गोतामे बाजेको कलम  

के मान्छे आँप हो र झर्छ?

-गोतामे बाजेको कलम

‘तपाईं कहाँ झर्ने दाई ?’

‘ल ल माइतीघर आयो, भटाभट् झर्नुस्।’

काठमाडौंका सार्वजनिक यातायातमा यात्रा गर्नेहरुका लागि यस्ताखाले आवाजहरु सामान्य भइसकेका छन्। तर यहाँ प्रयुक्त ‘झर्नु’ क्रियापद पुरै गलत र असान्दर्भिक छ। बिचरा बस, माइक्रो बसका खलाँसी तथा चालकलाई उनीहरुले गल्ती बोलिरहेको थाहा हुने कुरै भएन। थाहा हुनेहरुले त्यो काम गर्दै गर्दैनन्। तर उनीहरुलाई ‘झर्नु’ होईन ‘ओर्लनु’ भनेर सिकाउन पनि सजिलो छैन, किनकि बसका कन्डक्टरहरुसँग विवाद गर्नु सबैभन्दा मूख्र्यांइँ हुन्छ कहिलेकाहीं।

‘दाइ तपाईं यहाँ झर्ने हो’ एउटा बसको खलासीले केहीदिन पहिले मलाई बानेश्वरतिर सोध्यो। मैले पनि झर्केर ‘भाइ, म कहिं पनि झर्दिन। के म पाकेको आँप हो र झर्छु’ भनिदिएँ। त्यो केटो ट्वाल्ल पर्यो। वास्तवमा झर्ने काम जानी जानी गरिंदैन। दुर्घटनामा मात्र झरिन्छ वा केही झर्छ। झराईमा बल लाग्दैन, बरु बलले काम गर्न छोड्छ। तर हाम्रा बसका भाइहरु हामीलाई झर्न अह्राइरहेका हुन्छन् जहींतहीं। बसमा चढिन्छ र बसबाट ओर्लिन्छ। त्यसैले ‘तपाईं कहाँ ओर्लने’ भन्ने चैं शुध्द प्रयोग हो।

झर्नु भन्दा ओर्लनु उपयुक्त होला यद्यपि उत्रिने काम पानीमा मात्र हुन्छ। हुनसक्छ, गाडीहरु भन्दा पानी जहाज पहिला आविष्कार भएकोले उत्रनु पानी र जमीनमा स्वीकार्य भइसकेको होस्।

यो एउटा उखानले हामी हाम्रो भाषालाई कसरी कमजोर पारी रहेका छौं भन्ने देखाउँछ। यात्रुहरु गाडीबाट झर्छन् भन्ने हो भने आँप, अम्बा, आरु रुखबाट ‘ओर्लन्छन्’ भन्ने अवस्थामा पुगिहालेका छैनौं। तर भाषाको यस्तो अराजक प्रयोगलाई निरुत्साहित गरिएन भने हाम्रा बगैंचाका आँप र आरुहरुलाई ‘ओर्लिन’ समय लाग्ने छैन अब।

वास्तवमा शहरहरुका व्यस्त बाटाहरुमा ठाउँहरुको नामाकरण गर्नमा खलाँसीहरु नै अग्रपंक्तिमा देखिन्छन्। बबरमहललाई उनीहरुले ‘रातोभाले’ नाम दिएको निकै समय भइसक्यो। पेप्सीकोला छेउमा पहिला देखि नै ‘छाप्रो’ भन्ने ठाउँ थियो, अहिले ‘ग्लोव’ थपिएकोछ। उनीहरु बाटो छेउमा जे देख्छन्, त्यसको नाम त्यही राखिदिन्छन्। रातोभाले खाजा घर भएको ‘रातोभाले’ र ग्लोवको नक्शा भएको घर भएको ठाउँ ‘ग्लोव’।

