रंगमञ्चको राग

 इरफान खान, सुनिल पोखरेल र अमित बेनर्जी 

अमित बेनर्जी नाटक, टेलिफिल्म, टेलिसिरियल र फिल्ममा चर्चित नाम हो। 

भारतका यी कलाकारले हिन्दी, बंगाली, उर्दूलगायत विभिन्न भाषाका सयौं नाटक, फिल्ममा आफ्नो सशक्त अभिनय प्रस्तुत गरिसकेका छन्। उनले अमेरिका, बेलायत, जर्मनीलगायत विभिन्न मुलुकमा आयोजना गरिएका नाटक र फिल्मसम्बन्धी Ameet 333कार्यक्रममा सहभागी भएर आफ्नो प्रतिभा पस्किसकेका छन्।

चार दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा क्रियाशील अमित कोलकातामा बस्दै आएका छन्। अभिनयको साथै अध्यापनमा पनि उत्तिकै सक्रिय उनले भारतका विभिन्न थिएटर, फिल्म र ड्रामा स्कुलमा भिजिटिङ फ्याकल्टीका रुपमा अध्यापन गर्दै आएका छन्।  
 
एकताका नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्लीमा नाटक र अभिनयसम्बन्धी कोर्स पढ्दा इरफान खान  र सुनिल पोखरेलसँग उनको मित्रता घनिष्ठ रहेको थियो। त्यहाँ पढाइ सिध्याएर आ–आफ्नो कर्मथलो फर्किएपछि यी मित्रत्रयबीच भेटघाटको अवसर जुरेन। इरफान चर्चित फिल्मस्टार बने, जसको देहावसान भइसकेको छ। गुरुकुलका संस्थापक सुनिल पोखरेलले नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। कोलकातालाई कर्मभूमि बनाएका अमित बेनर्जीले अभिनय र अध्यापन क्षेत्रमा अनवरत क्रियाशील छन्।

यसपालि पाँच दशकपछि बल्ल अमित र सुनिलको काठमाडौंमा भेट भयो। नाट्य संगीत प्रतिष्ठानको निमन्त्रणामा अभिनयसम्बन्धी अनुभव सुनाउन र प्रशिक्षार्थीलाई केही सिकाउन उनी काठमाडौं आएका थिए। करिब एक साताको काठमाडौं बसाइमा उनले नेपालका विभिन्न कलाकारसँग अन्तक्र्रिया गरे, विभिन्न प्रशिक्षार्थीहरुलाई अभिनय सिकाए, आफ्ना अनुभव सुनाए। यसपालिको नेपाल यात्रा अत्यन्त राम्रो भएको र अर्को पटक अझै बढी समयका लागि आउने उनले बताए। बानेश्वरस्थित गुरुकुल थिएटर परिसरमा अमितले आफ्नो परिवार, अभिनय यात्रा, इरफान खान र सुनिल पोखरेलसँगका संस्मरण आदिमा Ameetकेन्द्रित रहेर आधा घन्टा आफ्ना अनुभव सुनाए। अमितको रामकहानी उनकै शब्दमा: 
     
पारिवारिक पृष्ठभूमि 

मेरो यस्तो परिवारमा जन्म भयो, जुन सांस्कृतिक थियो। मेरा पिताजी विभिन्न जात्राहरुमा कार्यक्रम गर्नुहुन्थ्यो, लेख्नु पनि हुन्थ्यो। मेरी ठूलो दिदी पनि सांस्कृतिक कार्यक्रमप्रति अभिरुचि राख्नुहुन्थ्यो। उहाँ दुई वर्ष पहिले ९० वर्षको उमेरमा बित्नुभयो। त्यस बेला नाटकमा महिला भएर महिलाको भूमिका निर्वाह गर्ने उहाँ उत्तर बंगालको पहिलो महिला हुनुहुन्थ्यो। त्यसअघि पुरुषले महिलाको भूमिका निर्वाह गर्दथे। 
   
भारत पश्चिम बंगाल राज्यको सिलिगुडीबाट माल्दा जाँदा बाटोमा कालियागन्ज भन्ने सानो शहर छ, त्यहीँ हो मेरो घर। मेरो घर भएको क्षेत्र चाहिँ उत्तर बंगालमा पर्छ। मेरो जन्म, बाल्यकाल, स्कुले जीवन त्यहीँ बित्यो। सुरुका दिनमा मैले त्यहीँ नै नाटक गरेँ। 

