पाकिस्तानी प्रधानमन्त्रीविरूद्ध साउदीमा ‘चोर’ को नारा

मक्का। साउदी अरबको तीन दिने भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफविरूद्ध ‘चोर’ को नारा गुञ्जिएको छ। बिहीबार उनी मन्त्रिमण्डलसमेत मदिनाको मस्जिद–ए–नबवी पुगेका थिए। जहाँ साउदीमा काम गर्न गएका पाकिस्तानीहरूले ‘चोर’ भनेर नाराबाजी गरेका थिए। 

प्रधानमन्त्री नियुक्त भएपछि शहबाजको यो पहिलो साउदी भ्रमण थियो। उनी साउदीसँग ३ दशमल २ अर्ब डलरको ऋण माग्न १६ सदस्यीय मन्त्रिमण्डल बोकेर त्यहाँ पुगेको बताइएको छ। 

शहबाजलाई ‘चोर’ भनेको भिडियो सोसल मिडियामा भाइरल भएपछि पाकिस्तानी सूचनामन्त्री मरियम औरंगजेबले पूर्वप्रधानमन्त्री इमरान खानमाथि आरोप लगाएकी छिन्। उनले इमरानमाथि पाकिस्तानी समाजलाई बर्बाद बनाएको आरोप लगाइन्। नारा लगाउने केहीलाई साउदी सरकारले पक्राउ गरेको बताइएको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई २ अर्ब डलरको ऋण उपलब्ध गराउने बताएको छ। पाकिस्तानका नयाँ अर्थमन्त्री मिफ्ताह इस्माइल र आइएमएफका उपप्रबन्ध निर्देशक एन्टोनेट सईहबीच वासिङ्टनमा ऋण उपलब्ध गराउने विषयमा सम्झौंता भएको थियो।

प्रतिक्रिया