ ? 

झुण्डिएका प्रचण्ड

५ कार्तिकमा माके अध्यक्ष दाहाल धुलिखेलको क्लासीक जिपलाइनमा झुण्डिएर रमाउँदै गरेको तस्वीर छ्याप्छ्याप्ती भयो, सामाजिक संजालमा । प्रशंसकहरुले जिप लाइन शयरलाई दाहालको ‘साहस’का रुपमा प्रचार गरे । 

पूर्व माओवादी लडाकु एवं लेखक दिलनिशानी मगरले लेखे, ‘साहसिक जिपलाइनको एउटा डोरीमा विदआउट सेक्युरिटी प्रोटोकल आर्मीजस्तै झुण्डिएर एक्सन दिएको दृश्यबाटै थाहा हुन्छ कि प्रचण्ड शारीरिक र मानसिक रुपमा कति जुझारु छन् भनेर । साहस हुनेहरु नै जिपलाइन चढ्छन्, नहुनेहरु भित्तो कोपर्छन् ।’

सुदूरपश्चिमा गहिरा नदिमाथि गरीब नेपाली दिनहुँ तुइनमा झुण्डिएर वारपार गर्छन् । नेकपा (नेकपा)को करीब दुइ तिहाईको सरकार घोषणापत्रमा बाचा गरे अनुसार  देशभरबाट तुइन विस्थापित गर्न असफल भयो । तुइन त एउटा उदाहरण हो, दाहालसमेतको नेतृत्वमा गठित नेकपा सरकार अन्ततः आफ्नै अक्षमता, आन्तरिक कचिंगल र स्वार्थको गलपासोमा झुण्डियो । 

कम्युनिष्ट सरकारको पतनपछि कम्युनिष्ट पार्टीहरुको विभाजनसँगै कम्युनिष्ट आन्दोलन दिग्भ्रमित र दिशाहीन भइरहेको बेला दाहालले एक मिनटको जिपलाइन सफारीमा रमाउनु कुन चाहिँ ‘साहस’ हो र ? 

दाहाल व्यक्तिगत रुपमा खासै साहसी पनि देखिँदैनन् । मृत्यु भयले उनलाई बारम्बार सताइरहन्छ । हरेक मानिसमा भय हुन्छ, तर दाहालमा यो संबेदना अलि बढी नै छ, किनकी बिगतमा उनले अपनाएको बाटोले धेरैलाई मृत्युको मुखमा पुर्याएको थियो । 

बेलाबेलामा ‘आफ्नो हत्या हुने षडयन्त्र भइरहेको’ भन्ने अभिव्यक्ति दिन पछि नपर्ने दाहाल आफ्नो सुरक्षा र अस्तीत्व रक्षाको तनावमा छन् । आफ्नै देशमा कतै जाँदा ५० भन्दा बढी सुरक्षाकर्मी अघिपछि लगाएर हिँडेबाटै दाहालमा कुन हदसम्म ‘असुरक्षा बोध’ छ भन्ने आँकलन गर्न सकिन्छ । 

जिपलाइन चढ्दैमा दाहालको साहस प्रदर्शन हुँदैन । शीर्ष नेताले प्रदर्शन गर्ने साहसको आयाम बेग्लै हुन्छ । लोकतन्त्र, देश र जनताको हितमा कसैसँग नझुक्ने साहस दाहालमा छ कि छैन ? भन्ने प्रश्न महत्वपूर्ण हो । 

विसं २०५२ देखि २०६२ सम्म दाहालको नेतृत्वमा मुलुकमा हिंसात्मक विद्रोह भयो । हजारौं नेपालीको ज्यान गयो, हजारौं घाइते, बेपत्ता र अपांग भए । जुन संसदीय व्यवस्थाविरुद्ध उनले हिंसात्मक विद्रोह गरेका थिए, अहिले उनी सोही संसदीय व्यवस्थामा सत्ता समीकरण, शक्ति संचय र शुभलाभको सिलसिलेवार चलखेलमा रमाइरहेका छन् ।

के ‘हिंसात्मक विद्रोहको बाटो गलत रहेछ’ भन्नसक्ने साहस दाहालमा छ ? छैन । बिगतमा आफुले अपनाएका गलत विचार, मार्ग र कदम गलत थिए भन्दै आत्मालोचना गर्न सकेको भए दाहालको साहस झल्किन्थ्यो । परिवारबादको सांघुरो घेराबाट मुक्त भइ लोकतन्त्रको संस्थागत विकासमा दलभन्दा माथि उठ्न नसक्ने दाहाल कसरी साहसी ? 

