अरूको ड्राइवर हुन छाडेर आफ्नै गाडी त किनेँ तर चलाउन नपाई म बिमारी परेँ। पेट निकै नराम्ररी दुखेको थियो। कतिसम्म भने म बेहोश नै भएछु।
मेरो बिमार निकै अनौठो खालको थियो। आफू कहाँ छु, के भएको छ भन्ने थाहा छैन। मलाई त सपनाजस्तो हुँदोरहेछ, स्वर्गवास भइसकेका बुबा अघिअघि हिड्नु हुँदोरहेछ, पछिपछि म। बुबा छिटोछिटो अगाडि बढ्नुहुन्छ, म भेट्न दौडिन्छु। जाँदाजाँदै ढोका लागेको जस्तो देखियो। बुबा त्यो ढोका खोलेर भित्र पस्नुभयो। बुबा पसेपछि ढोका खुलै छ। म पस्न खोज्छु त कसैले मलाई तानेर पछारेको जस्तो भयो, ढोका पनि ढ्याम्म लाग्यो। म ब्युँझिएको जस्तो भएँ, सामुन्ने हेर्छु त हजुरबा ससुरा, हजुरआमा सासू र सासू छन्। अर्को एउटा मान्छे छ– उसलाई पनि चिनेँ। उनी अरूण रहेछन्। उनी धरानमा नाम चलेका कम्पाउन्डर थिए। बिमारी जाँचेर औषधि दिन्थे।
म बेहोशी अवस्थामा पुगेपछि हजुरबा ससुराले अरूणलाई घरमै बोलाउनु भएको रहेछ। उनी मलाई उचालेर झड्कार्दा रहेछन्। उनले झड्कारेका बेला म पछारिएको जस्तो भएको रहेछु। बुबा त ढोकाबाट भित्र गइहाल्नु भयो। बुबा भित्र पसेपछि ढ्याम्म ढोका लाग्यो। म जान पाइनँ। बिमारले मलाई यस्तो बेहोश र भ्रमित पारेको रहेछ। निको भएपछि सम्झिँदा त यस्तो लाग्यो, वास्तवमा म त मृत्युको मुखमा पुगेको रहेछु। अरूणले झड्कार्ने र मृत्युको ढोका बन्द हुने काम एकैचोटि भएको रहेछजस्तो लाग्यो।
हजुरबा ससुरा र हजुरआमा सासूहरू ज्वाइँलाई ‘हरिताल’ लागेको भन्थे। हजुरआमा सासूहरू दुईजना थिए। अरूणले औषधि लेखिदिएर गएका थिए। किनेर ल्याउन बाँकी नै थियो, मलाई फेरि पेट पोल्न थाल्यो। शायद औषधि लिन कोही गइसकेको थियो।
फेरि हजुरबा ससुराले झारफुक गरेर जडिबुटीको औषधि दिने एकजना मानिस बोलाउनु भयो। तिनी हाम्रो नजिकै बस्ने वीरमान मगराती नामका सार्की थिए। उनी आए। मलाई भने झारफुक र जडीबुटीमा विश्वास थिएन तर म त केही गर्न सक्ने अवस्थामा थिइनँ। वीरमानले केही झारफुक गरे, हाम्रो सामुन्ने केही जडीबुटी कुटेर कपडछान गरेर खान दिए। एकै छिनमा मलाई केही सञ्चोजस्तो भयो। उनले औषधि त दिए तर उनलाई बिमारी बाँच्छ भन्ने विश्वास नै रहेनछ।
औषधि खाएर माथिल्लो तलामा ओछ्यानमा पल्टेको थिएँ। मिठू कोठाभित्र पसी। वीरमान के भनेर गयो भनेर सोधेँ। निन्याउरो मुख बनाउँदै मिठूले ‘औषधि दिएको छु, मान्छे बाँच्यो भने २० रूपियाँ दिनू’ भनेर गयो भनी। म छक्क परेँ। वीरमानलाई त म बाँच्छु भन्ने विश्वास नै रहेनछ। मलाई भने अलिक आरामजस्तो भइसकेको थियो। मैले मिठूलाई भनेँ– उसलाई फेरि बोलाउनू, अर्को एकपटक औषधि दिनू भन्नू र मान्छे बाँच्यो भने ४० रूपियाँ दिऊँला भन्नू।
मिठूले हजुरबालाई भनी। उसै दिन फेरि वीरमान आए। मेरो अनुहार हेरेर अलिक खुशीजस्ता भए। लौ! केही ‘लागो’ पनि भएजस्तो छ, अक्षता लेऊ, फुकिदिन्छु भने। तुरून्तै केही झारफुक गरे। फेरि हाम्रै सामुन्नेमा केही जडीबुटी कुटेर कपडछान गरेर खान दिए।
म आराम गर्छु भन्दै माथिल्लो तलाको विस्तारामा पुगेँ। बिस्तारामा पल्टेको मात्रै के थिएँ कटक्क पेट काट्यो। पेट थामिएन। चर्पीसम्म पुग्न त के कोपरा माग्नसमेत भ्याइनँ। घरै दुर्गन्धित हुने गरी पखाला चल्यो। एक छिनमा रोकियो, फेरि चल्यो। लगातार तीनपटक पखाला चल्यो। पखालामा त कीरै कीरा पो थियो। त्यसै दिनदेखि मलाई आराम भयो। केही दिनमा म तङ्ग्रिएँ। त्यसपछि त कताकता झारफुक र जडिबुटीमा पनि विश्वास पलायो। वीरमान नभेटिएका भए त म बाँच्ने थिइनँ होला शायद! वीरमान मेरो पुनर्जीवनका लागि विधाता भएर आए। ती विधाता वीरमान यो संसारबाट बिदा भइसके ।
प्रतिक्रिया