सामान्यतया नयाँ ठाउँको नाम अगाडि ‘नयाँ’ विशेषण जोड्ने गरिन्छ। जस्तो, नयाँबानेश्वर, नयाँ ठिमी, नयाँ बजार, नयाँ बाटो र नयाँदिल्ली आदि। बानेश्वर पहिल्यै थियो माथितिर, पछि तल्लो भेगमा पनि शहर बिस्तार भयो र नाम राखियो ‘नयाँबानेश्वर।’ ठिमी थियो र ट्रलि बस संचालनमा आएपछि नयाँबाटोतिर बस्ती बस्यो, जसलाई ‘नयाँ ठिमी’ नाम दिईयो। ती ठाउँहरु कहिल्यै पनि पुरानो बानेश्वर वा पुरानो ठिमी थिएनन्। त्यसैले उनीहरु पुरानो बाटो भक्तपुर नभनेर पुरानोठिमी भनिरहेका छन्। 

फेरी यी भाइहरु कुनै ठाउँलाई ‘ओरालो’ मात्र भन्छन् भने कुनैलाई ‘उकालो’ मात्र। एकातिरबाट जाँदा ‘ओरालो’ हुने ठाउँ अर्कोतिरबाट जाँदा ‘उकालो’ हुँदैन यिनीहरुको शव्द भण्डारमा।

एकातिर भाषा बिगार्ने काममा केही समयसम्म अग्रस्थानमा देखिएका हाम्रा चालक र कण्डक्टरले गाडी वा ट्रक साहित्यमा ठूलो योगदान दिइरहेका पनि छन्। ट्रकका पछाडि लेखिएका आकर्षक सायरीहरुले उनीहरुको रचनात्मक दिमागतिर पनि संकेत गर्दछ।

त्यसो त नेपाली भाषामा हुने अशुध्द शब्द वा वाक्यको चयनमा मासुपसले र अन्यहरुको पनि योगदान देखिन्छ। हामी कतिपय मासुपसलहरुमा ‘यहाँ शुध्द खसीको र कुखुरा र राँगाको मासु पाईन्छ’ भनेर लेखेको देख्छौं। उनीहरुले शुध्द खसी काटेर मासु जस्तो पनि बेच्छौं भनेका त होईनन् होला। उनीहरुले ‘शुध्द मासु’ बेच्छौं भन्नु पर्नेमा अन्यथा लेखेको पाईन्छ। हुनसक्छ थोरैले त्यस्तो अशुध्द लेखेर इमान्दारी पनि देखाएका होलान्।

त्यसो त नेपालीमा कतिपय शब्दहरु छन् जो सिधा हेर्दा उल्टो अर्थ लाग्ने देखिन्छन्। जस्तो, घिउ तताउँदा घिउमा नबिलाई उभ्रेका ससाना डल्लाहरुको समूहलाई ‘बिलाउने’ भनेर चिनिन्छ। जो बिलाउँदैन त्यसको नाम बिलाउने! त्यस्तै उडुसको काम चिल्नु हो तर यो उड्दैन। चीलले चिल्दैन। यो त उड्छ। अनौठो छ हाम्रो शब्द चयन, नउड्ने उडुस र नचिल्ने चील! हाम्रा नामहरु पनि कहिलेकाहीं अमिल्दा लाग्छन्। हाम्रा धन बहादुहरु गरीव छन् तर गरीवदासले विश्वज्योती सिनेमा हल बनाए। कति सरस्वतीहरु अझै पनि निरक्षर छन् र लक्ष्मीहरु मागेर गुजारा गरिरहेका होलान्।

यो माथि उल्लेखित नेपाली भाषाका कमजोरीहरु पक्कै पनि जानाजान गरिएका होईनन्। हाम्रा चालक र खलासी, पण्डितहरुले छानेका अनुपयुक्त शब्दहरु कुनै खराब नियतवश गरिएका होईनन् पनि। यी सबै अज्ञानतावश गरिएका थिए।

नेपाली भाषामाथि खास आक्रमण हाम्रै तथाकथित विद्वानहरुबाट केही वर्षदेखि गराइँदै थियो। भाषा सुधारका नाममा नेपाली भाषा र नेपाली भाषामा लेखिएका साहित्यहरुलाई खत्तम पार्ने उनीहरुको दुस्साहसलाई नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिविवि लगायतले अहिले वन्देज लगाईसकेका छन्। तर पनि केही स्वनामधन्य विद्वानहरु भित्रभित्रै उनीहरुको अभियान विभिन्न माध्यम मार्फत चलाईरहेका होलान्। यी मूर्ख विद्वानहरुले परिस्थिति यस्तो बनाई दिएकी बाबु र छोराले लेखेका उही शब्दका हिज्जेहरु फरक भए।
 