निजबुकको गरिष्ठ गन्थन

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुलाई कीर्तिमानी दाबी गरेका छन् । उनले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारमा भएका कामले गिनिज बुक आधा भरिन्छ ।’कीर्तिमानीका कीर्तिमानले भरिने ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा समावेश हुनेगरि ओली नेतृत्वको सरकारले कायम गरेको एउटा पनि आधिकारिक रेकर्ड छैन । गिनिज बुकमा कस्ता रेकर्ड राखिन्छन् भन्नेसम्मको हेक्का नराखी बोल्दा ओलीले यहाँसम्म भने, ‘दुइ दुइ पटक किड्नी फेरेको प्रधानमन्त्री अरु देशमा छैन, त्यो मै हुँ ।’

मृगौला फेल भएर प्रत्यारोपण गर्ने विश्वका लाखौं विरामीहरुको संबेदनामा योभन्दा भद्दा मजाक अरु के हुनसक्छ ? के मृगौला प्रत्यारोपण गर्नु कुनै रेकर्ड हो ? भारतमा भाजपा सरकारकी संचारमन्त्री सुष्मा स्वराजको पनि मृगौला प्रत्यारोपण गरिएको थियो । 

विरामी हुनु र उपचार गर्नुजस्तो मानवीय संबेदनाको पक्षलाई पनि कीर्तिमानको कसीमा ढाली अतिरंजित गर्व गरेर ओलीले आफ्नै शरीरप्रति व्यंग्य गरेका छन् । 

कुनै सरकार या नेताले राख्ने कीर्तिमानको आयाम पनि बेग्लै हुन्छ । ओलीका पालामा गरीबी कति घटाइयो ? विदेशी मुद्रा संचिती कति बढ्यो ? महँगी कति नियन्त्रण भयो ? रोजगारी कति सिर्जना भए ? कुल ग्राहस्थ उत्पादन कति बढ्यो ? भ्रष्टाचार कति नियन्त्रण भयो ? यसमा ओली असफल भए । 

गिनिज बुकमा त उट्पट्याङ काम गर्नेहरुले पनि रेकर्ड राख्न सक्छन् । स्टेण्डअप कमेडी समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमै स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ । 

गिनिज बुकमा रेकर्ड राख्न सकिने आयाम बग्रेल्ती छन् । आँखा नझिम्क्याई धेरै समयसम्म बस्नसक्ने रेकर्ड राख्न सकिन्छ । धेरै पटक अपान बायु छाड्ने या डकार्ने रेकर्ड पनि हुनसक्छ । 

भारतको राजस्थानका राम सिंह चौहानले १४ फिट लामो जुँगा पालेर गिनिज बुकमा रेकर्ड राखे । एउटा मानिसलाई त्यति लामो जँुंगा आवश्यक छैन । जुँगा नराखे पनि जीवनमा केही फरक पर्दैन । तर, गिनिजबुकमा रेकर्ड राखेको दम्भ प्रदर्शन गर्दै जुँगामा ताउ लगाउन चाहिँ जोसुकैले राम सिंह चौहानको रेकर्ड ब्रेक गर्नसक्छन् । 

अमेरिकाकी ब्रिस वाल्टनले १० फिट २ इन्च लामो नङ पालेर रेकर्ड राखिन् । औंलामा नङ एक त पाल्नै हुन्न, बच्चादेखि नै मानिसलाई नङ काटेर सफा सुग्घर हुन सिकाइन्छ । वाल्टनको सनक न हो, उनले लामै नङ पालेर आफुलाई विश्वभर प्रख्यात बनाइन् ।

