अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौं– अफगानिस्तानको तालिबान सरकारले भिडियो प्लेटफर्म टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ।

प्रवक्ता इनामुल्लाह सामानगानीका अनुसार तालिबान सरकारले अप्रिल २१ मा सञ्चार र सूचना प्रविधि मन्त्रालयलाई दुईवटा डिजिटल प्लेटफर्महरूको पहुँचमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। 

साथै अनैतिक कार्यक्रमहरू प्रसारण गर्ने सबै च्यानलहरू बन्द गर्न निर्देशन दिएको समेत उनले जानकारी दिए।

‘यस्ता एपहरूले युवाहरूलाई बहकाउने गर्छ। त्यस्तै गरी, अनैतिक सामग्री र कार्यक्रमहरू प्रकाशित गर्ने कुनै पनि च्यानलको प्रकाशनलाई सकेसम्म रोक्नुपर्दछ,’ उनले भने।

चिनियाँ स्वामित्वमा रहेको टिकटक युवामाझ लोकप्रिय छ। तर, केही विज्ञहरूले यसको लतको जोखिम र यौन दुर्व्यवहारका कारण बालबालिका तथा युवा वयस्कहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै आलोचना गर्दै आएका छन्।

प्लेअरअन्नोन्स ब्याटलग्राउन्ड्स (पब्जी) दक्षिण कोरियाली गेमिङ कम्पनीद्वारा विकास गरिएको प्लेयर–भर्सेस–प्लेयर अनलाइन शूटर गेम हो। 

विज्ञहरू भन्छन्– अफगानिस्तानमा यी एप पूर्ण रूपमा बन्द गर्न गाह्रो हुनेछ। यी एपहरुमा अझै पनि प्रोक्सी एपहरू र भर्चुअल निजी नेटवर्कहरूमार्फत् पहुँच बनाउन सकिन्छ।

बीबीसी संवाददाता सिकन्दर किरमानीका अनुसार यी दुई एप अफगानिस्तानमा व्यापक प्रयोग गरिन्छ। उनी भन्छन्,‘यी दुवै एप अफगानिस्तानमा व्यापक रूपमा प्रयोग भएको छ। केही युवा तालिबान सदस्यहरूले समेत यसको प्रयोग गरेका थिए।’

प्रतिक्रिया