नेपाली अर्थतन्त्रको मूख्य रोग ‘डच डिजिज’ होः अर्थविद् वसन्त लोहनी

नेपालको बिग्रिएको अर्थतन्त्रबाट बाहिर निस्किन सबैभन्दा पहिले राजनीतिक प्रतिबद्धता आवश्यक छ। खाली हल्लाको भरमा र ठूला–ठूला नाराले नेपालको अर्थतन्त्रमा सुधार आउने होइन।

वास्तवमा नेपालमा विकाशको नमूना नै छैन। तपाईंहरूलाई कसैले देशको ‘डेभलप्मेन्ट मोडल’ को विषयमा प्रश्न सोध्यो भने के उत्तर दिनु हुन्छ? समाजवाद नेपाली राजनीतिकर्मीको लागि नारा बनेको छ भने कार्यकर्ताका लागि थपडी बजाउने बहाना।

यो जनतालाई बेवकुफ बनाउन मात्र हो। हाम्रा नेताहरूलाई समाजवादसँग केही लेनादेना छैन। देश समाजवाद उन्मुख भएको भए, अर्थतन्त्रको अवस्था यस्तो हुँदैन्थ्यो। यो पक्का कुरा हो। नेपालको गिर्दो अर्थ व्यवस्थालाई हेर्दा अब देशमा ‘भिजन’ भएको नेता, आफूलाई अनुशाषनमा राखेर विधिको शाषन चलाउन उद्दत व्यक्तिको आवश्यकता बोध भइसकेको छ। जबसम्म राज्यमा ‘चेक एण्ड ब्यालेन्स’ पद्धति मजबुत हुँदैन, देश उघो लाग्न सक्दैन।

हाम्रा नेताहरूले कल–कारखाना पहिले नै खत्तम बनाइसकेका छन्। कृषि पनि समाप्त गर्ने दिशामा उनीहरू उन्मुख भएको अहिलेको पाराले देखाउँछ। वास्तवमा अहिले भन्नुपर्दा, उद्योग, कल–कारखानाबाट राष्ट्रिय आयमा ५ प्रतिशतभन्दा कम योगदान छ। कृषिको योगदान पनि २५ प्रतिशतभन्दा कम होला, माथि छैन।

पछिल्लो समय सर्भिस सेक्टर ‘बुम’ भएको छ। यसमा पनि बंैकिङ र रेमिटेन्स माथि आएको देखिन्छ। तर, बैंकिङ क्षेत्रको कुरा गर्दा यो पनि रेमिटेन्समा बढि आश्रित छ। त्यसैले रेमिटेन्स राम्रोसँग आउन छोडेको दिन नेपालको बैंकिङ क्षेत्र पनि ढूलमूल हुनेछ। हाम्रो अर्थतन्त्रको मूल समस्या ‘डच डिजिज’ हो। नेदरल्याण्ड्सको सन्दर्भमा ब्याख्या भएको कारण यसलाई ‘डच डिजिज’ भन्ने गरिन्छ।

मूलतः एउटै क्षेत्रमा आश्रित अर्थतन्त्रलाई नै ‘डच डिजिज’ भनिन्छ। जस्तो कि हाम्रोमा रेमिटेन्समा मात्र अर्थतन्त्र आश्रित छ। हामी कहाँ अन्य क्षेत्रको विकाशका लागि पहल भएन। खालि रेमिटेन्सको मुख ताक्ने काम भयो। अहिले रेमिटेन्स घटेका कारण अर्थतन्त्र थचक्क बसेको हो। हामीले अर्थतन्त्रमा जुन कुरा देखिरहेका छौं, त्यो ‘इफेक्ट’ मात्र हो। हामीलाई लागेको रोग ‘डच डिजिज’ हो। यसको कारकतत्व राजनीतिमा गएर ठोकिन्छ।

अहिले राजनीति गर्ने कुनै पनि नेतामा पारदर्शीता छैन। मुलुक पद्धतिले चल्छ। तर, यहाँ पद्धति बनाउने सोच कुनै नेतामा पलाएको देखिदैन। पद्धति बन्यो भने जनजीविका रूपान्तरण गर्न सकिन्छ। तर, हाम्रा नेतामा पद्धति बनाउने भन्दा पनि कसरी भत्काउने भन्ने लहड देखिन्छ। आफू सत्तामा आएपछि गर्भनरलाई निष्कासन गर्ने लहड चल्यो, उहाँहरूलाई। निकालिदिनु भयो।

राजदूतहरू भटाभट् नियुक्ति गरिएका छन्। विश्वको सबैभन्दा बलियो अर्गनाइजेशन ‘परिवारवाद’ हो। ‘परिवारवाद’ भन्दा बलियो अर्गनाइजेशन यस धर्तीमा अर्को बन्न सकेको छैन। अहिले नेपालका प्रायः सबै नेताहरू आफन्तलाई पदको लाभ दिएर ‘परिवारवाद’ लाई नै बलियो बनाउन खोजिरहनु भएको छ। विभिन्न ठाउँमा आफ्नो मान्छे भर्ति गरेर पैसा उठाउने काम भइरहेको छ। राजनीतिमा परिवारवाद किन हावी हुन्छ, तपाईहरूले विचार गर्नुभएको छ?

वास्तवमा राजनीतिमा पद्धति भत्काइएपछि परिवारवाद हावी हुने हो। आफ्नो परिवारलाई हावी गराउन नै नेपालमा पद्धति भत्काउने काम भएको छ। पद्धति नभत्काएसम्म परिवारवाद बलियो हुँदैन। यो थ्योरी हो। अहिले नेपाली अर्थतन्त्रको ‘इको सिस्टम’ ध्वस्त पारेको अवस्था हो। यहाँ अख्तियार पनि छ, राष्ट्र बैक पनि। तर, उनीहरूको भूमिका केही देखिदैन। अहिलेको अवस्था एकै दिनमा भएको होइन।

यसबीच पार्टीका कार्यकर्ता भर्ना गर्नेदेखि लिएर सबै काम भएका छन्। अदालतको अवस्था ग्यारेजमा थन्क्याएर राखेको मोटर जस्तो भएको छ। अख्तियार भोटे कुकुर जस्तो भएको छ। जनताले चुनेर हामीलाई पठाएको हो भन्ने घमण्ड नेताहरूमा छ। उहाँहरूले समाजवादको गफ दिन छोड्नु भएको छैन। आधा गन्तब्यमा पुगिसक्यौं भनेर हावा पनि दिनुहुन्छ। तर, देशको अवस्था दिनहुँ खस्किरहेको छ।

अर्थतन्त्रको अहिलेको मुलभूत समस्या भनेको नेतृत्वमा बस्ने नेताहरूको सोच, दृष्टिकोण, धारणा र मुलुकप्रतिको संवेदनशीलता नभएको अवस्था हो। यही अवस्था चलिरहने हो भने श्रीलंकाभन्दा खराब अवस्थामा मुलुक नपुग्ला भन्न सकिन्न।

 

यो पनि पढ्नुहोस 

‘नेपालको बजेट कर्मकाण्डी भइसक्यो’

नेपालमा भएका सबै ठूला ‘एलसी काण्ड’ बजेट मिलाएर भएको हो

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक छ

 

 

प्रतिक्रिया