पर्दाभित्रको राजनीति

ओलीपन्थीको आसन्न ‘सौराहा सयर’

kusum-bhattarai-1काठमाडौं । चौतर्फी पराजयको सिलसिलाबाट गुज्रिएको नेकपा (एमाले) लाखौं संगठित सदस्यबाट जनही एक सय रुपैयाँ र अपरोक्ष चन्दा (अगणित) उठाएर दशौं महाधिवेशनको ‘गैंडा तामझाम’ मा जुटेको छ । 

एमालेका हालसम्मका नौ वटा महाधिवेशनभन्दा यो बिलकुल भिन्न किन छ भने कम्युनिष्ट पार्टीको इतिहासमै पहिलो पटक विचार र नेतृत्वको सघन प्रतिष्पर्धा हुनेछैन । अध्यक्ष केपी ओली र उनका बफादारहरुको एकल हैकममा चलिरहेको एमालेको यो महाधिवेशन ‘ओलीको गुटगत भेला’ या ‘ओली क्लब’ को पिकनिकभन्दा भिन्न हुने कुनै लक्षण छैन ।

‘केपी ओलीले भनेपछि त्यही हुन्छ’ भन्ने मान्यता लादिएको एमालेको यो महाधिवेशनमा न त भिन्न विचारहरुवीच प्रतिष्पर्धा हुनेछ, न नेतृत्व चयनको लोकतान्त्रिक अभ्यास । अध्यक्ष ओलीलाई चुनौती दिनसक्ने पक्ष माधव नेपालको नेतृत्वमा नेकपा (एस) बनाएर पार्टीबाट अलग भइसकेको छ भने पार्टीभित्रै रहेर ओलीका निर्णयमाथि असन्तुष्टी जनाइरहेका घनश्याम भुषाल र भीम रावलहरुको समूह चाहिँ निरीह र लाचार देखिन्छ, जसको यो पार्टीमा ‘जिरो रिस्पोन्स’ छ । 

अब या त ‘योगेश भट्टराई प्रवृत्ति’ झैं ओलीकै शरणमा पर्दै रंग बदल्ने या माधव नेपाल झैं अलग हुनुबाहेक एमालेमा अल्पमत पक्षको कुनै गुन्जायस र हैसियत देखिँदैन । ओली नै सर्वेसर्वा भएको दलको महाधिवेशन कम्युनिष्ट आन्दोलन र गैरकम्युनिष्ट लोकतान्त्रिक कित्ता दुबैका लागि खासै चासो, अपेक्षा र आशाको अवसर नबन्नु स्वभाविकै हो । 

विचार, सिद्धान्त, कार्यदिशा र पराजय बोधबिना फगत ‘आगामी चुनावमा फेरी दुइ तिहाइ ल्याउने’ भ्रम छर्नकै लागि पार्टीका ‘८ लाख ५५ हजार ४५३ सदस्य’ बाट उठाइएको करोडौं रकम महाधिवेशनका नाममा खर्च गरिदैछ । महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान महाधिवेशन आयोजक समितिभित्रको आर्थिक समितिका संयोजक विष्णु रिमालले सार्वजनिक गरिसकेका छन् । मंसिर ११ र १२ मा सौराहाको सेभेन स्टार होटलमा दुइ दिनसम्म महाधिवेशनको बन्द सत्र हुँदैछ ।  

केही हजार महाधिवेशन प्रतिनिधिको चितवनचर्या र सौराहा सयरबाट आन्तरीक पर्यटनको प्रवर्धन त होला, तर महाधिवेशनपछि एमाले पार्टी अहिले जस्तो छ, बिलकुल त्यस्तै रहनेछ । बरु, ओली गुटकै वर्चस्व भएको नेतृत्व चयनपछि एमालेभित्र अन्तरविरोधका नयाँ धाँजा फाट्ने प्रवल सम्भवना छ । 

UML

‘हारेका सेनापति’  

‘चिसो भनेकै फलानो’ झैं एमाले भनेकै केपी ओली हुन् । एमालेले अध्यक्ष ओलीलाई सर्वोच्च प्राधिकारप्राप्त नेताका रुपमा स्थापित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी चीन फिङलाई माओत्से तुङ र देङ स्याओ पिङकै हाराहारीमा उभ्याए झैं एमालेले पनि ओलीलाई ‘मदन भण्डारी’ कै स्तरमा उभ्याउने प्रचार अभियान चलाइरहेको छ । 

बिडम्बना, एमालेले यस्तो नेतालाई ‘मदन भण्डारी’ सरहको हैसियत दिँदैछ, जो हरेक मोर्चामा हारेको घाइते सेनापति हो । अध्यक्ष ओलीका प्रमुख तिन पराजय जगजाहेर छन्, जसलाई भीमकाय गैंडा या ओलीकै बुख्याँचाले पनि छेक्न सक्दैन । 