इंगल्याण्डका पीटर ग्लेजबरुकले विश्वकै सबैभन्दा ठूलो प्याज फलाए । एउटै प्याजको तौल आठ केजी । भारत, गुजरातकी निलांशी पटेलले १९० सेन्टीमिटर लामो कपाल पालेर गिनिज बुकमा नाम लेखाइन् । किम गुडमेनले आँखालाई ११ मिलिटरसम्म बाहिर निकालेर देखाइन् र नाम कमाइन् । 

मान्छेको स्वभाव हो, उसमा बाँच्ने चाहना (जिजिविषा) पनि हुन्छ र अरुभन्दा भिन्न देखिएर बाँच्ने चाहना (जिवेषणा) पनि हुन्छ । अरुभन्दा भिन्न देखिन उसले प्रयोजनयुक्त या प्रयोजनहीन जुनसुकै फण्डा अपनाउन सक्छ । गिनिज बुक भनेको यस्तै उट्पट्याङ रेकर्डहरुले भरिएको पुलिन्दा हो । 

स्थीरता, सुशासन र समृद्धिको जनताको सपनालाई स्वेच्छाचारी हैकम र अधिनायकबादी हर्कतबाट चकनाचूर पारेका ओलीले जनताको संबेदनालाई गिनिजबुकको प्रतिकसँग जोडेर घोर उपहास गरेका छन् । विजुलीका पोलपोलमा समृद्धिका नारा लेखेर उतिबेलै जन संबेदनाको उपहास गरेका ओलीले अविकास, असमानता, अभावबाट पिरोलिएको देशको भ्रामक चित्रण गरे ।

हो त, जनताको पेट तबसम्म भरिदैन, जबसम्म ओलीजस्ता नेता  ‘गिनिज बुक आधा भरिने’ कृत्रिम समृद्धिको गफ लाजै नमानी दिइरहन्छन् । 

जसपा नेता डा. बाबुराम भट्टराईले उनलाई मुखभरीको जवाफ दिँदै ट्वीट गरे, ‘ओलीको गिनिज बूक रेकर्ड । १.२/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनरस्थापना; २.संघमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा; ३.सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौं कानेखुसी; ४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम; ५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना !’

‘प्रसाईं’हरुको प्रशंसा

ओलीलाई कीर्तिमानी साबित गर्ने एकथरीको होडबिच आएको पछिल्लो खबर झन उदेकलाग्दो छ । आइतबार झापामा आयोजित एक कार्यक्रममा ‘शैक्षिक माफीया’का रुपमा चर्चित दुर्गा प्रसाईंले एमालेमा प्रवेश गरेपछि भने, ‘केपी ओली हजूरबुबामा म मोहमद महाथिर र लि क्वान यु देखिरहेको छु ।’

दुर्गा प्रसाईं तिनै हुन्, जसले माके अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीलाई आफ्नो निवासमा डाकेर एउटै टेबलमा मार्सी भातको मेजमानी दिएका थिए । प्रसाईंका बारेमा दुनियाँ जानकार छ । 

यो बडा रोचक र खेदजनक दृश्य दुबै हो कि ओलीलाई प्रसाईंजस्ता मानिसहरु लिक्वान यु र महाथीर ठानिरहेका छन् ।

ऐतिहासिक अवसर र शक्ति पाएर पनि लि क्वान यु र महाथिर बन्न असफल पात्रलाई सिंगापुर र मलेसियाको आर्थिक कायापलट गर्ने महान नेतासँग दाँजेर स्तुती, त्यो पनि    प्रसाईंबाट । यसबाट पनि ओलीको प्रशंसा कस्ता मानिसहरुले गरिरहेका छन् र उनी कुन स्तरमा खस्किएका छन् भन्ने स्पष्ट हुन्छ । 

जब कुनै पनि नेता जनताको दृष्टिमा अलोकप्रिय हुन्छ, तब अलोकप्रिय मानिसहरुले मात्र उसको प्रशंसा गर्छन् । लोकप्रिय मानिसको त प्रशंसा नै गर्नु पर्दैन । सफल मानिसको योगदान नै यस्तो ‘सूर्य’ सरह हुन्छ, जसलाई देखाउन टर्च लाइट बालिरहनु पर्दैन । 

अग्लो मानिस स्वतः सबै सामु देखिन्छ । लिलिपुटहरुको मात्र हो, भिमकाय बुख्याँचा ठडिने । 

प्रतिक्रिया