काठमाडौं– टेस्लाका सीईओ एलोन मस्क ट्वीटरको नयाँ मालिक बनेका छन्। मस्कले माइक्रो ब्लगिङ साइट किन्न ४४ अर्ब डलरको सम्झौता गरेका छन्। ट्वीटरको स्वतन्त्र बोर्डका अध्यक्ष ब्रेट टेलरले प्रेस विज्ञप्ति जारी गर्दै मस्कसँग भएको सम्झौताको जानकारी दिएका हुन्।
मस्कले ट्वीटरको प्रत्येक सेयरको लागि ५४.२० डलर तिर्नुपर्नेछ। ट्विटरमा उनको पहिले नै ९ प्रतिशत शेयर छ। उनी ट्वीटरको सबैभन्दा ठूलो शेयर होल्डर हुन्। पछिल्लो सम्झौतापछि कम्पनीमा उनको शतप्रतिशत हिस्सेदारी रहनेछ र ट्वीटर उनको निजी कम्पनी हुनेछ।
सम्झौतामा के छ?
सीएनएनका अनुसार मस्कको स्वामित्वमा रहेको कम्पनी बनेपछि ट्वीटरका सबै शेयरधनीले प्रत्येक शेयरबापत् ५४.२० डलर पाउनेछन्।
मस्कले गत हप्ता ट्वीटर किन्न ४६.५ बिलियन डलरको आर्थिक सहयोग गरेको बताएका थिए। यसपछि, ट्वीटरको बोर्डले मस्कको प्रस्तावलाई नयाँ रूप दिएको थियो। आइतबार मस्कको प्रस्तावमाथि छलफल गर्न ट्वीटरको बोर्डको बैठक पनि बसेको थियो।
सोमबार ढिलो गरेर ट्वीटरको बोर्डले मस्कको प्रस्तावलाई स्वीकार गरेको छ। यस्तो अवस्थामा मस्क ट्वीटरको नयाँ मालिक हुने लगभग तय भइसकेको छ। माइक्रो ब्लगिङ साइटको खरिद सम्झौता अन्तिम भएपछि मस्कले स्वतन्त्र अभिव्यक्तिको वकालत गर्दै ट्वीट गरेका छन्।
‘सामाजिक मिडिया प्लेटफर्ममा अभिव्यक्ति स्वतन्त्रता खतरामा छ। म स्वतन्त्रता सुनिश्चित गर्न चाहन्छु,’ उनले लेखेका छन्।
प्रतिक्रिया