मेरो पिताजीले ल नाटक गर्न जानुपर्छ भन्नुहुन्थ्यो। यसरी वैचारिक दृष्टिले प्रगतिशील परिवारमा मेरो जन्म भयो। सानैदेखि घरमा गानाबजाना, नाटक आदि वातावरण प्रत्यक्ष देख्न पाइयो। ठूलो हुँदै गएपछि त्यसैको असर ममा पर्न गयो। 

पढाइ लेखाइमा पनि म अब्बल थिएँ। मलाई नाटक गर्दा मज्जा लाग्थ्यो। मैले एउटा नाटक मण्डलीमा भर्ती भएर काम गरेँ। त्यसलाई ‘ग्रुप थिएटर’ भनिन्थ्यो। मैले १४–१५ वर्ष त्यहीँ नै नाटक गरेँ। 

मलाई लाग्यो कि बाहिर गएर केही गर्नुपर्छ, केही सिक्नुपर्छ। मैले पुना स्टुडियोको लागि आवेदन दिएको थिएँ। तर, त्यो बेला पुना स्टुडियोमा एक्टिङ कोर्स थिएन। उनीहरुले मलाई चिठी लेखिदिएर यदि एक्टिङ सिक्न चाहने हो भने दिल्ली जानुपर्छ भनी सुझाव दिए। त्यसपछि म एसियाकै सबैभन्दा ठूलो दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा गएँ। त्यहाँ पढ्ने अवसर मिल्यो।
मैले बंगला माध्यममा स्कुल शिक्षा लिएको थिएँ। स्कुलमा अलिअलि संस्कृत पढेको थिएँ।  हिन्दी बोल्न राम्ररी आउँदैनथ्यो। अंग्रेजी अलिअलि लेख्न सके पनि बोल्न आउँदैनथ्यो। त्यो जमानामा गाउँमा अंग्रेजी माध्यमका स्कुल थिएनन्, कलकताजस्ता शहर त थिए। त्यही भएर पनि अंग्रेजी अप्ठ्यारो लाग्थ्यो। 

यदि कान तयारी अवस्थामा रह्यो भने कुनै पनि भाषा सिक्न अप्ठ्यारो हुँदैन। केही सिक्नका लागि, बुझ्नका लागि मेरा कान तयार थिए। म नयाँ कुरा सिक्नुपर्छ भनेर जिज्ञासु थिएँ। त्यही भएर मैले बालबालिकालाई भन्ने गरेको छु– केही सिक्ने हो भने पहिले ‘कानसेन’ बन्नुपर्छ अनि मात्र ‘तानसेन’। 

मैले बाल्यकालदेखि नै थिएटरमा काम गरेको थिएँ। केही सिक्नुपर्छ भन्ने हुटहुटी थियो। दिल्ली आएपछि मैले निक्कै मेहनत गर्नुपर्यो। बिहान ६ बजे क्लास हुन्थ्यो। ५ बजे उठेर केही अभ्यास गरेर मात्र क्लास जान्थेँ। त्यसपछि हिन्दी र अंग्रेजी भाषा पनि सिकेँ। पछि हिन्दी राम्रो भयो, अंग्रेजी पनि कमान्ड भयो। पछि उर्दू पनि सिकेँ। हिन्दीभाषीको बाहुल्य भएको ठाउँमा पढाउन जाँदा म उनीहरुको हिन्दी भाषा सुधार्न सक्ने भएको छु। अहिले मलाई हिन्दी, बंगला, उर्दू र अंग्रेजीमा बोल्न र लेख्न कुनै असहजता छैन। मैले उर्दुमा पनि नाटक गरेको छु।

त्यसैले मैले भन्दै आएको छु कि यदि मैले गर्न सक्छु भने अरु जोकोहीले पनि गर्न सक्छन्। म त्यस्तो ठाउँबाट त्यतिखेर दिल्ली आएको थिएँ, धेरै कुराहरु थाहा थिएन। पछि बिस्तारै–बिस्तारै सिक्दै गएको हुँ। 

इरफान खान र सुनिलसँग विद्यार्थी जीवन

Coupleइरफान खान र सुनिल पोखरेल मेरा विद्यार्थी जीवनका साथी हुन्। इरफान, सुनिललगायत हामी विद्यार्थीले दिल्लीस्थित स्कुल अफ ड्रामामा सँगै एक्टिङ पढेका हौं, हामीहरु एकसाथ अगाडि बढेका हौं अनि हाम्रो परिपक्व दिमाग तयार भएको हो। हामी त्यहाँको सन् १९८४–८७ को ब्याच हौं। 

