भरतपुर। नेपाली कांग्रेसका ‘बागी उम्मेदवार’ जगन्नाथ पौडेलले कुनै पनि हालतमा मेयर पदको उम्मेदवारीबाट आफूले नाम फिर्ता नलिने स्पष्ट पारेका छन्। बरु उनले गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार रेनु दाहाललाई नाम फिर्ता लिन आग्रह गरेका छन्।
शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले भने, ‘म कुनै पनि हालतमा नाम फिर्ता लिन्न। मलाई समर्थन गर्ने साथीभाईप्रति आभार व्यक्त गर्दछु।’
भरतपुर कांग्रेसका पुराना नेतामध्ये एक पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाँड र विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए। लामो वार्तापछि पनि पौडेलले आफ्नो अडानलाई दोहर्याएका छन् भने दुवै मन्त्रीहरू निरास भएका छन्।
‘उहाँहरू मैले नाम फिर्ता लिए राम्रो हुन्छ भनिरहनु भएको छ। म फिर्ता लिन्न भनिरहेको छु,’ उनले भने, ‘केन्द्रियस्तरको समझदारी बिग्रनु हुन्न भन्नेमा म पनि छु। तर, स्थानीय निकायमा संविधानले दिएको मौलिक अधिकार हामीले प्रयोग गर्न पाउने कि नपाउने?’
उनले आफू लाभ लिनका लागि राजनीतिमा नआएको स्पष्ट पारे। ‘म परिवर्तनका लागि हिँडेको व्यक्ति हुँ। संविधानपदत्त हक खोसिन्छ भने म त्यसको पक्षमा छैन। म कुण्ठित र विवेकलाई बन्धक राखेर हिँड्ने व्यक्ति पनि होइन,’ उनले भने।
उनले आफू जस्तो सानो कार्यकर्तालाई कांग्रेसका नेताहरूले सम्झिएकोमा आभार व्यक्त गरे। ‘मेरो उम्मेदवारीलाई उहाँहरूले गम्भीरताका साथ नहेर्न आग्रह गर्दछु। अर्को पक्ष पनि गठबन्धनमा छ। म राजनीति गर्दा जेलनेल परेको मान्छे। उमेरले पाको पनि। त्यसैले रेनु दाहालजीलाई जगन्नाथ बुढो भइसक्यो, छोडिदिनुस् भन्नु पर्यो नि,’ उनले भने।
आफू नेपाली कांग्रेसको सामान्य कार्यकर्ता भएको उनले बताए। ‘यहाँका आम मान्छेले रेनुजीलाई नाम फिर्ता लिनु भनेका छन्। म आम मान्छे। मलाई सबैले सहयोग गर्ने ठाउँमा उल्टै दबाब दिने काम भएको छ,’ उनले बताए।
प्रतिक्रिया