काठमाडौं। चीन सिमासँग जोडिएको सिक्किमदेखि अरुणाचल प्रदेशसम्मको क्षेत्रको विषयमा विशेष दख्खल राख्ने लेफ्टिनेन्ट जर्नेल मनोज पाण्डे भारतको सेना प्रमुख नियुक्त हुने पक्का भएको छ।
उनले सेना प्रमुखको जिम्मेवारी १ मेदेखि ग्रहण गर्दैछन्। हालका सेना प्रमुख मनोज मुकुन्द नरवाणेको २८ महिने कार्यकाल यही ३० अप्रिलमा समाप्त हुँदैछ। पाण्डे इन्जिनियरिङ पृष्ठभूमिबाट भारतीय सेनाको प्रमुख बन्ने पहिलो व्यक्ति हुन्। उनी विगत ३९ वर्षदेखि भारतीय सेनामा आवद्ध छन्। उनले सन् १९८२ को डिसेम्बरमा कर्प्स अफ इन्जिनियरर्समा भर्ना लिएका थिए।
सन् १९९९ मा पाकिस्तानविरूद्ध युद्ध हुँदा उनी काश्मिर क्षेत्रमा सक्रिय थिए। ‘अपरेशन पराक्रम’ को समयमा पनि पाण्डे जम्मु तथा काश्मिरमा रहेको पलानवाला क्षेत्रमा इन्जिनियरिङ रेजिमेन्टको कमाण्डर नियुक्त थिए। सन् २००१ को डिसेम्बरमा भारतीय संसद भवनमा आतंकवादी हमला भएपछि भारत–पाकिस्तानबीच युद्धको स्थिति बनेको थियो। त्यतिबेला भारतले पश्चिमी सिमा क्षेत्रमा ठूलो संख्यामा सैन्य तथा हतियार परिचालन गरेको थियो।
पाण्डेसँग पश्चिम थिएटरको इन्जिनियरिङ ब्रिगेड, लद्धाख क्षेत्रको पहाडी डिभिजन र पूर्वोत्तर कर्प्समा कमाण्ड गरेको अनुभव छ। उनले सन् २०२० को जुनदेखि २०२१ को मेसम्म अण्डमान तथा निकोबार क्षेत्रमा पनि कमाण्डर भएर काम गरेका थिए। एक वर्षयता उनी आर्मी मुख्यालयमा महानिर्देशकको पदमा नियुक्त थिए।
भारतको आर्मी प्रमुख नियुक्त हुन लागेका मनोज पाण्डे नागपुरका स्थायी बासिन्दा हुन्। उनका पिता डा. सीजी पाण्डे पेशाले प्राध्यापक हुन्। उनी नागपुर विश्वविधालयमा साइकोलोजी विभागका प्रमुख थिए। उनको आमा ‘अल इन्डिया रेडियो’ मा उद्घोषक थिइन। उनकी श्रीमती अर्चना साल्पेकर दन्त चिकित्सक हुन्। उनले सन् १९८७ मा नागपुरको सरकारी डेन्टल कलेजमा अध्यनरत रहँदा गोल्ड मेडल जितेकी थिइन।
भारतीय सेनाका हालका प्रमुख नरवाणे अवकाश प्राप्त भएपछि उनलाई विपीन रावतको निधनपछि रिक्त रहेको पदमा लैजाने भारतीय अखबारहरूले बताएका छन्। भारतको तीन वटा आर्मी जल, थल र वायु सेनाको कमाण्डरको रूपमा रावतलाई भारतीय आर्मीको पहिलो सीडीएस नियुक्त गरिएको थियो। तर, रावतको ८ महिनाअघि हेलिकोप्टर दूर्घटनामा निधन भएको थियो। त्यसयता यो पद रिक्त थियो। नरवाणेको अवकाशपछि उनलाई सोही पदमा लैजाने तयारी छ।
प्रतिक्रिया