काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक सहितको 'स्प्रिङ अफर' सार्वजनिक गरेको छ । टेलिकमले स्प्रिङ अफर सोमबारदेखि उपलब्ध गराउने जानकारी दिएको छ ।
यस अफरमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ ।
यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । स्प्रिङ अफर अन्तर्गत ग्राहकहरूको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएका छन् ।
सेवाग्राहीहरूको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरूको रुचि अनुसारका केही प्याकहरूको मूल्य अझै कम गरिएको टेलिकमले जनाएको छ ।
कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध हुनेछ । यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुनेछन् ।
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
प्रतिक्रिया