बाबुले लेखेको छोराले नबुझ्ने र छोराले लेखेको बाबुले पढ्न नसक्ने पारिदिए। हामी विद्यार्थी थियौं। हामी विद्यालय जान्थ्यौं र हाम्रो लक्ष्य विद्वान हुने थियो दुइ दशक अघिसम्म। तर हाम्रा नानीहरु विद्यार्थी बनाईए र विद्यालय जान थाले। उनीहरु विद्वान हुनेछन्। ‘शहर’ ‘सहर’ भयो। गुलाबको ‘फूल’ कुखुराको ‘फुल’ भयो । यदि यो ‘लहडवाजी’ लाई नरोकिएको भए हाम्रा लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण सम आदिका कृतिहरु हाम्रा सन्ततिले पढ्नसक्ने थिएनन्, बुझ्ने थिएनन्। उनीहरुका सम्पूर्ण साहित्यिक कार्यहरु पढ्नलायक हुने थिएनन्।

नेपाली भाषा र साहित्यलाई खत्तम गर्ने काममा हाम्रा तथाकथित विद्वानहरुले किन हात हाले भन्ने कुरा बुझिनसक्नु छ। कसको निर्देशनमा र लगानीमा यी कामहरु भएका थिए भन्ने कुरा एकदिन अवश्य खुल्ने नै छ। वास्तवमा नेपालीको धर्म (हिन्दू),संस्कृति र सामाजिक सद्भावलाई तहसनहस बनाईसकेपछि उनीहरुको ध्यान भाषातर्फ सोझिएको अनुमान गर्न गाह्रो छैन। यो संयोग मात्र थिएन कि अन्तर्राष्ट्रिय संस्थाहरु वा विदेशी निकायमा काम गर्नेहरु वा गरिसकेकाहरुले ‘भाषा सुधार’ को अभियान चलाएका र साथ समेत दिएका थिए। अर्को कुरा नेपाली भाषा र यसको व्याकरण संस्कृतबाट सोझै प्रभावित छ र संस्कृत भाषा मन नपराउनेहरुले पनि यसलाई मलजल गरेका थिए भन्ने आशंका छ।

भाषा सुधारमा लागेका तथाकथित विद्वानले बोलाई र लेखाईमा एकरुपता ल्याउन सुधार आवश्यक भएको भन्ने कुतर्क गरेको पाईन्छ। वास्तवमा अंग्रेजी भाषामा सयौं यस्ता शब्दहरु छन्, उनीहरुका हिज्जे उस्तै भएपनि उच्चारण फरक फरक हुन्छ। बरु नेपालीमा त्यस्तो फरक देखिँदैन।

तर अझै उनीहरु ‘अंग्रेजी जस्तै एकरुपता दिन’ भन्न हिच्किचाउँदैनन्। भाषा समय अनुसार परिस्कृत हुँदैजान्छ र यसले आफैं सुधार खोज्दछ। खराब नियत राखेर सुधार गर्छु, गर्नुपर्छ भनेर कसैले भन्छ भने उ कसैबाट नेपाली भाषा र साहित्यलाई तहसनहस पार्न निर्देशन पाएर लागिपरेको छ भन्ने हरेक नेपालीले बुझ्नु आवश्यक छ। अनावश्यक रुपमा भाषाको वखेडा किन उठ्यो जव कि नेपालीहरु नयाँ संविधानको पर्खाइमा थिए। 

यूरोपियन युनियनको निर्वाचन सम्वन्धी पछिल्लो प्रतिवेदनले पनि स्पष्टत पश्चिमा शक्तिहरु नेपाललाई तहसनहस पार्न, नेपालीलाई विभाजित गरी कमजोर पार्न उद्यत छन् भन्ने देखाएको छ। अहिलेसम्म भएको भाषा विवादलाई पनि उनीहरुले मलजल पनि गरेका थिएकी भन्ने आशंकालाई थप बढाएको छ। अर्काको मानु खाएर आफ्नो घर भत्काउने विद्वानहरु भन्दा अज्ञानतावश गलत शब्द प्रयोग गर्ने हाम्रा खलासी भाईहरु सम्मानका पात्र हुन् भन्दा अतिशयोक्ति नहोला।  

प्रतिक्रिया