अहिले ३२ वर्षपछि नेपाल आएर सुनिललाई भेट्दा निक्कै भावुक भएँ। उनलाई भेट्दा खुसीको आँसु नै झर्यो। आफूलाई सम्हाल्नै गाह्रो भयो। यस पटक म संगीत नाट्य प्रतिष्ठानको निमन्त्रणामा नेपाल आएको हुँ। मैले विद्यार्थीमाझ आफ्ना अनुभव सुनाएँ। यो साँच्चिकै सुन्दर यात्रा हो। 

मेरी श्रीमती क्लासिकल डान्सर हुन्। सुनिलकी श्रीमती निशाजी पनि अब्बल कलाकार हुन्। म र सुनिल यो स्थानमा आउनका लागि कहीं न कहीं श्रीमतीजीहरुको ठूलो हात छ। यो कुरा त मैले सुनिललाई पनि भनिसकेको छु।

निशाजीसँग भेट भयो, कुराकानी भयो, उनी एकदमै कुशल व्यवस्थापन कला भएकी महिला हुन्। कलाकार अलि अव्यवस्थित हुन्छन्, उनीहरुलाई सम्हाल्न कहाँ सजिलो छ र! उमेरले सुनिल मभन्दा चार वर्ष कान्छा हुन्। दिल्ली पढ्न जाँदा उनी २० वर्षका थिए। त्यही बेलादेखि नै सुनिल एकदमै ट्यालेन्ट थिए। 

अर्का साथी इरफान खान, जो दिवंगत भइसकेका छन् । उनले अभियानमा अभ्यास गर्दागर्दै हलिउडसम्म सफल पुगे। अत्यन्त चर्चित स्टार बने इरफान खान। म कहिल्यै पनि सुनिल इरफानभन्दा कम हुन् भन्ने कुरा मान्दिनँ। 

पढाइ सिध्याएर सुनिल नेपाल आएर आफ्नै तरिकाले काम गर्न थाले। मैले पनि थिएटरमा काम गर्न थालेँ। थिएटरमा पैसा कम छ, त्यही भएर मैले पनि फिल्ममा काम गरेँ। मेरो उमेर पनि बढ्दै गयो, त्यही भएर धेरै भागदौड गर्नुभन्दा टिचिङमा मैले बढी समय दिन थाले। फिल्मको सुटिङ गर्दा १५–१६ घन्टासम्म लगातार काम गर्नुपर्छ, तर उमेर बढ्दै गएपछि त्यस्तो गर्न सकिँदैन। त्यही भएर मैले मुम्बई, भोपाललगायत विभिन्न स्थानमा एक्टिङ पढाउन थाले, विभिन्न नाट्य स्कुलहरुमा। बीचमा केही राम्रो रोल आयो भने त्यो पनि गरिरहेको छु। लामो समयदेखि म कलकत्तामा रहेर काम गर्दै आएको छु। 

मैले तीन वर्ष दिल्लीमा नाटकको कोर्स गरेपछि एक वर्षजति अनुसन्धान गरेँ। त्यसपछि मैले दिल्लीकै प्रोफेसनल कम्पनीमा एक्टरको रुपमा काम थालनी गरेँ। त्यहाँ मैले सात वर्ष काम गरेँ। काम थालेको २–३ वर्षपछि नै मलाई एउटा रोल अफर भयो। नाटक थियो– सूर्यको पहिलो किरणदेखि अन्तिम किरणसम्म। हिमानी शिवपुरी त्यसमा हिरोइन थिइन्। त्यसमा मेरो लिड रोल थियो। त्यो नाटक ज्यादै चर्चित भयो र त्यसबाट मेरो नाम पनि चम्कियो।

सम्झनामा इरफान खान

वास्तवमा इरफान खान मेरा लागि अत्यन्तै मिल्ने साथी थिए। त्यही भएर मैले उनलाई एक मित्रकै रुपमा हेर्ने गर्छु। अरु व्यक्तिहरुको हेराइ आ–आफ्नो हुन्छ। जस्तो कि: मनोज बाजपेयी पनि मेरा साथी हुन्। नवाउद्दिन सिद्घिकी मेरा विद्यार्थी हुन्। पंकज त्रिपाठी मभन्दा धेरै जुनियर हुन्। यसरी विभिन्न स्टारसँग अभिनय यात्रा कायम रह्यो। म ६ फिट अग्लो मान्छे। अभिनय पनि बेजोड गर्दथेँ। त्यसबेला म निक्कै चर्चामा थिएँ।

यी मैले माथि भनेका नामहरु धेरै चर्चित भए। अरुको लागि फरक दृष्टिकोण हुन सक्छ। तर, मेरा लागि साथी हुन्, विद्यार्थी हुन्। बस् म त्यही रुपमा उनीहरुलाई सम्झिने गर्छु। मैले बच्चालाई पढाएर पछि ठूलो हुन्छ, मेरा लागि त ऊ बच्चा नै हुन्छ नि!