१) अध्यक्ष ओली मुलुकका सबै कम्युनिष्ट घटकहरुलाई मिलाएर ‘कम्युनिष्ट केन्द्र’ निर्माण गर्न असफल भए । एमालेका दोश्रो बरियताका नेताहरुसँग पर्याप्त छलफलसमेत नगरी सत्तामोहमा चुर्लुम्म डुबेर ओलीले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दुर्गा प्रसाईं मार्का मेडिकल माफीयाको भान्सामा मार्सी भात खाँदै अघि बढाएको पार्टी एकिकरण प्रकृया र नेकपा (नेकपा) को गठन बुमर्याङ भइसकेको छ । एकिकृत पार्टी जोगाउन ओली असफल भए । 

२) दक्षिण एशियाकै इतिहासमा पहिलो पटक कुनै कम्युनिष्ट पार्टीले दुइ तिहाइ बहुमतका साथ सरकार बनायो । सरकारका प्रधानमन्त्री र एकिकृत पार्टीका अध्यक्षका नाताले ओलीले दुइ तिहाइ बहुमतको सरकार जोगाउन सकेनन् । सबैलाई मिलाएर लैजाने र प्राप्त शक्तिको रक्षा गर्ने क्षमता, चातुर्य, सुझबुझ र उदारता ओलीमा पटक्कै देखिएन । आफ्ना अनुचरहरुबाट प्राप्त ‘राजनेता’ या ‘राज नायक’ को उपमामै मख्ख परेका ओलीमा एउटा राजनेतामा हुनुपर्ने गुण रत्तिभर देखिएन नै, बरु उनी सानो गुटको मुखियाजस्तो देखिए, जुन उनको असफलता हो । 

३) नेकपा (नेकपा) पुरानै अवस्थामा पुग्नु र सरकार ढल्नु एउटा कुरा । कम्तीमा नेकपा (एमाले) संसदमा ठूलो दलको हैसियतमा थियो, अध्यक्ष र संसदीय दलका नेताका हैसियतले एमालेको यो हैसियत जोगाउन पनि ओली असफल भए । पचास वर्षदेखि सँगै पार्टीमा काम गरेका माधव नेपालको समूहलाई उचित व्यवस्थापन गरेर एमालेलाई एकढिक्का राख्नसक्ने क्षमता ओलीमा देखिएन । एमालेको शक्ति क्षयीकरणमा बरु ओलीका उत्तेजक बोली र स्वेच्छाचारी रवैयाले मलजल गर्याे । 

फलस्वरुप एमालेले संघीय सरकार मात्र हैन, प्रदेश सरकारहरुबाट पनि हात धुनुपर्यो । स्थानिय सरकारमा उसको बेहाल भयो । ओलीको दुइ तिहाइको दम्भको घैंटो फुट्यो । ‘राजनेता’ को पगरी पनि हनुमन्ते खोलामा बग्यो । ‘राष्ट्रबादी’ छविको नक्कली आवरण च्यातियो । दरिलो संगठनको आधार भासियो । विचार र सिद्धान्तको पूर्वओज फिका प¥यो । विकास र समृद्धिका नारा खोक्रो साबित भयो । ओलीको मुखबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’ को राग पनि बेसुरा काग कर्कश ध्वनीमा परिणत भयो । 

अध्यक्ष ओलीसँग यतिबेला केही बाँकी छ भने, आफ्ना केही बफादारहरुको झुण्ड छ । शक्ति र आधारबिना चलाइएको ‘एमालेले चुनावमा दुइ तिहाइ ल्याउँछ’ भन्ने हौवा छ । मिनरल वाटरमा ओलीको तस्वीर अनि बडेमानको बुख्याँचाको चमकधमक र गंैडे तामाझाम त बाँकी छ, तर महाधिवेशन प्रतिनिधि सामु प्रस्तुत गर्ने नयाँ कार्यदिशा र महाधिवेशनपछि समग्र देशलाई दिने सन्देश चाहिँ ओलीसँग केही छैन । हारेका सेनापति ओली आफैं घाइते मात्र छैनन्, दल, कार्यकर्ता, देश र जनतालाई दिन उनीसँग केही छैन । 

हो, केही कदम चाल्ने हो भने एमालेको दशौं महाधिवेशन सार्थक हुनसक्छ । पहिलो हो, अध्यक्ष ओलीले साहसका साथ महाधिवेशनमार्फत आफ्ना प्रमुख तीन असफलता स्वीकार्ने । कम्युनिष्ट केन्द्र टिकाउन नसकेको, दुइ तिहाइ जोगाउन नसकेको र एमालेलाई एकढिक्का राख्न नसकेकोमा अध्यक्ष र अगुवाका नाताले गल्ती स्वीकार गर्दै आत्मालोचना गर्ने । 

दशौं महाधिवेशनले पारीत गर्ने राजनीतिक प्रतिबेदनले ‘असफलताबोध’ लाई लिपिबद्ध गरेको खण्डमा कम्युनिष्ट आन्दोलनमै सकारात्मक सन्देश जानसक्छ । आउँदो पुस्तालाई अघिल्लो पुस्ताले स्वीकारेका कमजोरी र असफलताबोध एउटा मार्गदर्शन हुनसक्छ । 

