युरी रेसेटो-
युक्रेन युद्धको आगोमा जलिरहेको बेला अर्को एउटा देशलाई पनि रुसी हमलाको मनोविज्ञानले त्रशित पारेको छ।
आखिर कुन देश हो, त्यो? जसलाई रुसी आक्रमणको मनोविज्ञानले सताउन थालेको छ? अन्तर्राष्ट्रिय मिडियाको रिपोर्टलाई मान्ने हो भने, त्यो देश लिथुआनिया हो। जसले युक्रेनमा भइरहेको युद्धलाई यतिबेला सबैभन्दा नजिकबाट नियालिरहेको छ। उसलाई रुसले जुनसुकै बेला हमला गर्नसक्ने डरले सताएको छ। यसै कारण लिथुआनियाका नागरिकहरू आफ्नो ज्यानको सुरक्षामा जुट्न थालेका छन्। उनीहरू हिजोआज हतियार चलाउने अभ्यासमा सक्रिय छन्। यो सँगै आफ्नो सामानको सुरक्षा कसरी गर्ने भन्ने ध्याउन्न छ, उनीहरूको।
३९ वर्षका पोलिअस लिस्काउकस विगत ३ वर्षदेखि हतियार चलाउने अभ्यासमा सक्रिय छन्। उनी अभ्यास गर्नुको कारण सम्भावित खतरालाई लिन्छन्। भन्छन्, ‘जुन प्रकारको खतरा महसुस भइरहेको छ, त्यो पहिले भएको थिएन।’
जर्मनीबाट प्रकाशित हुने अनलाइन पत्रिका डिडब्ल्युलाई दिएको अन्तर्वार्तामा लिस्काउकसले भनेका छन्, ‘सन् २०१४ मा रुसले युक्रेनमा हमला गरेर क्रिमियालाई अलग बनायो, त्यतिबेला देखि नै म लिथुआनियाको राइफलम्यान युनियनको सदस्य बन्न चाहन्थे। क्रिमियालाई अलग गराउनु नै युक्रेनमाथि रुसको हमलाको पहिलो कडी थियो। त्यतिबेला पनि रुसको प्रोपगाण्डामा लिथुआनिया थियो। यसको अर्थ दोस्रो नम्बर हाम्रो हो।’
लिस्काउकस आफ्नी श्रीमतीसमेत अन्य महिलासँग अभ्यासमा व्यस्त छन्। श्रीमान–श्रीमती दुवै राइफलम्यान युनियनको हरियो वर्दीमा देखिन्छन्। यो सरकार समर्थित संस्था हो र देशको सेनाको सहयोगका लागि तयार पारिएको अर्धसैनिक बल पनि हो। यसलाई सर्वसाधारणले मिलेर बनाएका हुन्। यसका सदस्यहरू नियमित हतियार चलाउने अभ्यास गर्छन्।
लिथुआनियन राइफलम्यान युनियनको इतिहास निकै लामो र विवादित छ। यो संस्था २० औंं शताब्दीको सुरुमा स्थापना भएको थियो, जतिबेला लिथुआनियामा स्वतन्त्रताको लडाई उत्कर्षमा थियो। यतिबेला यो संस्थाले जर्मनीको नाजी सरकारलाई समर्थन गरेको थियो। लिथुआनिया जतिबेला सोभियत संघमा संलग्न थियो, यतिबेला समूहका सदस्यले सोभियत संघ विरूद्ध लडाईं गरेको थियो। थुप्रै सदस्य स्टालिनको अत्याचारको शिकार पनि बनेका थिए।
सन् १९९० को दशकमा लिथुआनियाले सोभियत संघबाट छुट्टिने फैसला गरेसँगै राइफलम्यान युनियन पुनर्जिवित भएको थियो। अझ, युक्रेन युद्ध सुरु भएपछि यतिबेला संगठनको सक्रियताले तिब्रता पाएको छ। अहिले यो संगठनमा १४ हजार सदस्य छन्।
राइफलम्यान युनियनका धेरै सदस्य त्यो क्षेत्रबाट बनेका छन्, जुन रुससँग रणनीतिक विवादको कारण बन्न सक्छ।
लिस्काउकस पनि ‘सुवाल्की ग्याप’ क्षेत्रबाटै प्रतिनिधित्व गर्छन्। सुवाल्की– लिथुआनिया र पोल्याण्डलाई जोड्ने एउटा सानो भूगोल भएको क्षेत्र हो। जुन रुसको नियन्त्रण भएको कालिनग्राद र बेलारुसको बीचमा पनि पर्छ। अर्थात् यो क्षेत्रमा एकतर्फ रुस छ भने दोस्रोतर्फ उसको घनिष्ट छिमेकी बेलारुस पर्छ।
सुवाल्की ६५ किलोमिटरमा फैलिएको छ। बाल्टिक राज्य तथा नाटो सहयोगीहरूका लागि जमीनसँग सम्पर्क भएको यो एकमात्र क्षेत्र हो। यहाँ बसोबास गर्ने मानिसहरूलाई सधै भयले सताउने गरेको छ। संकट आयो भने सबैभन्दा पहिले रुसले बाटो बन्द गर्छकी भन्ने भय यस क्षेत्रका मानिसहरूको मनमा छ।
यसै कारण स्थानीयहरूमा रुसप्रतिको रुष्टता प्रस्ट देख्न सकिन्छ।
लिस्काउकस पेशाले वकिल हुन्। उनी भन्छन्, ‘रुसी जनता र राजनेताको सोचमा ठूलो अन्तर छ। मेरा केही ग्राहक रुसी छन्। म अहिले पनि उनीहरूसँग सम्पर्कमा छु। उनीहरू प्रति मेरो कुनै गुनासो छैन। मेरो आपत्ति रुसी सरकार र उसले फैलाउने गरेको दुष्प्रचार मात्र हो।’
रुस र लिथुआनिया ४५ वर्षसम्म सोभियत संघमा समावेश थिए। सोभियत संघबाट बाहिरिएपछि लिथुआनियाले सन् २००४ मा नाटोको सदस्यता ग्रहण गर्यो। पछिल्लो समय यी दुई देशबीच तनाब बढ्दै गइरहेको छ। अझ, युक्रेन युद्धपछि लिथुआनियालाई रुसी आक्रमणको डरले सताउन थालेको छ।
लिथुआनियाका सांसद लोरयान्स काचिउनास भन्छन्, ‘युक्रेन युद्धले आँखा खोल्न सहयोग गरेको छ। हामीसँग तयारीका लागि केही वर्ष मात्र बाँकी छ। यसैले हामीलाई नाटोको शक्तिशाली उपस्थिति आवश्यक छ।’
विलिनिअस विश्वविधालयका राजनीतिकशास्त्रका प्राध्यापक टोमास यानेलिउनास भन्छन्, ‘युक्रेन युद्धले लिथुआनियालाई तयारीको समय प्राप्त भएको छ। युक्रेनमा हमला हुँदा लिथुआनियाका जनता निकै डराएका थिए। केहीले देश छोडेर भाग्ने सोचसमेत बनाएका थिए।’
उनी युक्रेन युद्धको घटना आफ्नो लागि राम्रो पाठ भएको बताउँछन्। ‘यसले हामीलाई तयारीको समय दिएको छ। युक्रेनवासीहरूले हाम्रो लागि समय जोगाइदिइरहेका छन्। हामीले यो अवसरलाई राम्रो सदूपयोग गर्नुपर्छ।’
प्रतिक्रिया