त्यसैले इरफान मेरा लागि घनिष्ठ मित्र हुन्। त्यसैगरी, मनोज बाजपेयी पनि मेरा एकदमै मिल्ने साथी हुन्। सुनिल पोखरेल पनि मेरा अच्छा मित्र हुन्। मैले यी साथीहरुलाई जीवनमा सधैँभरि सम्झिरहेको हुन्छु। 

इरफान र मेरो जीवनकै पहिलो सिरियल दिल्लीमा सुटिङ भएको थियो। त्यसबेला म त्यहाँ ड्रामा स्कुलमा सेकेन्ड इयरमा पढ्दै थिएँ। त्यहाँ कलेजकै एकजना हामीभन्दा सिनियर विद्यार्थीले पनि काम गर्थे। उनले मलाई बोलाएर एक दिनको छोटो रोल छ, काम गर्ने भनी सोधे। मैले हुन्छ भनेँ। 

तिमीले फ्रिडम फाइटरको रोल गर्नुपर्छ। इरफानको चाहिँ पुलिस इन्सपेक्टरको रोल छ। यदि गर्ने भए ४ सय रुपैयाँ पारिश्रमिक आउँछ। यसरी इरफान र मैले हामीले एक दिनको लागि अभिनय पनि गरेका थियौं सिरियलमा। ३–४ वटा डायलग बोलेपछि मेरो रोल सकियो। मेरो रोल क्रान्तिकारी थियो। 

इरफानले इन्सपेक्टरको भूमिकामा मेरो हात समातेर ‘यु आर अन्डर एरेस्ट’ भन्ने डायलग बोलेको अहिले पनि म सम्झिन्छु। त्यसबेला हामी भर्खरै सिक्दै थियौं, इरफानले मेरो हात समात्दा लगलग कामिरहेको थियो। निर्देशकले कडा आवाजमा इरफानलाई अलि मज्जाले हात समात, के गरिरहेको हँ भनेर भन्दा उनी नर्भस भएका थिए। उनले ४–५ टेक खाएका थिए। 
 त्यो सम्झिँदा नोस्टाल्जिक लाग्छ अहिले पनि। उक्त सिरियलमा विजयेन्द्र घाट्के भन्ने त्यतिखेरका चर्चित अभिनेताको मुख्य रोल थियो।

हामी त्यस दिनको अभिनय सकेर कलेजको होस्टलमा आयौं। बाटामा इरफानले मसित भनेँ– अब अभिनय नगर्नु पर्यो। होस्टलमा पनि उनी निक्कै तनावमा देखिए त्यस दिन। उनलाई निक्कै दिकदार लागेको थियो।

मैले इरफानलाई भने– अरे भाइ, हामी सिकिरहेका छौं, किन तनाव लिनु। बिस्तारै सिकिहालिन्छ नि! उही इरफान खान पछि विश्वभर चर्चित एक्टर बने। इरफान त्यतिकै इरफान बनेका होइनन्, उनलाई मेहनत र कामले इरफान बनाएको हो।  

मैले नेपाल आएपछि सुनिल पोखरेलले नाटक तथा अभिनय क्षेत्रमा गरेको कामहरु देख्न पाएँ। आज सुनिललाई पूरै नेपालले चिन्छ, दक्षिण एसियाले चिन्छ। आज बंगालमा कलाकार अमित बेनर्जी भनी उच्चारण गर्दा बेग्लै पहिचान छ मेरो। मलाई खुसी लाग्छ– इरफान र सुनिलसँगका संस्मरण सेयर गर्न पाउँदा। 