यद्यपि, अध्यक्ष ओली र उनका आसेपासेहरुको रवैया त्यस्तो देखिँदैन । सूर्य झैं छर्लङग असफलता ढाकछोप गर्दै ओलीलाई ‘मदन भण्डारी’ को बिल्ला भिराउने धुन उनीहरुमा सवार छ । आफ्ना कमजोरी र असफलता ढाकछोप गर्न एमालेको संस्थापन पक्ष हाइटेक प्रविधिमा करोडौं खर्च गरिरहेको छ । 

‘ओली सरकार र ओली नेतृत्वको एमालेले समृद्ध नेपाल निर्माणमा युगान्तकारी काम गरेको’ भन्नेजस्ता भ्रामक र हावादारी प्रचारमा ‘साइबर सेना’ हरुले हिटलरका प्रचारक गोयबल्सलाई नै माथ दिएका छन् । ओली स्वयंमा असफलताबोधको कुनै संकेत देखिँदैन । आगामी चुनावमा दुइ तिहाइ ल्याउने अवस्तुबादी नारा दिंदै उनले आफ्ना कार्यकर्तामा भ्रम छरिरहेका छन्, जसले एमालेलाई झन कमजोर बनाउँदैछ । 

बिचार हैन, ‘बालकोट’ को आशिर्वाद

अवश्य पनि, यो महाधिवेशनमा एमाले नेतृत्वको लोकतान्त्रिक व्यवस्थापन हुनेछैन । ओलीको ‘हुकुम’ मा आधारित टिके प्रथाले जसलाई चयन गर्छ, उसकै पलडा भारी हुनेछ । ओलीका अति बफादार इश्वर पोखरेल,  विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमालदेखि महेश बस्नेत र गोकुल बाँसकोटासम्मका नेताहरु ‘उच्च कोटरी’ मा छन्, जो बालकोटबाट एमाले चलाइरहेका छन् । 

माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टजस्ता नेताहरुको अर्को झुण्डको महात्वाकांक्षा उस्तै प्रवल छ । अनि १० बुँदे सम्झौताको ‘दुन्दुभी’ बजाइरहेका घनश्याम भुषालदेखि भीम रावलसम्मले नेतृत्वमा हालको हैसियत गुमाउने प्रश्नै उठेन । 

अध्यक्ष पदमा ओलीलाई चुनौती दिनसक्ने कोही खडा भए पनि उसको संभावना देखिँदैन । एक बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र सात सचिव पदमा दर्जनौं नेताहरुको स्वार्थ आपसमा बाझ्दैछ । रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा ‘एकले अर्कालाई कसैले नछाड्ने र नमान्ने’ अवस्था छ । 

महासचिवमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल, गोकर्ण बिष्ट, भीम आचार्य र पृथ्वी सुब्बा गुरुङ मात्र हैन, शंकर पोखरेल, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे र योगेश भट्टराईसम्मको दाबीको व्यवस्थापन अध्यक्ष ओलीका लागि ‘ठूलै झमेला’ हो । 

ओलीका अनन्य पात्र महेश बस्नेत यसपटक सचिव ताक्दैछन् । ओलीको कृपाबाट महेशलाई सचिव बनाएको खण्डमा यही पदका दाबेदार मणि थापा, टोपबहादुर रायमाझीजस्ता पूर्व माकेका नेता मात्र हैन, भानुभक्त ढकाल, लालबाबु पण्डित, शेरधन राई, कृष्ण गोपाल श्रेष्ठ, खगराज अधिकारी, थममाया थापा, शेरबहादुर तामाङ र विशाल भट्टराईजस्ता ओलीकै बफादारहरुसमेत बिच्कनेछन् । 

यी दाबेदारहरुवीच स्वस्थ र स्वतन्त्र प्रतिष्पर्धा पक्कै हुनेछैन । राष्ट्रिय पंचायत निर्वाचनमा दरबारबाट कसले आशिर्वाद पाउँछ, उसले नै रापंसमा जिते झैं, ‘बालकोट दरबार’ को आशिर्वाद पाउनेले नै एमालेमा पनि जित्ने पक्का छ । विचार हैन, बालकोटको आशिर्वादको भरमा चयन हुने एमाले नेतृत्वबाट कम्युनिष्ट आन्दोलन र देशले के अपेक्षा गर्ने ? 

यसर्थ पनि एमालेको दशौं महाधिवेशन ओली सर्वसत्ताबादको नवीकरण र एमालेको क्षयीकरणमै सीमित हुनेमा शंका छैन । बरु, महाधिवेशनपछि बालकोटको कोपभाजनमा परेकाहरु निराश भएर राजनीतिबाटै पलायन हुनसक्ने या नेकपा (एस) या माकेको शरणमा जानसक्ने देखिन्छ । 

पक्कै ओलीसँग मौका छ, त्यस्तो हुनबाट रोक्ने । ओली अब एमालेको विलोपीकरणको खलनायक हुनेछन् या एमालेलाई सुधारेर पुनर्जागृत गराउने नायक, त्यो चाहिँ आगामी दिनमा देखिनेछ । 

 

प्रतिक्रिया