अनि म कलकता फर्किएँ

Bengali Ameetत्यसपछि मलाई ठूलो रोलको अफर आउन थाल्यो। यो कुरा सन् १९९१–९२ को हो। मैले त्यहाँ सन् १९९४ सम्म काम गरेँ। त्यसपछि सन् १९९५ म फर्किएर कलकता आएँ। कलकता आएर मैले फिल्म, नाटक गर्न सुरु गरे। त्यसपछि मैले फिल्ममा पनि अभिनय गरेँ। रुपा गांगुली, पल्लवी, गार्गीलगायत अभिनेत्रीहरुसँग मैले अभिनय गरेँ। तपन सिन्हाको फिल्ममा मुम्बईकी हिरोइन दीपा शाहीसँग पनि अभिनय गरेँ। यसरी मेरो अभिनय यात्रा चल्दै गयो।

मौरिससमा मेरी श्रीमतीको सांगीतिक कार्यक्रम थियो, त्यहाँ मलाई डेपुटी हाइ कमिसनरसँग भेट हुँदा उनले भने– म तिमीलाई चिन्छु। मलाई त अचम्म लाग्यो–यति उच्च ओहोदाको मानिसले मलाई कसरी चिनेको होला। 

डेपुटी हाइ कमिसनर नाटकप्रेमी रहेछन्। म दिल्लीमा रहँदा उनले मेरा नाटक हेरेका रहेछन्। मुआब्जा, कर्मवाली, सूर्यको अन्तिम किरणलगायत मैले अभिनय गरेका नाटकहरु फटाफट बताउँदै उनले भने– तिमी त हिरो हौ नि! डेपुटी हाइकमिस्नर भएर आए पछि उनले नाटक, कला र संस्कृतिका लागि उनले धेरै कामहरु गरेका रहेछन्। 

नाटक र फिल्मको अभिनय पक्कै फरक

नाटक र फिल्मको अभिनयमा पक्कै केही फरक छ। मलाई नाटक गर्दा नै सन्तुष्टि मिल्छ। नाटकमा पूर्वाध्र्द, मध्याह्न र समापन कथाको आधारमा हुन्छ। तर, फिल्ममा त्यस्तो हुँदैन। फिल्ममा नाटकमा जस्तो कहानी बिस्तारै–बिस्तारै अगाडि बढ्दैन। सुरुमा त मलाई फिल्ममा अभिनय गर्दा अलि असहज पनि हुन्थ्यो। मेरो यति लामो अनुभवले के भन्छ भने नाटक र फिल्ममा अभिनय त अभिनय नै हो। तर, त्यसमा इन्टेन्सिटी एउटै हुँदैन, कम या बढी हुन्छ। 

म कहिल्यै भविष्यको योजना बनाउँदिनँ। मैले पहिल्यै एउटा कुरा दिमागमा राखेको थिएँ कि म जिन्दगीमा सरकारी जागिर खाँदिनँ। मलाई एसबिआई बैंकमा अफिसरको जागिर मिलेको थियो, अन्य ठाउँमा पनि मैले चाहेको भए सरकारी जागिर खान सक्थेँ। त्यसबाट मेरो लाइफ पक्कै सेटल्ड हुन्थ्यो। तर, मैले सिर्जनशील काम गर्न पाउँदैनथेँ। म जहिल्यै आफूलाई मन परेको काम गर्छु। यदि कुनै काम भित्रैबाट मन परेन बरु म त्यतिकै बस्छु।

म वर्तमानमा बाँच्न चाहन्छु। वर्तमान क्षणमा जे हुन्छ, त्यो नै मेरा लागि महत्वपूर्ण हुन्छ। बच्चाहरुलाई अभिनय सिकाउँदा मैले भन्ने गर्छु– मेरो उमेर २७ वर्ष हो।  उनीहरुसँग काम गर्दा मेरो व्यवहार पनि उस्तै हुने गर्छ। म उनीहरुसँग जोक गर्छु, चुट्किला सुनाउँछु, हँसीमजाक गर्छु। यदि तपाईं हाँसखेल गरेर जीवन बिताउनुहुन्छ भने त्यसको प्रतिबिम्वि अनुहारमा देख्न सकिन्छ। तपाईं सधैं जवान देखिनुहुन्छ, उमेर त एउटा नम्बर मात्र हो। 

म अहिले ६३ वर्षको भएँ। अधिकांश मानिसले मलाई भन्ने गर्छन् कि म ४५–५० वर्षजस्तो देखिन्छु। मेरा कतिपय समकक्षीहरुको देहावशान भइसकेको छ। कोभिडमै धेरै साथीहरु गुमाउनुपर्यो। केही वर्षअघि दिवंगत भएका आत्मीय साथी इरफान खानको सम्झना मात्र बाँकी छ।    
 
 
  
 
  


 


  

  

  

 

    

प्रतिक्रिया